खार्किभमा रसिया-युक्रेन युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो आक्रमण, तीन जनाको मृत्यु

बिजमाण्डू
२०८२ जेठ २४ गते २०:२७ | Jun 7, 2025
खार्किभमा रसिया-युक्रेन युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो आक्रमण, तीन जनाको मृत्यु
तस्बिर : एएफपी।


रसियाले शनिबार बिहान युक्रेनको दोस्रो ठूलो सहर खार्किभमा भीषण आक्रमण गरेको छ। सहरका मेयर इगोर तेरेखोभका अनुसार यो आक्रमण रसिया-युक्रेन युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो हो। यस आक्रमणमा कम्तीमा ३ जनाको मृत्यु भएको छ।

Tata
GBIME

रसियाले पछिल्ला दिनहरूमा युक्रेनमाथि व्यापक आक्रमण गरेको छ। यसलाई कीभको ड्रोन आक्रमणको बदलाका रूप लिइएको छ। युक्रेनले मस्कोका एकतिहाइभन्दा बढी रणनीतिक क्रूज मिसाइल बोक्ने रकेट ध्वस्त पारेको थियो।

रसियाको सीमाबाट करिब ३० किलोमिटर टाढा रहेको खार्किभ शनिबार बिहान कम्तीमा ४० वटा विस्फोटबाट थर्किएको थियो। मेयर तेरेखोभका अनुसार खार्किभ हालसम्मकै सबैभन्दा शक्तिशाली आक्रमण भोगिरहेको छ।

उनले भने, ‘रसियाले मिसाइल, ड्रोन र बमहरू प्रयोग गरेर एकैसाथ आक्रमण गरिरहेको छ। यो पूर्ण रूपमा शान्तिपूर्ण खार्किभमाथि गरिएको आतंक हो।’

आपतकालीन सेवाहरूले सार्वजनिक गरेको भिडियोमा सहरको दक्षिण-पश्चिमस्थित ओस्नोभ्यान्स्की जिल्लामा रहेको अपार्टमेन्ट भवनमा ठूलो आगो लागेको देखिन्छ। त्यहाँ २ जनाको मृत्यु भएको मेयरले बताएका छन्। अर्का एक व्यक्ति उत्तरतर्फको किभस्की जिल्लामा रहेको घरमा आक्रमण हुँदा मारिएका छन्।

युक्रेनी विदेशमन्त्री आन्द्रिय साइबिहाले रसियाले आमनागरिकमाथि आतंक मच्चाइरहेको आरोप लगाए। उनले मस्कोमाथि अझ कडा दबाब दिन आग्रह गरेका छन्।

‘रसियाले आमनागरिकहरूविरुद्धको आतंक जारी राखेको छ। यो हत्या र विनाशको अन्त्य गर्न थप कदम चालिनु आवश्यक छ,’ उनले भने।

रसियाली रक्षा मन्त्रालयले भने युक्रेनका सैन्य संरचनाहरूमाथि उच्च निशानाका साथ आक्रमण गरिएको दाबी गरेको छ।

‘सबै लक्षित संरचनाहरू ध्वस्त पारिएका छन्,’ रक्षा मन्त्रालयले टेलिग्राममा लेखेको छ।

खार्किभ क्षेत्रीय अभियोजन कार्यालयका अनुसार आक्रमणमा ५० भन्दा बढी ड्रोन, चारवटा ‘गाइडेड एरियल बम’ र एउटा मिसाइल प्रयोग गरिएको थियो। आक्रमणले सहरको एक प्रशासनिक भवन र एक संगीत विद्यालयमा क्षति पुर्‍याएको छ।

घाइतेहरूमा एक १४ वर्षीया किशोरी र डेढ महिनाको शिशु पनि छन्।

शुक्रबार बिहानदेखि रसियाको आक्रमणमा कम्तीमा ७ जनाको मृत्यु भएको छ। ४० जनाभन्दा बढी घाइते भएको सीएनएनले स्थानीय अधिकारीहरूसँगको तथ्यांकको आधारमा जनाएको छ।

यसैबीच, रसियाले युक्रेनलाई युद्धकै बीचमा कैदीहरूको साटासाट र मृत सैनिकहरूको हस्तान्तरण अनिश्चित कालका लागि स्थगित गरेको आरोप लगाएको छ।

गत सोमबार इस्तानबुलमा भएको दोस्रो चरणको वार्तामा दुवै पक्षले कैदी साटासाट गर्न नयाँ सहमति गरेका थिए। युक्रेनी अधिकारीहरूले यसबारे तत्काल प्रतिक्रिया दिएका छैनन्।