
काठमाडौं। आर्थिक शिथिलताले अपेक्षितरुपमा व्यापार हुन नसकिरहेका बेला अटो व्यवसायी विभाजित भएका छन्।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालभित्र विवाद चर्किएसँगै ठूला आयातकर्ताले एकै ठाउँमा जम्मा भइ नाडाजस्तै अर्को नयाँ संस्था खडा गरेका छन्।
कार, मोटरसाइकल र कमर्सियल गाडीका डिलर संचालकहरुले नयाँ संस्था खडा गरेका हुन्। भारतको ‘सियम’ जस्तै नयाँ संस्था अटो व्यवसायीहरुले कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता गराइसकेका छन्।
संस्थाको नाम ‘नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्याक्चरस एसोसिएसन’ राखिएको छ। कम्पनी रजिष्ट्रारको कार्यालयले मुनाफा वितरण नगर्ने गरी फागुन ९ गते संस्था दर्ता गरी प्रमाणपत्र दिइसकेको छ। कार्यालयले कम्पनी ऐन २०६३ को दफा ५ को उपदफा १ बमोजिम एसोसिएसन दर्ता गरेको हो।
नयाँ संस्थामा उत्पादक कम्पनीबाट प्रत्यक्षरुपमा सवारीसाधन आयात गर्ने कम्पनी मात्रै आवद्ध हुन पाउने एक अटो व्यवसायीले जानकारी दिए।
नयाँ संस्था खोल्ने विषयमा छलफलका लागि सुरुमा केही आयातकर्ताले एउटा ग्रुप बनाएका थिए। त्यो ग्रुपमा भएको छलफल अनुसार सबै आयातकर्तालाई आवद्ध गर्ने गरी नयाँ संस्था खोलिएको हो। नयाँ संस्थाको कार्यालय राख्ने ठाउँ हेर्नेदेखि कुन बैंकमा खाता खोल्ने भन्ने निर्णय समेत भइसकेको स्रोतले बतायो।
‘यसमा लिमिटेड व्यवसायीहरु मात्रै आबद्ध हुनेछन्। नाडा प्रतिस्पर्धी होइन। आयातकर्तामात्र आवद्ध हुने गरी संस्था स्थापना गरिएको हो,’ एक व्यवसायीले भने, ‘यो संस्थामा राजनीति हुनेछैन। एकताबद्ध भएर काम गर्ने उद्देश्यअनुसार संस्था खोलेका हौं।’
ती व्यवसायीका अनुसार अहिले गाडी र बाइक आयातकर्ता मात्रै यसमा आवद्ध हुनेछन्। ‘नाडा र यो नयाँ संस्था विल्कुल फरक हुनेछन्। नाडा पनि सँगसँगै अगाडि बढ्नेछ,’ ती व्यवसायीले भने, ‘नाडा पनि हाम्रै संस्था हो। त्यसैले काम गर्नका लागि मात्रै नयाँ संस्था खोलेका हौं।’
नयाँ संस्थामा आवद्ध हुने व्यवसायीले नाडा भने छोड्नु पर्ने छैन। तैपनि कतिपय ठूला अटो व्यवसायी नाडामा उपस्थित हुन छोडिसकेका छन्। किया, टोयोटा जस्ता गाडी आयातकर्ता, विशाल ग्रुपका प्रतिनिधि नाडामा कमै मात्र उपस्थिति हुने गरेका छन्।
नाडामा अहिले गाडी बिक्रेताका साथै वर्कसप संचालकदेखि स्पेयर पार्ट्स बिक्रेता र सब डिलरसमेत आवद्ध छन्।
को-को आवद्ध ?
