खुला बजारको नीतिबाट पछाडि फर्किन सम्भव छैन, पैसा छर्न बन्द गरौं : सुरेन्द्र पाण्डे

बिजमाण्डू
२०८२ बैशाख २५ गते १५:०३ | May 8, 2025
खुला बजारको नीतिबाट पछाडि फर्किन सम्भव छैन, पैसा छर्न बन्द गरौं : सुरेन्द्र पाण्डे
सुरेन्द्र पाण्डे


काठमाडौं। पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले पैसा छरेर विकास नहुने बताएका छन्। उनले आयोजना केन्द्रित भएर पुँजीगत बजेट विनियोजन गर्नुपर्ने बताए।

Tata
GBIME
NLIC

बिजमाण्डूले बिहीबार गरेको प्रि-बजेट कन्फ्रेन्समा उनले एउटै बजेटमा धेरै योजना समावेश गर्दा देशको विकास अलपत्र परेको बताए।

‘पैसा छरेर विकास हुँदैन भन्ने हामीले धेरै भोगिसक्यौं। अब चाहिँ एउटा आयोजना सुरु गर्ने, त्यसलाई सकाउने र अरु सुरु गर्ने नीति लिनुपर्छ। भएजति योजना एउटै बजेटमा हाल्दा यसले देशलाई कतै पनि पुर्‍याउन सक्दैन। त्यसकारण पर्याप्त स्रोत दिएर मात्रै कुनै आयोजना अगाडि बढाउनुपर्छ,’ उनले भने।

उनले सरकारले आयोजनामा केन्द्रित हुने गरी नीति तथा कार्यक्रम ल्याएको भन्दै कार्यक्रम अनुसार बजेट बनाइए अहिलेको बेथिति धेरै हदसम्म कम हुने बताए।

‘अहिलेको नीति तथा कार्यक्रममा यस्तै खालको विषय आएको छ। अब यहीअनुसार बजेट बन्यो भने धेरै राम्रो हुन्छ। सांसदहरूमाथि पनि विकास गर्नुपर्ने दबाब छ। यसमा अब सोच्नुपर्ने भएको छ। सांसदले विकास गर्ने हो कि कानुन बनाउने हो? यसमा स्पष्ट नहुँदा समस्या भएको छ,’ उनले भने।

पाण्डेले सरकार खुला बजारको नीतिबाट पछाडि फर्किन नसक्ने बताए। ‘सन् १९७० सम्मको दशकमा संसारमा सबै क्षेत्रमा राज्यले लगानी गर्थ्यो। ९० तिर आइपुग्दा यसमा धेरै देशले नीति परिवर्तन गरेर निजी क्षेत्रलाई लगानीका लागि खुला गरे। अहिले लगानी र खुलापनमा विश्व धेरै अगाडि बढिसकेको छ। यसबाट हामी पनि पछि फर्किन सम्भव छैन,’ उनले भने।