
काठमाडौं। महिन्द्रा, बीवाइडी र एमजीका नयाँ मोडलका गाडी नेपाली बजारमा भित्रिएका छन्। यी तीन ब्राण्डका चारवटा नयाँ मोडलका गाडी आधिकारिक बिक्रेता कम्पनीहरुले केही दिन अगाडि नेपाली बजारमा भित्र्याएका हुन्।
नयाँ मोडलका गाडी साउनमा हुने नाइमा नेपाल मोबिलिटी एक्सपोमा प्रर्दशनीमा राख्ने बिक्रेता कम्पनीहरुको योजना छ।
महिन्द्राको आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटले महिन्द्राको बीई ६ र एक्सयुभी ९ई एसयूभी गाडी यसै साता ल्याएको छ। ती गाडी टेस्ट ड्राइभका लागि ल्याएको कम्पनीले जनाएको छ।
दुवै गाडीमा ९९ किलोवाटको मोटर छ। एक्स इभी ९ईको एउटा भेरिएन्टमा भने १९९ किलोवाटको मोटर छ। कम्पनीले दुबै एसयूभीमा ५९ किलोवाट र ७९ किलोवाटसम्मका ब्याट्री प्याक उपलब्ध गराएको छ।
यस्तै बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले नयाँ गाडी सिलायोन ७ नेपाली बजारमा भित्र्याएको छ।
एमजीको विन्डसर इभी पनि नेपाली बजारमा भित्रिएको छ। एमजीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स यसै साता भित्र्याएको गाडी बजेटपछि बिक्री गर्ने योजनामा छ।
भारतमा उत्पादन गरिएको विन्डसर इभी एक्साइट, एक्सक्लुसिभ र एसेन्स भेरियन्टमा उपलब्ध छ। नयाँ इभीमा ३८ किलोवाट आवर(युनिट)को ब्याट्री प्याक जडान गरिएको छ।
यसले एक पटकको फुल चार्जमा ३३२ किलोमिटर रेन्ज दिन्छ। १०० किलोवाट क्षमताको मोटर जडान गरिएको गाडीले १३४ बीएचपी र २०० एनएम टर्क जनेरेट गर्ने कम्पनीले जनाएको छ।
लक्ष्मी इ मोबिलिटीले चिनियाँ ब्रान्ड फोर्थिङको फ्राइडे एसयूभी नेपाली बजारमा ल्याएको छ। तत्कालका लागि फ्राइडे एसयूभी दुई वटा मात्र ल्याएको कम्पनीले जनाएको छ।