कार्यसमिति चयन भएको साता नबित्दै नाडामा लफडा, आकाशसहित ८ जनाले सामूहिक राजीनामा दिने

शुक्र गिरी
२०८० पुष २६ गते १२:५० | Jan 11, 2024
कार्यसमिति चयन भएको साता नबित्दै नाडामा लफडा, आकाशसहित ८ जनाले सामूहिक राजीनामा दिने

काठमाडौं। नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको कार्यसमिति चयन भएको एक साता पनि नबित्दै विवाद उत्पन्‍न भएको छ। सवारीसाधन बिक्रेताको संस्थाको विवाद चुलिएपछि वरिष्ठ उपाध्यक्ष आकाश गोल्छासहित ८ जनाले सामूहिक राजीनामा दिन हस्ताक्षर गरिसकेका छन्।

Tata
GBIME

अध्यक्ष करण चौधरीले एकतर्फी र निरकुंश शैलीमा संस्था हाँक्न थालेपछि गोल्छासहित ८ जनाले सामूहिक राजीनामा दिन लागेका हुन्। गोल्छा उनै हुन् जसले आफूले अध्यक्षको दाबेदारी छाडेर करणलाई निर्विरोध बनाएका थिए। करण अध्यक्ष हुनेवित्तिकै संस्थागतभन्दा व्यक्तिगत आग्रह र पूर्वाग्रहका आधारमा मनोनयन लगायतका काम गर्न थालेपछि गोल्छासँग आबद्ध व्यवसायी एकजुट भएका हुन्।

एकतर्फी निर्णय गर्न थालेपछि गोल्छाले करणलाई सम्झाउन खोजेका थिए। गोल्छाले सम्झाउँदा पनि करणले आफ्नो व्यवहार परिवर्तन गरेनन्। उल्टै आफ्नो डिलरलाई जस्तै व्यवहार गर्न थालेपछि गोल्छासहितको समूहले राजीनामा दिनुको विकल्प नभएको निष्कर्षमा पुगेका हुन्।

‘सर्वसम्मत रूपमा अध्यक्ष बनाएपछि प्रतिबद्धताअनुसार काम गर्नुपर्छ भनेर सम्झाएका हौं। तर उहाँले झन् एकपछि अर्को विवादित निर्णय गर्न थाल्नुभयो,’ नाडाका एक पदाधिकारीले बिजमाण्डूसँग भने, ‘सुजुकीको आफ्नो डिलरलाईजस्तो व्यवहार उहाँबाट भएपछि बसिरहनु उपयुक्त देखिएन।’

‘सहमतिअनुसार आकाश पक्षबाट ८ जना र करण पक्षबाट ८ जना कार्यसमितिमा आउने तय भएको थियो। यस्तै मनोनीतमा पनि ३ र २ गर्ने सहमति थियो,’ उनले भने, ‘यस्तै पदाधिकारीमा पनि सहकोषाध्यक्ष वा सचिव आकाशको पक्षले पाउने सहमति थियो। तर अध्यक्ष भएपछि सह-कोषाध्यक्ष पाउनेभन्दा सचिवमा पनि चुनाव गराइयो। त्यसपछि विवाद सुरु भएको हो।’

सचिवमा गणपति टायर इन्टरनेसनलका विक्रम सिंघानिया र साइमेक्स इंककी यमुना श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो। सिंघानिया एक मत बढी ल्याएर सचिवमा निर्वाचित भए। त्यसपछि फेरि मनोनीत छनोट गर्ने क्रममा पनि ठूलै विवाद भयो।

‘मनोनीत सदस्यमा आकाश पक्षको २ जना र करण पक्षको ३ जना ल्याउने सहमति थियो। तर करणले यसलाई मानेनन्,’ ती पदाधिकारीले भने, ‘कार्यसमितिले करण पक्षका मेघराज पौडेल र नीलमणि पाठक तथा आकाश पक्षका सोहन श्रेष्ठ मात्र मनोनीत गरेको थियो। तर करणले सदस्यमा अभिक ज्योति र निसान ढकाल ल्याउने जानकारी दिएका थिए।’

एसोसिएसनमा समिति गठनमा पनि विवाद भएको छ।

नाडामा पनि उद्योग वाणिज्य महासंघजस्तै समितिहरु गठन गर्ने गरिएको छ। यसमा सभापति छनोट गर्ने प्रक्रिया हुन्छ। जसमा विद्युतीय सवारी, दुई पांग्रे, स्पेयर पार्ट्स जस्ता समितिहरु छन्। स्पेयर पार्ट्समा सुनिल रिजालको विकल्पमा पंकज अग्रवाल ल्याउने तयारी भएपछि आकाश समूहमा तीव्र असन्तुष्टि बढेको हो।

नयाँ कार्यसमितिका कोषाध्याक्ष मिलनबाबु मल्लले मनोनीतका विषयमा केही विवाद भएको स्वीकार्छन्।

उनी भन्छन्, ‘मनोनीत सदस्य छनोटको कुरामा समस्या भएको हो। अहिले छलफलको प्रक्रियामा छ। भोलि नाडाको बैठक बस्दैछ।’