चौधरी र गोल्छाको टकरावले पुरानो संस्था नाडा थप कमजोर, नाइमालाई फाइदा, विवादले के गर्ला?

बिजमाण्डू
२०८२ असार ७ गते ११:५९ | Jun 21, 2025
चौधरी र गोल्छाको टकरावले पुरानो संस्था नाडा थप कमजोर, नाइमालाई फाइदा, विवादले के गर्ला?

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरी र वरिष्ठ उपाध्यक्ष बनेका आकाश गोल्छा बीचको विवादले संस्था झन् कमजोर बनेको छ।

Tata
GBIME

नाडाको ४७‍औं साधारण सभाबाट वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरेर गोल्छालाई भाबी अध्यक्ष बनाउने प्रतिबद्धता गरिएको थियो। तर, उक्त प्रतिबद्धता अनुसार विधान संशोधन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अस्वीकार गरेपछि गोल्छा सदस्यमा घटुवा भएपछि नाडामा विवाद चर्कियो। नाडा अध्यक्ष चौधरीले कुनै सल्लाह नगरी हठातमा गोल्छालाई सदस्यमा घटुवा गरेका थिए। अचानक वेबसाइटमा गोल्छालाई सदस्यमा राखेको देखेपछि विवाद चर्किएको थियो।

नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर एसोसिएसन (नाइमा) स्थापना भएका बेला भएको यो विवादले नाडा थप कमजोर बन्ने देखिएको छ। नाडाको विवाद असामान्य रुपमा अघि बढेको छ। गोल्छा समूहले अध्यक्ष चौधरीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने सार्वजनिक रुपमा घोषणा गरिसकेको छ। यो घोषणासँगै चौधरीले गोल्छालाई स्पष्टीकरण सोध्ने तयारी गरिरहेका छन्।

चौधरी र गोल्छाबीचको इगोले संस्थानै संकटमा जाने पनि देखिएको छ। योसँगै नाइमासँगको सहकार्य पनि संकटमा परेको छ। गोल्छाले नाडा र नाइमाबीचको सहकार्य गरेर अगाडि बढ्ने सम्भावना पनि क्षीण भएको बताए।

‘यो वर्ष अध्यक्ष बनेर नाडा र नाइमालाई केही हदसम्म मिलाउने मेरो प्रयास हुने थियो। तर अब त्यो सम्भावना निकै कम छ,’ गोल्छाले भने।

तर करण भने अझै पनि गोल्छालाई अध्यक्ष बनाउने सर्तमा अडिग रहेको बताउँछन्। ‘म गोल्छाजीलाई नै अध्यक्ष बनाउने कुरामा पन्छिने मनस्थितिमा छैन। तर अब गोल्छाजी नै अध्यक्ष बन्नबाट पन्छिनु हुन्छ भने अरु आउने पक्का छ,’ करणले भने, ‘म अध्यक्षमा दोहोर्‍याउने कुरा हुँदैन। तर अन्य साथीभाइ आउने बाटो भने चुनाव हुँदा खुला हुन्छ।’

अब नाडाको अध्यक्षका लागि चुनाव नै हुने वातावरण बनेको छ। योसँगै महासचिव सुरेन्द्र उप्रेती अध्यक्षको प्रतिस्पर्धामा रहनेछन्।

नाइमा र नाडा सहकार्य अर्थहीन

नाइमा स्थापनासँगै चर्को आलोचनापछि सहकार्य गरेर अगाडि बढ्ने सहमति भएको थियो। तर, पछिल्ला घटनाक्रमले सहमति देखावटी मात्रै भएको आशंकालाई बल पुर्‍याएको छ।

‘त्यो सहमति चर्को आलोचना मत्थर बनाउन मात्रै थियो,’ नाडाका एक सदस्यले भने, ‘दुई संस्थाबीच गहिरो मतभेद छ। दुबैमा कट थ्रोट प्रतिस्पर्धा भएकाले सहमति अर्थहीन हो।’ उनका अनुसार नाडा र नाइमाको सहमतिनै आलोकाँचो हो।

संस्थाको नाम फरक, सदस्य र एजेन्डा एउटै

नाडा र नाइमाको एजेण्डामा कुनै फरक छैन। दुबै संस्थामा सदस्य पनि दोहोरिएका छन्। नाडाका पूर्व अध्यक्षहरु शेखर गोल्छा र सौरभ ज्योति सदस्य छन्।

नाडामा रहेका निराकार श्रेष्ठ र यमुना श्रेष्ठ नाइमा पनि छन्। नाडा र नाइमा दुबैमा हेमन्त गोल्छा, सन्दीप शारडा र निकुन्ज अग्रवाल छन्। यति मात्रै होइन नाडाले जस्तै नाइमाले पनि अटो शो गर्दैछ। ‘एजेण्डा एउटै, सदस्य एउटै र एजेण्डा पनि एउटै भएर पनि संस्था दुईवटा किन चाहिएको हो ?,’ एक सदस्यले बिजमाण्डूलाई भने, ‘केही व्यक्तिको कारण र केही व्यक्तिका लागि अर्को संस्था जन्मिएको देखिन्छ।’