नेताहरुको लहडमा विमानस्थल नबनाउने प्रतिबद्धता, आरोग्य र ध्यान पर्यटन सरकारको नीति

बिजमाण्डू
२०८२ बैशाख १९ गते १९:१९ | May 2, 2025
नेताहरुको लहडमा विमानस्थल नबनाउने प्रतिबद्धता, आरोग्य र ध्यान पर्यटन सरकारको नीति


काठमाडौं। सरकारले मुलुकलाई आरोग्य र ध्यान पर्यटनको आकर्षक स्थलमा प्रवर्धन गर्ने नीति लिएको छ।

Tata
GBIME
NLIC

सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत योग ध्यानमार्फत सकारात्मक सोच अभिवृद्धि गरी नेपाललाई आरोग्य र ध्यान पर्यटनको आकर्षक स्थलका रुपमा प्रवर्धन गर्ने बताएको छ।

नीति तथा कार्यक्रममार्फत पर्यटन क्षेत्रलाई देशको समृद्धिको आधारका रुपमा विकास गर्ने र चलचित्र पर्यटनलाई प्रवर्धन गर्ने भनिएको छ।

‘मुलुकलाई प्राकृतिक, सांस्कृतिक, साहसिक र चलचित्र पर्यटनको सुरक्षित तथा आकर्षक गन्तव्यका रूपमा विकास गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ, ‘पर्यटन क्षेत्रलाई आयआर्जन, रोजगारी र समृद्धिको आधारको रूपमा विकास गरिनेछ।’

सार्वजनिक-निजी सहकार्यमा पर्यटनको प्रत्यक्ष लाभ स्थानीय समुदायमा पुर्‍याउने, ऐतिहासिक, पुरातात्त्विक, धार्मिक र सांस्कृतिक महत्त्वका थप क्षेत्रहरूलाई विश्व सम्पदा सूचीमा समावेश गराउने पहल गर्ने, हवाई पूर्वाधार र सेवा प्रवाहमा निजी क्षेत्रको सहभागिता बढाइने भनिएको छ।

नेताहरुको लहडमा जथाभावीरुपमा विमानस्थल नबनाउने प्रतिबद्धता नीति तथा कार्यक्रममा गरिएको छ।

‘आर्थिक, व्यावसायिक र वातावरणीय सम्भाव्यताका आधारमा मात्र विमानस्थल निर्माण एवम् विस्तार गरिने छ,’ नीति तथा कार्यक्रममा भनिएको छ।

नेताहरुको लहडमा जथाभावीरुपमा बनाइएका विमानस्थल हिले सञ्चालनमै छैनन्।

नेपाल वायुसेवा निगमको पुनर्संरचना गर्ने विषयमा पनि नीति तथा कार्यक्रममा समावेश छ।