
अक्सर उद्यमीका सन्तानले उद्यम नै पछ्याउँछन्। रोहित गुप्ताको हकमा पनि त्यही नै भयो। तर, उनले यति ठूलो विरासतको बागडोर सम्हाल्नु अघि तय गरेको यात्रामा सिकारु विद्यार्थी जसरी एक दशक बिताए। बुवा रमेशले सिकाएझैं उद्यममा पनि आफ्नै ‘नयाँ जर्नी’ सुरु गरे।
बुवाको विरासत र उनले जन्माएका उद्यमहरु अघि बढाउन नेपाली औद्योगिक वृत्तमा उनको परिवारले खडा गरेको रमेश कर्पमा यतिबेला रोहित उपाध्यक्षका रुपमा विविध १३ क्षेत्रमा विस्तारित उद्यमको नेतृत्व गरिरहेका छन्। अध्ययन र अनुभव दुवैले खारिएपछि बुवाको लिगेसीलाई अघि बढाइरहेका रोहितका लागि अबको व्यावसायिक यात्रामा कुनै सीमा छैन। उनी निर्वाध त्यो सबै अवसरहरु छोप्न चाहन्छन् जसले रमेश कर्पका हरेक उद्योगलाई आफ्नो क्षेत्रको ‘टप टु’ मा उभ्याओस्।
बुवा रमेश भन्ने गर्थे,’जबसम्म कुनै उद्यमी बोस भएर बस्ने मात्र कल्पना गर्छ उसले बिजनेस बुझ्दैन। बिजनेसको ३६० डिग्री भ्यू लिने हो भने आफ्नै थालनी गर्नुपर्छ। आफ्नै यात्रामा हिँड्नुपर्छ।’
बुवाको त्यो भनाइ रोहितका लागि मन्त्र साबित भयो। त्यसयता रोहित उद्यम यात्रामा अनवरत हिँडिरहेका छन्।
सन् २००७ मा बेलायतबाट फाइनान्सिङ म्यानेजमेन्टमा डिग्री सकेर फर्किएलगत्तै उनले आफ्नै बाटो खन्न थाले।
बुवा स्थापित व्यापारी थिए। कामको दुःख त रोहितलाई किन हुन्थ्यो र! आफ्नै यात्रामा हिँड्ने हो भने चाहिँ उनले तय गर्नुपर्ने सफर कठिन थियो। विदेशबाट फर्किएलगत्तै उनले तीन वटा फरक फरक कम्पनीमा बिजनेस डेभलपमेन्ट एक्जेक्युटिभ र इन्टर्नका रुपमा काम गरे।
२००८ जुनदेखि भने उनले स्कुलदेखिका साथीसँगको पार्टनरसिपमा मोबाइल आयात गर्दै थोरै लगानीबाट आफ्नै ट्रेडिङ बिजनेस सुरु गरे।
हातमा डायरी बोकेर उनी नेपालका विभिन्न जिल्ला पुगे। पसल-पसल चहार्दै अर्डर टिपे। सामानको स्टक गन्ने, बिल काट्ने सबै काम गर्थे रोहित। उनीहरुले वितरणपछिको आफ्टर सेल्स सर्भिस पनि दिन थाले। दुई जनाले थालेको यात्रामा उनले विस्तारै टिम ठूलो बनाए। एक दशकमा उनले धेरै पास फेल, धेरै उचनिच र धेरै सफलता असफलता चाखे। दुःख पाए, सुखमा रमाए। कहिले अब्बल त कहिले लो फेजको पनि अनुभव लिए। पाँच फरक-फरक मोबाइल ब्राण्डसँगको कारोबारको त्यो एक दशकले उनलाई बिजनेसको हरेक तानाबानासँग परिचित गराइदियो।
बिजनेसको ३६० डिग्री भ्यू भनेको यही थियो होला सायद, जुन बुझ्न रोहितले एक दशकको सिकाइ यात्रा तय गर्नुपर्यो। त्यो १० वर्षको दौरान उनले ट्रेडिङको वास्तविक अनुभव लिइसकेका थिए। २००८ देखि २०१८ को एक दशक उनको जीवन उद्यमका विद्यार्थीका रुपमा उनका बुवा रमेशले चाहे जसरी नै बित्यो। जब उच्च मनोबल र लक्ष्यसहितको उद्यमी बन्न सक्छु भन्नेमा रोहित प्रष्ट भए, दुर्भाग्य त्यही नै समयमा उनका मेन्टर अर्थात बुवाको देहान्त भयो।
एक दशकमा उनले धेरै पास फेल, धेरै उचनिच र धेरै सफलता असफलता चाखे। दुःख पाए, सुखमा रमाए। कहिले अब्बल त कहिले लो फेजको पनि अनुभव लिए।

बुवाको देहान्तपछि रोहितको परिवारले पारिवारिक उद्यमलाई फरक तरिकाले अघि बढाउने निर्णय लिए। बुवा साझेदार रहेको लक्की ग्रुपभन्दा फरक उनीहरुले रमेश कर्पको संरचना र सोच अघि बढाउँदा रोहित उच्च मनोबलका साथ कमान सम्हाल्न सक्ने भइसकेका थिए। रमेश कर्पको नयाँ बिजनेस भेन्चरलाई पुरानो अनुभव र नयाँ मनोबलले पृथक यात्रातर्फ डोहोर्याउनु रोहितको अबको बाटो थियो। यो अवधिमा बुवा रमेशले रोहितलाई यही बाटोका खातिर ‘खारिरहेका’ पो थिए कि!
