
काठमाडौं। पूर्वमन्त्री एवम् पूर्वअर्थसचिव विद्याधर मल्लिकले मुलुकको कर प्रणालीमा सुधारका क्षेत्र औंल्याएका छन्। बिजमाण्डूले बिहीबार आयोजना गरेको प्रि-बजेट कन्फ्रेन्सको दोस्रो सत्र नेपालको कर प्रणाली र नीतिगत व्यवस्थाबारे चर्चा ‘कुशल कर व्यवस्थापन : आर्थिक वृद्धिको यात्रा’ विषयक सेसनमा उनले सुधारका क्षेत्र देखाएका हुन्।
‘०४६ सालको आन्दोलन पछिको आर्थिक विकासको जाँगर अहिले कसैमा छैन। त्यतिबेला कर्मचारी प्रशासन, राजनीतिक दल, निजी क्षेत्र सबैमा केही गर्नुपर्छ भन्ने थियो,’ उनले भने, ‘आर्थिक विकासका लागि त्यो आवश्यक छ। तर ०६२/६३ ले त्यो जाँगर फर्काउन सकेन, अहिले पनि छैन।’
उनले पहिले सबै मिलेर काम गर्नुपर्छ भन्ने भाव रहेको स्मरण गरे। ‘गाली खाँदाखाँदै गिरिजाबाबुले युवापुस्तालाई ठूलो विश्वास गर्नुभयो। तर अहिले विस्तारै त्यो घट्दै अहिले शून्यमै पुग्यो। अहिले व्यक्तिमात्रै होइन संस्थाहरूको विश्वास पनि घटेको छ। यो जगाउन आवश्यक छ,’ उनले भने।
‘पहिले लाइसेन्सराजले छोपेको थियो अहिले करका दरले छोपेको छ। आर्थिक ऐनमा सबै कुरा आउन थाल्यो। यसले समस्या ल्याउन थालेको छ,’ उनले भने, ‘आवश्यक कुरा त मूल्य अभिवृद्धि ऐनमा, आयकर ऐनमा संशोधन गरेर ल्याउनुपर्यो।’
‘आयकरमा पहिले सबैलाई बराबर कर थियो। यसले करका स्ल्याबहरू कम थिए। यो पनि ठीक रहेनछ। यसलाई संशोधन गरेर सक्नेलाई बढी आयकर लगाउन नसक्नेलाई कम लगाउने नीति पनि पूरै रहेनछ,’ उनले भने, ‘यसमा पनि केही सुधार आवश्यक छ। करका दर कम राख्ने र कम आय भएकालाई अलि संरक्षण गर्ने नीति लिनुपर्छ।’
अहिले विश्वमा ट्यारिफ वार सुरु भएको उल्लेख गर्दै उनले भने, ‘अमेरिकाले लिइरहेको कर नीतिले विश्वलाई प्रभावित बनाएको छ। यसमा नेपालको नीति स्पष्ट हुन जरुरी छ। आज विश्व बैंक, एडीबीको नीति पनि फेरिएको छ।’