भारतले पूर्वाधारमा निजी क्षेत्रलाई समेटेर जसरी प्रगति गरेको छ, नेपालले सिक्नुपर्छ: अध्यक्ष अग्रवाल

बिजमाण्डू
२०८२ बैशाख २५ गते १९:५९ | May 8, 2025
भारतले पूर्वाधारमा निजी क्षेत्रलाई समेटेर जसरी प्रगति गरेको छ, नेपालले सिक्नुपर्छ: अध्यक्ष अग्रवाल


काठमाडौं। नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले नीतिगत स्थिरता र स्पष्टता आवश्यक भएको बताएका छन्।बिजमाण्डू प्रि-बजेट कन्फ्रेन्समा बिहीबार बोल्दै उनले पूर्वाधार निर्माणमा सरकारले निजी क्षेत्र समेट्न द्यान दिनुपर्ने बताए।

Tata
GBIME
NLIC

अस्थिर नीतिले व्यवसायीको मनोबल कमजोर बनाउने बताएका उनले कर तथा भन्सार, भूउपयोग लगायतमा स्थिर नीति हुनुपर्ने सुझाव सरकारलाई दिए। ‘मागको संकुचनबाट उद्योग व्यवसाय क्षेत्रलाई बजेटले कसरी बाहिर ल्याउने भन्नेबारे स्पष्ट नीति ल्याउनुपर्छ,’ उनले भने।

अग्रवालले सरकारले आफ्ना सूचकहरूको प्रक्षेपण जथाभावी गर्दा पनि समस्या भएको बताए। उनले भने, ‘सरकारले अनुमानयोग्य र मिल्दोजुल्दो प्रक्षेपण गर्नुपर्छ।’

बजेटको प्राथमिकता निजी क्षेत्रमा विश्वास दिलाउने खालको हुनुपर्ने भनाइ उनले राखे। उनले भने, ‘निर्यात प्रवर्द्धनभन्दा आन्तरिक उत्पादनमा बजेटले जोड दिनुपर्छ।’

पूर्वाधार विकासमा पनि निजी क्षेत्रलाई समेट्न आवश्यक रहेको बताएका उनले भने, ‘भारतले जसरी सडक पूर्वाधारमा निजी क्षेत्रलाई समेटेर प्रगति गरेको छ, नेपालले त्यो सिक्नुपर्छ।’

नेपालमा करको दर उच्च भएको पनि उनको भनाइ थियो। अग्रवालले भने, ‘कमाइको ६० प्रतिशत हिस्सा राज्यलाई बुझाउनु परेको अवस्था छ। यसले नागरिकको खर्चयोग्य आय बढाउन सक्दैन। यस्ता कुरामा सरकारले ध्यान दिनुपर्‍यो।’