‘त्यो लामो अनुभवपछि म कुनै पनि बिजनेस सेटअप गर्न सक्छु भन्नेमा प्रष्ट भइसकेको थिएँ। कुनै पनि नयाँ डिसिजन लिन र नयाँ रिस्क लिनका लागि म तयार थिएँ,’ हाम्रा सामु सकारात्मक सोचले भरपुर उद्यमी रोहित थिए, जसलाई उनका बुवाले हरेक राइज र फलका बाबजुद उद्यमीमा हुनुपर्ने गुणका रुपमा ‘सकारात्मकता’ को गुण दिएर हुर्काए।
‘बिजनेस वनरले होइन प्रोफेसनलहरुले ड्राइभ गर्ने हो‘
काठमाडौंको न्यू प्लाजामा जन्मिएका रोहित पढाइमा मिडियोकर थिए। घर छेउको चौरमा साथीहरु भेला पारेर क्रिकेट र फुटबल खेल्नु उनको दिनचर्या। मोडर्न इन्डियन स्कुल पढेका रोहित बुवाआमासँग सबैभन्दा धेरै घर बस्न पाउने भाग्यमानी सन्तान थिए। औसत विद्यार्थीका रुपमा विद्यालय पूरा गरेका रोहितको कक्षा १२ पछि मात्र सही अर्थमा टर्निङ पोइन्ट भयो।
१२ पछि उनी ब्याचलर पढ्नका लागि दिल्ली पुगे। दिल्लीमा उनका काका थिए। काकाको सानिध्यमा उनले दिल्लीको एमइटी विश्वविद्यालयमा पढेका हुन्। यो समय उनले आफ्नो ग्रुमिङमा खर्चिए। १०५ किलोका किशोर रोहित दिल्लीमा पुगेपछि नै फिजिकल र मेन्टल्ली कन्सियस हुन पुगेको बताउँछन्।
बचपनमा आफूलाई औसत मान्ने रोहित यतिबेला अब्बल उद्यमी बनिसकेको उनले नेतृत्व गरेका उद्योगहरुको ब्यालेन्ससिटले देखाउँछ।

‘म असाध्यै इन्ट्रोभर्ट थिएँ। घर छोडेको थिइन। सधैं आमाबुवासँग बसेँ। दिल्ली गएपछि भने मैले स्वतन्त्र रुपमा जीवन जगत बुझ्न पाएँ। ३ वर्ष त्यहाँ बस्दा मलाई पहिलो पटक सिरियस्ली पढ्न मन पर्न थाल्यो। मलाई हरेक कुराहरु सिक्ने रुचि हुन थाल्यो। त्यही स्वस्थ शरीरका लागि मैले कसरत सुरु गरें,’ उनले दिल्ली बसाइ नै आफ्नो लागि धेरै परिवर्तनको सुरुवातको समय भएको सुनाए।
दिल्लीमा ब्याचलर सकेपछि उनले बेलायत गएर फाइनान्स र म्यानेजमेन्ट पढे। त्यो समय उनले आफ्नो जीवनमा ‘सेन्स अफ पर्पस’ पाएका थिए। पढाइ सकेपछि उनी देश फर्किए।
‘हाम्रो एजुकेसन सिस्टम वर्षौ पुरानो छ। बच्चालाई सधैं पढ्नमात्र दबाब दिइन्छ। तर बच्चा पढाइमा औसत भएर केही फरक पर्दैन बरु उसलाई सानैदेखि सकारात्मक वातावरण दिनुपर्छ। पारिवारिक मूल्य मान्यता सिकाउनुपर्छ। बचपनमा जुन वातावरण पाइन्छ त्यसले बच्चाको भविष्य ड्राइभ गर्छ। स्कुलमा टपर हुनु भनेको जीवनमा पनि टपर नै हुनु हो भन्ने सोच बदल्नुपर्छ।’- रोहित आज आफ्ना दुई सन्तानलाई यस्तै किसिमले ग्रुम गरिरहेका छन्।
