
काठमाडौं। पावरफुल र लक्जरियस बाइक रोज्नेहरुलाई लक्ष्य गर्दै नेपाली बजारमा आएको ट्रायम्फले ‘एपिक राइड : इकोज अफ दि लस्ट किङ्डम’ आयोजना गरेको छ। नेपालका लागि ट्रायम्फ बाइकको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले बाइकर्सका लागि आठ दिने यात्रा आयोजना गरेको हो।
वैशाख ७ देखि १४ गतेसम्म काठमाडौं-माथिल्लो मुस्ताङ-काठमाडौं भएको बाइकर्सको रोमाञ्चक यात्रामा ४० जना ट्रायम्फ राइडरहरू सहभागी थिए। १००० किलोमिटरभन्दा बढीको दुरी पार गर्दै, राइडरहरूले ट्रायम्फको स्पीड ४०० र र्स्क्याम्बलर ४०० एक्स मा नेपालका विभिन्न प्रकारका भूभागहरूमा यात्रा गरे।
यसले यो मोटरसाइकलको कठिन र उबडखाबड बाटोमा पनि उत्कृष्ट प्रदर्शन क्षमतालाई प्रमाणित गरेको आयोजक कम्पनीले जनाएको छ। राइडको सुरुआत ट्रायम्फ नेपालको काठमाडौं शोरुमबाट भएको थियो। बाइकर्स क्याफेमा बिहानको नास्तापश्चात् राइडरहरू मुग्लिन, पोखरा, हेम्जा हुँदै पर्वतको कुश्मा पुगे।
दोस्रो दिन देउराली र टिटी ताल घुम्दै राइडरहरू बेलुकाको बास मार्फा गाउँमा बसे। तेस्रो दिन जोमसोम नजिकको धुम्बाताल, लुब्रा पास र निलगिरि भ्युपोइन्ट हुँदै मुक्तिनाथ मन्दिरसम्मको यात्रा सम्पन्न भयो।

चौथो दिन राइडरहरू प्राचीन पर्खालले घेरिएको मुस्ताङको राजधानी लोमान्थाङ पुगे।पाँचौं दिन शिजा झोङ गुफा, कोरला सीमा र अन्नपूर्ण माउन्टेन भ्युपोइन्टको अवलोकन गर्दै लोमान्थाङमै बास बसे।
छैटौं दिन जोमसोम पार गर्दै राइडरहरू म्याग्दीको तातोपानी आए। कुण्डमा नुहाएर विश्राम गरे। सातौं दिन पोखराको हेम्जा र तनहुँको घाँसीकुवा हुँदै कुरिनटारमा बास भयो। आठौं दिनको यात्रा गल्छी, विदुर, शिवपुरी हुँदै बाइकर्स क्याफेमा पुगेर यात्रा सम्पन्न भयो।

ट्रायम्फ नेपालका म्यानेजर सागर थापा भन्छन्, ‘यो केवल एक मोटरसाइकल यात्रा मात्र नभएर आजीवन बिर्सिनै नसकिने रोमाञ्चक यादहरु बनेका छन्।’
गत भदौमा नाडा अटो शोमार्फत नेपाली बजारमा आएको ट्रायम्फ बेलायतको लक्जरियस बाइक ब्रान्ड हो। हंसराज हुलासचंद एण्ड कम्पनीले गत कात्तिकमा नक्सालस्थित शोरुमबाट एकै पटक २०० युनिट बाइक डेलिभरी गरेको थियो।
नाडा अटो शोमा कम्पनीले उल्लेख्य संख्यामा बुकिङ लिएको थियो। त्यसबेला कम्पनीले ट्रायम्फ स्पीड ४०० मोटरसाइकल ६ लाख ३९ हजार ९०० र ट्रायम्फ ४०० स्क्रयाम्बलरको मूल्य ६ लाख ८९ हजार ९०० रुपैयाँ तोकेको थियो।
ट्रायम्फ ४०० सिरिजमा ३९८ सीसी क्षमताको लिक्विड कुल्ड, फोर भल्भ र सिंगल सिलिन्डर इन्जिन छ। यो इन्जिनले ४० हर्सपावर तथा ३७.५ एनएम टर्क जेनेरेट गर्छ। दुवै मोडलमा ६ स्पीड गियरबक्स छ।