
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विश्वकै धनाढ्य इलन मस्कबीच सम्बन्धमा तिक्तता आएको खबर अहिले विश्वभर चर्चमा छ। राष्ट्रपति निर्वाचनको बेला एक भएका उनीहरु अहिले पानी बराबर अवस्थामा छन्।
दुवैजना शक्तिशाली व्यक्तिहरु अहिले आरोपप्रत्यारोपमा उत्रिएका छन्। यसैबीच एक कार्यक्रममा राष्ट्रपति ट्रम्पलाई सोधियो : के इलन मस्कसँग बिग्रिएको सम्बन्धमा सुधार आउँला?
राष्ट्रपति ट्रम्पको जवाफ प्रष्ट थियो : नो (हुँदैन)
ट्रम्पले मस्कसँग कुनै सम्बन्ध नराख्ने र उनीहरु नबोल्ने बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन्।
पढ्नुस : टुट्यो मस्क र ट्रम्पको मित्रता : सामाजिक संजालमा मुखामुख
ट्रम्प प्रशासनमा मस्कलाई रुचाउने धेरै छैनन्। उनले खर्च कटौतीको नाममा कर्मचारीहरुलाई मेल पठाएर आतंकित पारेको भन्दै धेरै असन्तुष्ट थिए। यद्यपि, ट्रम्पले भने मस्कको बचाउ गर्दै आएका थिए।
तर, गत साता एकाएक ट्रम्पले मस्कलाई ह्वाइट हाउसबाट बिदा गरे। त्यसपछि मस्कले ट्रम्पले हस्ताक्षर गरेको बजेट विधेयकको आलोचना गरे। त्यहीँबाट दुईजनाबीचको सम्बन्धमा थप दरार आएको हो।
एक्स (पहिला ट्वीटरमा)मा मस्कले विधेयकलाई ‘डिस्गस्टिङ एबोमिनेसन’ (घृणित विकृति) भन्दै चर्को आलोचना गरेका थिए। मस्कले बजेट विधेयकले अमेरिकी राष्ट्रिय ऋणलाई डरलाग्दो रूपमा बढाउने चेतावनी पनि दिएका छन्। उनले सो बजेट विधेयकको पक्षमा मत दिनेहरुले गलत गरेको प्रतिक्रिया दिएका थिए।
जवाफमा ट्रम्पले मस्कको प्रतिक्रियाले आफू ‘निराश’ र ‘आश्चर्य’मा परेको बताएका थिए।
त्यसपछि सामाजिक संजालमा यी दुई बीच आरोप प्रत्यारोप भएको थियो।
ट्रम्पले मस्कले राष्ट्रपति कार्यालयको मान राख्न नसकेको बताएका छन्। मस्कले अब हुने संसदीय निर्वाचनमा ट्रम्पका विपक्षीलाई सहयोग गर्ने बताएका छन्। ट्रम्पले भने त्यसो गरिए परिणाम राम्रो नहुने प्रतिक्रिया दिएका छन्।