बचपनमा आफूलाई औसत मान्ने रोहित यतिबेला अब्बल उद्यमी बनिसकेको उनले नेतृत्व गरेका उद्योगहरुको ब्यालेन्ससिटले देखाउँछ। हाल रमेश कर्पको वार्षिक ३००० करोडको टर्न ओभर छ। ‘हामी पार्टनरसीप मोडलमा काम गर्छौं। हामी आफ्ना साझेदार र कर्मचारी सबैलाई इम्पावर गर्छौं। हाम्रो म्यानेजमेन्ट टिम असाध्यै बलियो छ। यु आर एज गुड एज योर टिम।’- उनले आत्मविश्वासी भावमा सुनाए।
उनी आफैंले ५ वर्षअघि नेतृत्व गरेको लिटमस इन्डस्ट्रिज लिमिटेडलाई पुनर्संरचना गरेर हाल उनले त्यसको साइज ५ गुनाले बढाइसकेका छन्। लिटमसले उनलाई कुनै पनि उद्योगमा कसरी व्यावसायीकरण गर्ने भन्ने सिकाएको उनले बताए। यसैगरी कम्पनीले स्थाना गरेको टायल्स उद्योगले राम्रो बजार हिस्सा लिइसकेको छ।
कम्पनीको बोर्डमा ७ जनाको पारिवारिक टिम छ। सबैको दायित्व स्पष्ट पनि छ। कम्पनीको ऊर्जा, खानी तथा खनिजतर्फका बिजनेस उनका ठूला दाइले हेर्छन्। फ्याक्ट्री, बैंकिङ फाइनान्सतर्फ उनका बुवाकै पालादेखि नै भएको लगानी कन्टिन्यू छ।
पैसामा भन्दा खुशी मलाई के लाग्छ भने हामीले आफ्नो साझेदार, सरोकारवाला, कर्मचारीहरु, हाम्रो समाज र बृहत्तर रुपमा देशकै लागि इमान्दारीपूर्वक काम गरिरहेका छौं भन्ने सन्तुष्टिले महत्त्व राख्छ।

कम्पनीलाई अब्बल बनाउने यात्राको उनी यसरी वर्णन गर्छन्, ‘हाम्रो कम्पनीमा प्रोफेसनालिज्म छ। हामी कुनै पनि बिजनेसमा वनरले ड्राइभ गर्ने होइन कि प्रोफेसनहरुले रन गरोस् भनेर उनीहरुलाई नै रोल दिन्छौं। कुनै पनि बिजनेसमा वनरहरुले बोर्डबाट रणनीतिक र भावी दिशा तय गर्न इनपुट दिन सकौं भन्ने कल्चरबाट अघि बढेका छौं। हाम्रो सबै कम्पनीहरु यही कल्चरबाट अघि बढेकाले पनि डाइभर्सिफाइ भएर अघि बढ्दा निरन्तर सफलताउन्मुख छौं।’
उनकै भनाइमा रोहित असाध्यै स्ट्राटेजिक मान्छे हुन्। उनलाई सम्भावना भरिएका इन्टरप्राइजहरु सिर्जना गरिरहन मन पर्छ। उनी आफूले जन्माएका इन्टरप्राइजहरुले राम्रो गर्दै गए कम्पनीले हासिल गर्ने उचाइ पैसामा नाप्न नसकिने महसुस गर्छन्। जे आउँछ त्यो त बाइ प्रोडक्ट न हो! अर्ब खर्बको आँकडालाई उनी महत्त्व दिँदैनन् तर कम्पनीहरु जुन कन्फिडेन्सका साथ अघि बढिरहेको छ यही अवस्थामा उनी बिलेनियर क्लब असम्भव पनि देख्दैनन्।
