कालिकोटको चौलीमा सौर्य ऊर्जा केन्द्र निर्माण अन्तिम चरणमा, १०० किलोवाट उत्पादन हुने

बिजमाण्डू
२०८२ जेठ २४ गते १५:०२ | Jun 7, 2025
कालिकोटको चौलीमा सौर्य ऊर्जा केन्द्र निर्माण अन्तिम चरणमा, १०० किलोवाट उत्पादन हुने


मान्म (कालिकोट)। कालिकोटको शुभकालिका गाउँपालिका-५ को राराकाटियाको चौलीमा सौर्य ऊर्जाबाट विद्युत् उत्पादन हुने भएको छ। उत्पादन केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ।

GBIME
Tata

चंखेली इनर्जी प्रालि, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र गाउँपालिकाको संयुक्त लगानीमा रहेको योजनालाई नेपाल विद्युत् प्राधिकरण कालिकोट वितरण केन्द्रले सघाएको छ। उक्त केन्द्रबाट १०० किलोवाट विद्युत् उत्पादन हुने जनाइएको छ।

निजी क्षेत्रको साझेदारीमा ऊर्जा उ्तपादनका लागि केन्द्र निर्माण अघि बढाइएको हो। चंखेली इनर्जी प्रालिका अध्यक्ष जजराज शाहीका अनुसार सोलार मिनी ग्रिड परियोजनाअन्तर्गत चंखेलीले १ करोड ३० लाख लगानी गरेको छ भने ऊर्जा प्रवर्द्धन केन्द्रको २ करोड ९२ लाख रुपैयाँ लगानी भएको छ। गाउँपालिकाले सडक, फिल्ड, पर्खाल, तारबारलगायत अन्य क्षेत्रमा खर्च गरेको उनले बताए।

‘परियोजनामा जम्मा ६ करोड २५ लाख रुपैयाँ खर्च भएको छ,’ उनले भने, ‘खम्बा गाड्नेलगायत अन्य परियोजनामा काममा नेपाल विद्युत् प्राधिकरण कालिकोट वितरण केन्द्रले सहयोग गरेको छ।’

गाउँपालिकालाई विद्युतीकरण गर्नका लागि सौर्य ऊर्जाले केही सहयोग पुग्ने गाउँपालिकाका अध्यक्ष गोविन्द आचार्यले बताए। ‘गाउँपालिका पूर्णरुपमा विद्युतीकरण हुन सकेको छैन,’ उनले भने, ‘यहाँ उत्पादन हुने बिजुली विद्युत् प्राधिकरणको सहयोगमा गाउँपालिकाभित्र नै वितरण गर्ने लक्ष्य राखिएको छ।’

उक्त केन्द्रबाट ढिलोमा असार पहिलो सातादेखि विद्युत् उत्पादन हुने प्रालिका अध्यक्ष शाहीले जानकारी दिए। ‘यहाँ उत्पादन भएको ऊर्जा विद्युत् प्राधिकरण कालिकोट वितरण शाखाको सहजीकरणका वितरण गरिनेछ,’ उनले भने, ‘यहाँको उत्पादनले प्राधिकरणलाई नै सहयोग पुग्नेछ।’ रासस