भारतको उदाहरण दिँदै साना तथा मझौला उद्योगलाई आइपीओमा जाने नीति ल्याउन व्यवसायीले उठाए आवाज

अनन्तराज न्यौपाने
२०८२ असार ७ गते १९:३० | Jun 21, 2025
भारतको उदाहरण दिँदै साना तथा मझौला उद्योगलाई आइपीओमा जाने नीति ल्याउन व्यवसायीले उठाए आवाज

विराटनगर। सरकारले साना तथा मझौला उद्योग व्यवसाय पनि आइपीओमा जाने नीति तर्जुमा गर्नुपर्ने धारणा व्यवसायीहरूले व्यक्त गरेका छन्।

Tata
GBIME

मोरङ उद्योग व्यापार संघको आयोजनामा शनिबार सम्पन्न ‘नेपाली अर्थतन्त्रमा सेयर बजारको प्रभाव’ विषयको छलफलमा साना तथा मझौला उद्योग व्यवसाय आइपीओमा जान पाउने गरी नीति निर्माण हुनुपर्ने विचार प्रस्तुत भएको हो।

संघका उपाध्यक्ष विकास बेगवानीले भारत सरकारले साना तथा मझौला उद्योग व्यवसायलाई आइपीओमा जाने सुविधा दिएको स्पष्ट पारे। उपाध्यक्ष बेगवानीले नेपालमा पनि निरन्तर ३ वर्ष नाफामा गएका उद्योग व्यवसायलाई यस्तो अवसर दिइनु पर्ने बताए। यसबाट लगानी, प्रतिस्पर्धा र आर्थिक गतिविधि अझ तीव्र हुने उपाध्यक्ष बेगबानीको भनाइ छ।

‘लोकतन्त्रमा आधारित उदार अर्थतन्त्रले समानताको सिद्धान्त अपनाउँदै सबै तहका उद्योगी र व्यवसायीको मौलिक अधिकार प्रत्याभूत गर्दछ। त्यसैले साना तथा मझौला उद्योगको आइपीओमा जाने अधिकारलाई कुण्ठित बनाउनु हुँदैन,’ बेगबानीको जिकिर थियो।

उनले उद्यमीका मनमस्तिष्कमा मेरो उद्योग व्यवसाय नाफामा चलिरहेको छ किन आइपीओमा जानुपर्‍यो भन्ने अज्ञानले बास गरेको चर्चा गरे।
उनले सरकार र व्यावसायिक संघसंगठनले यस्ता भ्रमित लगानीकर्तालाई सचेत बनाउन भूमिका खेल्नुपर्ने बताए।

उपाध्यक्ष बेगबानीले निरन्तर नाफामा रहेका पुरानो उद्योग व्यवसायले प्रिमियममा आइपीओ ल्याउनुलाई अन्यथा लिनु नहुने धारणा राखे।

‘उद्योगको धेरै वर्षको मेहनत र गुडविल अनि ब्रान्डको मूल्य हुन्छ। उद्योगले अनेकौँ क्षेत्रमा योगदान र लगानी गरेको हुन्छ। आइपीओ पर्नेबित्तिकै उसले प्रतिफल दिन थाल्दछ। यस्ता उद्योगले प्रिमियममा आइपिओ ल्याउँछन् भने यसलाई अन्यथा लिनु हुँदैन बरु स्वागत र सहजीकरण गर्नुपर्छ,’ उनले भने।

उनले पहिले-पहिले सेयरका लगानीकर्ताले बैंक र बीमाका क्षेत्रमा मात्र लगानी गर्ने गरेको भए पनि अब लगानीको क्षेत्र विस्तृत भइसकेको स्पष्ट पारे। बेगबानीले बैंक र बीमापछि माइक्रो फाइनान्स र हाइड्रोमा लगानी बढेको र बिस्तारै सिमेन्ट लगायतका उत्पादनमूलक उद्योग, होटल, पर्यटन, फर्मास्युटिकल्स लगायतका क्षेत्रमा पनि लगानीकर्ता आकर्षित भएको उल्लेख गरे।

उनले आर्थिक मन्दीका कारण व्यवसायी पीडित भए पनि आशावादी भएर काम गरिरहेको र सम्भावनाको सपनामा बाँचिरहेको बताए। बेगबानीले व्यवसायीको यही आशा र सपनालाई साकार बनाउन साना तथा मझौला उद्योगलाई पनि आइपीओ ल्याउन दिनुपर्ने तर्क राखे।

सेयर कर्जाको एनपीए नगण्य छ

मितेरी डेपलपमेन्ट बैंकका सीइओ अनन्त चापागाईंले विभिन्न बैंकका अहिलेसम्मका विवरण हेर्दा सेयरमा गरेको लगानी खराबकर्जामा गएको तथ्य नपाइएको जानकारी दिए। सीइओ चापागाईंले अन्य उत्पादनमूलक उद्योग, होटल, आयातनिर्यात, आन्तरिक व्यापार लगायतका क्षेत्रको कर्जा एनपीएमा गए पनि सेयरको कर्जा नगएको देखिएको स्पष्ट पारे।

चापागाईंले लगानी अभिवृद्धि गर्न बैंकको ब्याज मात्र मुख्य कारक नभएको चर्चा गर्दै इतिहासमै सस्तो ब्याज भएको अहिलेका बेलामा लगानी किन बढ्दैन? भन्दै प्रश्न गरे। उनले सेयर कर्जामा बैंकले १२५ अर्बको लगानी गरेको जानकारी दिँदै लगानीकर्तामा सेयर सचेतना बढाउने हो भने यस्तो कर्जा अझ विस्तार हुने दाबी गरे।

उनले अमुक बैंकले १५ वर्षमा गर्ने लगानी यही वर्ष गर्छु भन्ने उद्देश्यका साथ काम गर्दा अन्य बैंकलाई पनि दबाब परेको बताए। यही अन्धाधुन्ध कर्जाविस्तारले बैंकको एनपीए बढ्दै गएको उनको धारणा थियो।

‘लगानीयोग्य कर्जाको माग नभएपछि निक्षेप र कर्जाको ब्याज घटेको हो। राष्ट्र बैंकले बेसरेटमा आधारित भएर ब्याज निर्धारण गर्ने मापदण्ड दिएको छ। यही मापदण्डमा टेकेर ब्याजदरमा सामान्य उतारचढाव मात्र भइरहको छ। तर, यति सस्तो ब्याज हुँदा पनि लगानीकर्ताको मनोबल बढेको देखिएन,’ उनले सुनाए।

शुभकामना सेक्युरिटिजका संचालक निखिल अग्रवालले डीम्याटको प्रचलन सुरु भएसँगै सेयर लगानीमा ठूलो क्रान्ति आएको चर्चा गरे। व्यवसायी अग्रवालले अहिलेका लगानीकर्ताले सेयर खरिदबिक्रीका लागि कार्यालय धाइरहनु नपर्ने र एप्सबाटै काम सम्पन्न गर्नसक्ने हुँदा यस क्रान्तिले अर्को फड्को मारेको बताए।

‘प्रक्रियामा यति ठूलो रूपान्तरण आइसकेको छ। ब्याजदर घटेको छ। खराबकर्जा नगण्य छ। तर, पनि लगानी वृद्धि हुन सकेको छैन। यो नै गम्भीर विषय हो,’ अग्रवालले भने।