रोहितले आफ्नो व्यापार रणनीति बुझाउँदै भने, ‘म पहिले अवसर हेर्छु। त्यसको ब्याण्डविथ कस्तो छ हेर्छु। त्यसमा लगानी र फोकस कति आवश्यक छ त्यो हालेपछि अल्टिमेट प्रोडक्ट आउने हो। रेभेन्यू भनेको बाइप्रोडक्ट भनेको त त्यहाँ पुगेपछि सँगै आइहाल्छ। म नम्बर गेमभन्दा पनि के चाहन्छु भने हाम्रा जति पनि उद्योगहरु छन् आफ्नो क्याटेगोरीमा टप दुईमा पर्नैपर्छ। त्यो गर्न सकेमा त्यसको भ्यालु बिलियनमा होला। तर पैसामा भन्दा खुशी मलाई के लाग्छ भने हामीले आफ्नो साझेदार, सरोकारवाला, कर्मचारीहरु, हाम्रो समाज र बृहत्तर रुपमा देशकै लागि इमान्दारीपूर्वक काम गरिरहेका छौं भन्ने सन्तुष्टिले महत्त्व राख्छ।’

नेपालमा अवसर, भारतमा नजर
नेपालमा अवसर प्रशस्तै छ भन्नेमा रोहित पूर्ण विश्वस्त छन्। जुन आकारले हाम्रो अर्थतन्त्र विस्तार हुन्छ त्यसरी नै उद्यम व्यवसायहरु पनि बलियो बन्दै जान्छ भन्ने रोहित सरकारले जुन क्षेत्रलाई प्राथमिकताका साथ अघि बढाइरहेका छन् त्यसै क्षेत्रमा लगानी गर्दै गइरहेको बताउँछन्।
‘हामी ४० बिलियन डलरको इकोनोमी भन्छौं। अहिले अलिकति आर्थिक संकट छ अलिकति मन्दी छ तर केही वर्षमा नेपालको इकोनोमी १०० बिलियन डलरको बन्छ। दुई अढाइ गुनाले देशको वेल्थ क्रियसन हुन बाँकी नै छ,’ देशको जसरी ग्रोथ हुन्छ त्यसरीनै सबै क्षेत्र फस्टाउँदै जाने कुरामा रोहित ढुक्क रहेको भन्दै उनले सुनाए।
विगत ३ वर्षदेखि रमेश कर्पले ऊर्जा क्षेत्रमा लक्षित लगानीलाई प्राथमिकता दिएर अघि बढाएको छ। रोहित आफ्ना उद्योगको उत्पादनलाई भारत निर्यात गर्ने योजना बनाइरहेका छन्।
‘हाम्रो उद्योग जुन साइजको छ त्यसको उत्पादनहरु निर्यात गर्नै पर्छ। सुरुमा छिमेकी देशहरुमै लक्षित हुने योजना छ। अबको ५ वर्षमा हाम्रो रेभेन्यूको १५ देखि २० प्रतिशत रेभेन्यू एक्सपोर्ट इनकमबाटै हुनुपर्छ भन्ने कन्सियस थट राखेर काम गरिरहेका छौं।’- उनले जानकारी दिए।
रमेश कर्प अन्तर्गतका कजरिया रमेश टायल उद्योगको प्लान्टले नेपालकै ठूलो टायल उदयोगका रुपमा नवलपरासीबाट उत्पादन गरिरहेको छ। यस्तै लिटमसबाट उत्पादित केबल र कन्डक्टरको भारतमा राम्रो बजार सम्भावना उनले पहिचान गरिसकेका छन्। ‘भारतमा तीव्र गतिमा भइरहेको विद्युतीकरणका लागि जति केबल कन्डक्टरहरु आवश्यक पर्छ हामीले त्यसको थोरै हिस्सा मात्र लिन सक्यौ भने पनि राम्रो निर्यात व्यवसाय गर्न सकिन्छ,’ उनले भने।
अहिले अलिकति आर्थिक संकट छ अलिकति मन्दी छ तर केही वर्षमा नेपालको इकोनोमी १०० बिलियन डलरको बन्छ।

रोहित नेपाल १०० बिलियन डलरको इकोनोमीतर्फको यात्रामा तीव्र लम्किन सक्यो स्वदेशी उद्योगका उत्पादनका लागि ठूलो बजार यही नै हुने बताउँछन्।