नयाँ संस्थामा टोयोटा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिन्डिकेटकी प्रबन्ध निर्देशक रितु सिंह वैद्यलाई अध्यक्ष बनाउने तयारी छ।
यस्तै किया गाडीको नेपालका लागि आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ प्रालिका अध्यक्ष सुहृद घिमिरेलाई उपाध्यक्ष बनाउने गरी छलफल भइरहेको छ। तदर्थ समितिमा रहने टिमको टुंगो लागेपछि पत्रकार सम्मेलन गरी नयाँ संस्था घोषणा गर्ने अर्का अटो व्यवसायीले बताए।
हुन्डाई गाडीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलका कार्यकारी निर्देशक निराकार श्रेष्ठ र अन्जन श्रेष्ठ, ओमोडा एण्ड जेको गाडीको नेपालका लागि आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स तथा शारडा ग्रुपका निर्देशक सन्दीप शारडा र गौरव शारडा, मोरिस ग्यारेज(एमजी) गाडीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स तथा विशाल ग्रुपका प्रबन्ध निर्देशक निकुञ्ज अग्रवाल नयाँ संस्थामा रहनेछन्।
यसैगरी, बीवाइडीको नेपालका लागि आधिकारिक बिक्रेता साइमेक्स इंककी प्रबन्ध निर्देशक यमुना श्रेष्ठ, कमर्सियल गाडी अशोक लेल्यान्डको नेपालका लागि आधिकारिक बिक्रेता आइएमई मोटर्सका प्रबन्ध निर्देशक निशान ढकाल, होन्डा बाइक तथा स्कुटर र होन्डा गाडीको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ तथा पद्म ज्योति ग्रुपका निर्देशक सौरभ ज्योति र फोर्ड गाडीको नेपालका लागि आधिकारिक बिक्रेता जिओ फोर्डका प्रबन्ध निर्देशक आकाश गोल्छा नयाँ संस्थामा आवद्ध हुन लागेको स्रोतले बतायो।
महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेट तथा अग्नि ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, रोयल इन्फिल्डको आधिकारिक बिक्रेता त्रिवेणी ग्रुप अन्तर्गतको अल्फा अटोमोटिभका प्रबन्ध निर्देशक हर्ष सांघाई, बजाज बाइक तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता गोल्छा अर्गानाइजेसन अन्तर्गतको हंशराज हुलास चन्द एण्ड कम्पनीका शेखर गोल्छा र अभिमन्यु गोल्छा पनि नयाँ संस्थामा आबद्ध हुँदैछन्।
यस्तै करिब एक दर्जन गाडी तथा बाइकको आधिकारिक बिक्रेता कम्पनी एमडब्लू ग्रुपकाअध्यक्ष विष्णु अग्रवाल र विवेक सिकारिया तथा सिजी मोटर्सका निर्वाण चौधरीले नयाँ संस्थामा संलग्न हुने भनिसकेका छन्।
टाटा गाडीको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङका सिद्धार्थ राणा र सुजुकी गाडीको आधिकारिक बिक्रेता सीजी होल्डिङका करण चौधरी पनि वेटिङ लिस्टमा रहेको स्रोतको भनाइ छ।
नाडामा किन लफडा ?
एक वर्ष अगाडिसम्म नाडामा प्रत्यक्ष चुनावबाट अध्यक्ष चुन्ने व्यवस्था थियो। गत वर्ष अध्यक्षमा करण चौधरी र आकाश गोल्छाले उम्मेद्वारी घोषणा गरे। उनीहरुलाई मिलाउन भन्दै त्यतिखेरका अध्यक्ष ध्रुव थापा र पूर्वअध्यक्षहरुले वरिष्ठ उपाध्यक्ष पद खडा गरे।
नाडाको ४७ औं साधारण सभाले विशेष साधारण सभा आह्वान गरेर नाडाको विधान पनि त्यही अनुरुप संशोधन गरी पास गर्यो।
आकाशलाई अर्कोपटक स्वत अध्यक्ष बनाउने गरी वरिष्ठ उपाध्यक्ष पदमा राख्ने सहमति २०८० पुस ३ गते भयो।
तर, जिल्ला प्रशासन कार्यालय काठमाडौंले सदस्य संख्या धेरै भएको भन्दै नाडाले गरेको विधान संशोधनलाई मान्यता दिन मानेन। नाडाले वरिष्ठ उपाध्यक्ष र दुई जना सदस्य थप्ने गरी विधान संशोधन गरी स्वीकृतिका लागि जिल्ला प्रशासन कार्यालयमा पठाएको थियो।
यस्तो संस्थामा ९ देखि १७ जना मात्र कार्यसमिति सदस्य हुन पाउने व्यवस्था रहेकामा विधान संशोधन गर्दा त्योभन्दा बढी पुर्याइएकाले प्रशासनले सच्याएर ल्याउन भनेपछि नाडाभित्र विवाद सुरु भएको थियो।
गत मंसिर ३० गते भएको नाडाको ४८ औं वार्षिक साधारण सभाको बन्द सत्रमा यस विषयमा चर्काचर्की भएको थियो। वरिष्ठ उपाध्यक्षको पद अझैसम्म किन वैधानिक भएन भन्ने प्रश्न उठेको थियो।