लगातार पाँच हारपछि चेन्नइको जित, धोनी प्लेयर अफ द म्याच बन्दा लखनउ पराजित

बिजमाण्डू
२०८२ बैशाख २ गते ०६:४० | Apr 15, 2025
लगातार पाँच हारपछि चेन्नइको जित, धोनी प्लेयर अफ द म्याच बन्दा लखनउ पराजित
चेन्नइका कप्तान महेन्द्रसिंह धोनी र लखनउका कप्तान ऋषभ पन्त। तस्बिर: आईपीएल


लगातार पाँच हारपछि चेन्नइ सुपर किंग्सले पहिलो जित निकालेको छ। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा चेन्नइले लखनउमाथि ५ विकेटको जित निकालेको हो।

Tata
GBIME

लखनउस्थित अटल बिहारी बाजपेयी स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको लखनउले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १७७ रन बनाएको थियो।

लखनउका लागि कप्तान ऋषभ पन्तले सर्वाधिक ६३ रन बनाउँदा मिचेल मार्सले ३०, आयुष बडोनीले २२ तथा अब्दुल समदले २० रन बनाए। बलिङमा चेन्नइका रवीन्द्र जडेजा र मथिसा पथिरानाले समान २ विकेट लिँदा खलिल अहमद र अन्सुल काम्बोजले समान १ विकेट लिए।

जवाफी ब्याटिङमा उत्रिएको चेन्नइले १९.३ ओभरमा ५ विकेट गुमाएर लक्ष्य भेट्टायो। चेन्नइका ओपनर रचिन रवीन्द्रले ३७ बनाउँदा शैक रसिदले २७ रन बनाए। त्यस्तै शिवम दुबै ४७ रनमा अविजित रहँदा बिस्फोटक ब्याटिङ गरेका कप्तान महेन्द्रसिंह धोनी २६ रनमा अविजित रहे। प्लेयरअफदी म्याच समेत बनेका धोनीले ११ बलमा ४ चौका र १ छक्काको सहायतामा अविजित २६ रन बनाए।

बलिङतर्फ लखनउका रवि विश्नोइले सर्वाधिक २ विकेट लिँदा दिग्भेस राठी, आभेष खान र ऐडन मार्क्रमले समान १ विकेट लिए। यो जितले लगातार पाँच खेलमा पराजय ब्यहोरेको चेन्नइलाई राहत मिलेको छ। चेन्नइले पहिलो खेलमा मुम्बई इण्डियन्सलाई हराएपछि लगातार पाँच हार ब्यहोरेको थियो। ७ खेलमा ४ अंक बनाएको चेन्नइ अझै तालिकाको पुछारमा छ।

आईपीएलमा आज पञ्जाव किंग्स र कोलकाता नाइट राइडर्स भिड्दैछन्।