रोहितको बुझाइमा उद्यमीहरु आशावादी हुनैपर्छ। यतिबेला नेपालको सबैभन्दा सुन्दर पक्ष के हो भने देशमा द्वन्द्व छैन। हामी दिनरात निर्धक्क हिँडिरहेका छौं। पर्यटकको फ्लो राम्रो छ। हामी प्रकृति र कला संस्कृतिका लागि प्रख्यात छौं। अलिकति आर्थिक अवस्थामात्र कमजोर भएको त हो। यसमा सुधारका लागि सरकारले आत्मविश्वास मात्र जगाइदिए अबको १० वर्ष नेपालले पछि फर्किनै नपर्ने गरीको वृद्धि हुने उनको विश्वास छ।
‘नेपाल प्राइभेट सेक्टर ड्रिभन हो’
सरकार र निजी क्षेत्र मिलेर नै अर्थतन्त्र बलियो बनाउन सकिन्छ भन्ने रोहित हालै सार्वजनिक भएको आगामी आर्थिक वर्षको बजेटमा निजी क्षेत्र मैत्री कार्यक्रमहरु आएकोमा खुशी छन्। ‘इकोनोमिक सुप्रिमेसी’ मा विश्वास गर्ने रोहित ६ प्रतिशत आर्थिक वृद्धिको लक्ष्य प्राप्तिमा सरकारसँगै उद्यमीहरुको पनि उत्तिकै भूमिका र उत्तरदायित्व रहेको बताउँछन्।
‘हाम्रो भूगोल खासै ठूलो छैन सानो देश छ। संकुचन र विस्तार असाध्यै छिटो आउँछ। हामी अहिले ट्रान्जिसनरी फेजमा छौं। विकासप्रति सरकारको इन्टेन्सन नै नभएको पनि देखिँदैन। नेपाल पहिले पनि प्राइभेट सेक्टर ड्रिभन हो, अब पनि प्राइभेट सेक्टरको ग्रोथले नै नेपाली अर्थतन्त्रलाई अघि बढाउने हो। तर अहिलेको माहोल हेर्दा राजनीतिक दलहरु बीचको म्युजिकल चियर खेलेजस्तो वातावरण भएकाले धेरै सम्भावनाका क्षेत्रहरुमा लागि परेर काम हुन सकेको छैन। दिगो र वृद्धिउन्मुख अर्थतन्त्रका लागि आवश्यक नीति नियम र त्यसमा निरन्तरता छैन। इकोनोमिक सेन्टिमेन्ट कसरी रिभाइभ गर्न सकिन्छ भन्ने कुरामा हामी सरकारसँग डायलग गरिरहेका छौं। लबिइङ गरिरहेका हुन्छौं। हामी काम गर्न चाहिरहेछौं सरकारले स्पष्ट नीति बनाएर सेफगार्डिङ गरिदिनुपर्यो।’
रोहित बिगत १० वर्षको ट्रेन्ड हेर्दा सरकारबाट निजी क्षेत्रले पोलिसी कन्सिस्टेन्सी खोजिरहेको बताउँछन्। उनी ससाना उदाहरण दिँदै भन्छन्- ‘हदबन्दीका कारण १२ बिघाहा मात्र जग्गा पाइन्छ, जबकी आज एउटा ठूलो उद्योग लगाउन पर्यो भने २०/२५ बिघाहा जमिन पनि कम हुन्छ। हामीले हाइड्रोमा लगानी गरिरहेका छौं। त्योसँग जोडिएका जल, जमीन, जंगलको नीति स्पष्ट छैन। कतिबेला कुन कानुन मिचियो भनेर पत्र आउने हो पत्तै हुन्न। हामी इमान्दार भएर काम गर्दा पनि असुरक्षाको माहोलमा छौं।’

पैसा मात्र दिएर भएन। एभ्री पर्सन क्यान नट बी इन्टर्प्रेन्योर! मेन्टरिङ चाहियो। स्टार्टअप प्रुभ गर्न कन्सेप्ट चाहियो। बिउ पुँजी मात्र होइन एक्सलरेटर कार्यक्रम चाहियो। त्यसमा हामीले ल्याक गरिरहेका छौं।
