
काठमाडौं। नेपाली क्रिकेट टोली आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर तीनमा पुगेको छ। आज तय हङकङ र बहराइनबीचको खेल वर्षाका कारण सुरु नै नभइ रद्ध हुँदा नेपाल समूह ‘सी’ को विजेताका रुपमा सुपर तीनमा पुगेको हो।
नेपालले समूह चरणमा बहराइनलाई दुई खेलमा हराएको थियो भने हङकङसँग एक खेलमा हार ब्यहोर्दा अर्को खेलमा वर्षाका कारण अंक बाँडेको थियो।
अंक तालिकामा नेपाल र हङकङको समान ५ अंक छ। हङकङ रनरेटका आधारमा अघि रहे पनि नेपाल जित संख्याका आधारमा माथि गएको हो।
समूह ‘ए’ मा भुटान, कुवेत र थाइल्याण्ड, समूह ‘बी’ मा मलेसिया, कतार र यूएई तथा समूह ‘सी’ मा नेपाल बहराइन र हङकङ छन्।

अब सुपर ३ मा नेपालले समूह ‘ए’ र ‘बी’ का विजेतासँग खेल्नेछ। जसमध्ये दुई टोलीले ग्लोबल क्वालिफायरमा स्थान बनाउनेछन्। ग्लोबल क्वालिफायरमा अन्य क्षेत्रबाट छनोट भएर आएका टोलीसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। ग्लोबल क्वालिफायरबाट थप चार टोलीले विश्वकपमा स्थान बनाउनेछन्।