कुलमानलाई हटाएपछि फेरियो मन्त्री खड्काको बोली, भने- अब लोडसेडिङ हुँदैन

बिजमाण्डू
२०८१ चैत्र २७ गते १६:३० | Apr 9, 2025
कुलमानलाई हटाएपछि फेरियो मन्त्री खड्काको बोली, भने- अब लोडसेडिङ हुँदैन
तस्बिर : रासस।


काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अब लोडसेडिङ नहुने बताएका छन्। रसुवामा निर्माण सम्पन्न भएको साञ्जेनखोला जलविद्युत् आयोजना (७८ मेगावाट) को आज उद्घाटन गर्दै मन्त्री खड्काले अब नागरिकले लोडसेडिङको समस्या भोग्नु नपर्ने बताए।

GBIME
Tata

उनले सरकार नागरिकको घर-घरमा र उद्योगमा २४सै घण्टा बिजुली दिन प्रतिबद्ध रहेको उल्लेख गर्दै लोडसेडिङ हुन्छ भन्ने हल्लाको पछि नलाग्न आग्रह गरे।

यसअघि मन्त्री खड्काले नै अब घरायसी ग्राहकले पनि साँझको समयमा लोडसेडिङ भोग्नुपर्ने बताएका थिए। मन्त्री खड्का र नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङबीच विवाद चलिरहँदा राष्ट्रिय सभाका सांसदहरूको प्रश्नको जवाफ दिंदै लोडसेडिङ हुने बताएका थिए।

सरकारले घिसिङलाई चैत ११ गते पदमुक्त गरेको थियो। हटाउनुअघि मन्त्रिपरिषद् र मन्त्रीस्तरीय गरि पटक-पटक घिसिङलाई स्पष्टीकरण सोधिएको थियो।

रसुवाको आमाछोदिङ्मो गाउँपालिका वडा नम्बर ५ मा निर्माण भएको साञ्जेनखोला जलविद्युत आयोजनाको बुधबार काठमाडौंमा शुभारम्भ गरिएको छ। कार्यक्रममा आर्थिक सुशासन कायम गरेर लोडसेडिङ हुन नदिने गरी जलविद्युत् क्षेत्रको विकासमा लाग्न विद्युत् प्राधिकरणलाई मन्त्री खड्काले निर्देशन दिए।

प्राधिकरणको नेतृत्वमा एसियाकै अब्बल इञ्जिनियर हितेन्द्रदेव शाक्य आएकाले आगामी दिनमा विद्युत् प्राधिकरणले थप उचाइ लिने मन्त्री खड्काले विश्वास व्यक्त गरे। उनले सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएकाले उक्त लक्ष्यलाई पूरा गर्न निजी क्षेत्र र दातृ निकायलाई सँगसँगै लिएर हिँड्न चाहेको बताए।

नेपालमा जलविद्युत् क्षेत्रबाटै समृद्धि हासिल गर्न सकिने प्रचुर सम्भावना रहेकाले प्राधिकरणमा थप सुधार गरेर लक्ष्य प्राप्तिका लागि अगाडि बढ्न चाहेको मन्त्री खड्काले उल्लेख गरे। आगामी दिनमा जलाशययुक्त आयोजनालाई प्राथमिकताका साथ अगाडि बढाउँदै भारत, बङ्गलादेशलगायतका देशमा विद्युत् निर्यात गर्ने गरी सरकारले काम गरिरहेको उनले स्पष्ट पारे।

मन्त्री खड्काले जलविद्युत् क्षेत्र सरकारको मुख्य प्राथमिकतामा रहेकाले उत्पादनसँगै निर्यातमा पनि काम गरिरहेको बताए। उनले भारतसँग १० हजार मेगावाट विद्युत् निर्यात गर्ने सहमति भएको र बङ्गलादेशमा ४० मेगावाट विद्युत् निर्यात गरिसकेको अवस्थामा उत्पादन भएको विद्युत् खेर नजाने भन्दै ढुक्क भएर लगानी गर्न निजी क्षेत्र र दातृ निकायलाई आग्रह गरे। जलविद्युत् आयोजना निर्माणसँगै दुई देशबीचको सम्बन्ध विस्तार, आर्थिक समृद्धि र रोजगारी सिर्जना भएको उनको भनाइ थियो।

कार्यक्रममा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले लोडसेडिङ हटाउन प्राधिकरण सक्षम रहेको भन्दै हल्लाको पछि नलाग्न आग्रह गरे। उनले ऊर्जा मन्त्रालयबाट प्राधिकरणलाई पूर्ण सहयोग रहेकाले वर्तमान समस्यालाई चिरेर प्राधिकरणलाई थप उचाइमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरे।

नेपालका लागि चिनियाँ राजदूतावासका कार्यवाहक राजदूत वाङ सिनले नेपालले जलविद्युत् क्षेत्रमा गरेको प्रगति अत्यन्त आशलाग्दो रहेको उल्लेख गर्दै यस क्षेत्रमा चीनको निरन्तर सहयोग रहने बताए।

‘चाइना हारबर इञ्जिनियरिङ कम्पनी’ र ‘सालासुङ्गी पावर कम्पनी लिमिटेड’को संयुक्त लगानीमा निर्माण गरिएको उक्त जलविद्युत् आयोजना आजदेखि औपचारिक रुपमा राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो। उक्त जलविद्युत् केन्द्र चीनको सिनो हाइड्रो ब्यूरो–११ कम्पनीले निर्माण गरेको हो।

रसुवाको आमाछोदिङ्मो गाउँपालिका-५ मा कुल २२ अर्ब रुपैयाँ लगानीमा निर्माण गरिएको उक्त जलविद्युत आयोजना सन् २०१९ देखि निर्माण थालिएको हो।