उनी पुराना र कतिपय अनावश्यक नियम कानुन खारेज गरेर समयअनुसार प्रोग्रेसिभ बनाउन आग्रह गर्छन्। रोहित अहिले साना तथा मझौला उद्योगहरुको ढाड भाँचिएकामा चिन्तित छन्। साना उद्यम, सानो सटर नै किन नहुन् एसएमईले देशलाई प्रोग्रेसिभ तरिकाले अघि बढाइरहेको उनको बुझाइ छ।
‘आम मान्छेको हातमा डिस्पोजेबल इनकम थियो। सहकारीले सहयोग दिएको थियो। तर सहकारीमा समस्या आइदियो। त्यो चेन र लिंकेज ब्रेक भयो। सरकारले बजेटमा सहकारीका समस्या समाधान गर्ने भनेको त छ फास्ट इनिसियटिभ लिन पर्यो। त्यो क्षेत्रमा फेरि कन्फिडेन्स बढाउन सक्नुपर्यो,’ उनी भन्छन्
उनी स्टार्टअपलाई असाध्यै ‘ग्लोरिफाइड टर्म’ बनाइएकोमा भने चित्त बुझाइरहेका छैनन्। युवाहरुलाई स्टार्टअप जादु जस्तो हो भन्ने सोचले असफलता हात लाग्ने गरेको बताउँछन्। थोरै मात्र सफल हुनुमा पनि यही सोचले काम गरिरहेको छ।
अहिले स्टार्टअप भनेर कुनै कन्सेप्ट कपी गर्ने, अध्ययन अनुसन्धान नगरी, बजार र अवसर नै नहेरी थोरै बिउ पुँजी हाल्ने अनि कुनै इन्भेष्टरकोमा गएर लगानी ल्याउने, सफल भइहालिन्छ नि भन्ने सोचले स्टार्टअपको अवधारणा गलत दिशामा गएको उनको अनुभव छ। उनी युवाहरुलाई स्टार्टअपका लागि प्रसस्तै रिसर्च गर्न र कन्सेप्टमा काम गरेर राम्रो मेन्टरसिपबाट अघि बढ्न सुझाव दिन्छन्।
‘सरकारले २० लाख रुपैयाँ सम्मको ऋण ३ प्रतिशतको ब्याजमा दिएर उद्यम गर्न चाहनेलाई राम्रो अवसर दिएको छ। तर पैसा मात्र दिएर भएन। एभ्री पर्सन क्यान नट बी इन्टर्प्रेन्योर! मेन्टरिङ चाहियो। स्टार्टअप प्रुभ गर्न कन्सेप्ट चाहियो। बिउ पुँजी मात्र होइन एक्सलरेटर कार्यक्रम चाहियो। त्यसमा हामीले ल्याक गरिरहेका छौं। हामीले हरेक कुरा अरुलाई हेरेर कपी गर्ने होइन।’- रोहितको बुझाइमा नेपालमा स्टार्टअप इकोसिस्टम ब्लस्टर हुनका अझै ६ देखि १० वर्ष लाग्छ।
वैश्विक अर्थतन्त्रको चुनौती नियाल्दै
कुनै पनि उद्यमीका लागि हरेक दिन चुनौतीपूर्ण छ। बिजनेसमा दैनिक जुन रफ्तारले काम गर्न चाहेको हुन्छन् उदयमीको रफ्तार दुई गुनाले चल्दा देशको रफ्तारको पेस ०.५ मात्र भयो भने के होला! तर यस्तैमा पनि उद्यमीमा धैर्य, सहनशीलता र सकारात्मक सोच चाहिन्छ। रोहित भन्छन्- किनकी जहाँ पनि कम्प्लेन गर्न एकदम सजिलो छ तर त्यो कम्प्लेनलाई सम्बोधन गर्दै प्रोग्रेसिभ तरिकाले अवसरमा बदल्ने वातावरण बनाउन गारो छ। जसले गर्न सक्यो त्यो पर्सनल र प्रोफेसनल दुवै लाइफमा अब्बल हुन सक्छ।’
