
सन राइजर्स हैदराबादले पञ्जाव किंग्सलाई हराएको छ। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा हैदराबादले पञ्जावले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याउँदै ८ विकेटको जित निकालेको हो।
हैदराबादस्थित राजीव गान्धी स्टेडियममा टस जितेर ब्याटिङमा उत्रिएको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २४५ रनको विशाल स्कोर खडा गर्यो। यसक्रममा पञ्जावका कप्तान श्रेयस ऐय्यरले सर्वाधिक ८२ रन बनाउने क्रममा ३६ बलमा ६ चौका र छक्का प्रहार गरे। त्यस्तै, प्रियांश आर्याले ३६, प्रभशिमरन सिंहले ४२, नेहल वदेराले २७ रन बनाउँदा मार्कस स्टोइनिस ११ बलमा ३६ रनमा अविजित रहे।
पञ्जावले दिएको विशाल लक्ष्य हैदराबादले २ विकेट गुमाएर १८.३ ओभरमै भेट्टायो। यो आईपीएलको इतिहासमा दोस्रो ठूलो रनचेज हो। सबैभन्दा ठूलो रनचेज भने पञ्जावको नाममा छ। अघिल्लो संस्करणमा कोलकाता नाइट राइडर्सले बनाएको २६२ रनको लक्ष्य पञ्जावले चेज गरेको थियो।
यसक्रममा हैदराबादका ओपनर अभिषेक शर्माले विस्फोटक प्रदर्शन गर्दै १४१ रन बनाए। ५५ बल खेलेका शर्माले १४ चौका र १० छक्का प्रहार गरे। यो आईपीएलमा भारतीय खेलाडीले एउटै इनिङ्समा बनाएको सर्वाधिक ठूलो स्कोर हो। त्यस्तै, ट्राभिस हेडले ६६ रन बनाउँदा हेनरिच क्लासन २१ र इशान किशन ९ रनमा अविजित रहे।
बलिङमा पञ्जावका अश्रदीप सिंह र युजवेन्द्र चहलले समान १ विकेट लिए।
चार खेलको हारपछि मिलेको जितले हैदराबाद ६ खेलबाट ४ अंक बनाउँदै ८ औँ स्थानमा उक्लिएको छ। ६ अंक बनाएको पञ्जाव तालिकाको छैटौं स्थानमा छ। तालिकाको शीर्षस्थानमा ४ खेलबाट ८ अंक बनाएको दिल्ली क्यापिटल्स छ।
आईपीएलमा आज दुई खेल हुँदैछ। पहिलो खेलमा राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेङ्ग्लुरु जयपुरमा दिउँसो पौने ४ बजे भिड्नेछन्। त्यस्तै, दोस्रो खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स पौने ८ बजे दिल्लीमा भिड्नेछन्।