रोहितका अनुसार मानिसले सिक्ने अनुभवहरुले नै हो। अनुभवले व्यवहारिक बनाउँछ, खार्दै लैजान्छ। पढाइले मानिसलाई हरेक परिस्थितिलाई बुझ्न सहज बनाउँछ। सफलता, असफलता, सुख, दुःख जीवनमा मात्रै होइन व्यवसायमा पनि आवश्यक देख्छन् उनी। उद्यमीले यी दुवै पाटोलाई ग्रहण गर्दै जानुपर्छ। सकारात्मक र नकारात्मक दुवै अनुभवहरुले मानिसलाई परिपक्व बनाउँदै लैजान्छ भन्छन् उनी।
करियरको सुरुवातमा उनले बुवाको मेन्टरसिप पाए। उनका लागि बुवा सधैं ‘प्रोब्लम सल्भर’ हो।

पाँच वर्षमा म आफ्ना कम्तीमा पाँच कम्पनीलाई पब्लिक लिस्टिङ गराउँछु। ठ्याक्कै फिगरमा नजाम् तर अहिले जति नेटवर्थ छ त्यो तीनदेखि पाँच गुनाले बढाउँछु। चुनौती आउँछन् तर ढुक्क छु मेरा अनुभवहरुले मलाई अन्त्यमा सफलतामा नै पुर्याउँछ।
‘बुवा कुनै पनि असहमति वा निर्णयमा अप्ठेरो हुँदा अवस्था हेरी त्यो अवस्था र कम्पनीका लागि के बेस्ट हुन्छ त्यही निर्णय गर्नुहुन्थ्यो जुन अन्य साझेदारहरुले पनि मान्थे। बुवाले व्यक्तिगत स्वार्थभन्दा माथि कम्पनीलाई प्राथमिकतामा राख्नुभएको हो,’ उनी भन्छन्।
उनका बुवाले भन्ने गर्थे –’ह्याभ करेज टु टेक च्यालेन्ज’। रोहित अहिले पनि कुनै क्षण हिम्मत हारेको महसुस हुँदा बुवाकै सिकाइ सम्झिन्छन्।
उनका बुवाले झैं उनी पनि सबैलाई सँगै लिएर हिड्नुमा विश्वास गर्छन्। त्यसैले त रमेश कर्पले आफ्नो उद्देश्य नै बनाएको छ- फर्वार्ड टुगेदर।
जतिबेला रोहित करियर सुरु गरिरहेका थिए उनी एप्पलका सहसंस्थापक स्टिभ जब्सलाई आदर्श मान्थे। स्टिभ जब्सका बायोग्राफीबाट असाध्यै प्रभावित उनी सुरुवाती दिनहरुमा आफ्नो प्रोडक्ट कन्सेप्चुयलाइज गर्दा पनि उनैलाई ध्यानमा राख्ने गर्थे। रणनीति बनाउँदा पनि दिमागमा जब्सले भए यसलाई कसरी गर्दा हुन् भन्ने सोचेर बनाउँथे।
अब भने उनी फराकिलो आँखाले देश विदेशका उद्यमी र विश्व अर्थतन्त्रलाई बुझिरहेका छन्।
उनी अमेरिकी धनाढ्य इलन मस्कका बारेमा पढ्दा रोमाञ्चित हुन्छन्। भारतका मुकेश अम्बानीले रिलायन्समा गरेको कायापलटबाट उत्साहित हुन्छन्। चीनमा ज्याक माको सफलताबाट प्रभावित हुन्छन्। खासमा उनी सबैको कथाहरुबाट केही न केही सिक्ने प्रयास गरिरहेका हुन्छन्।
‘म त उनीहरुले चुनौती चिर्न लिएका जोखिमहरु आफ्नो जर्नीमा ब्लेन्ड गर्न चाहिरहेको हुन्छु।’- किनकी उनको असाध्यै सीधा लक्ष्य छ। भन्छन्– ‘पाँच वर्षमा म आफ्ना कम्तीमा पाँच कम्पनीलाई पब्लिक लिस्टिङ गराउँछु। ठ्याक्कै फिगरमा नजाम् तर अहिले जति नेटवर्थ छ त्यो तीनदेखि पाँच गुनाले बढाउँछु। चुनौती आउँछन् तर ढुक्क छु मेरा अनुभवहरुले मलाई अन्त्यमा सफलतामा नै पुर्याउँछ।’