काठमाडौं। उर्जामन्त्री दीपक खड्काले अब घरायसी ग्राहकले पनि साँझको समयमा लोडसेडिङ भोग्नुपर्ने बताएका छन्।
उनले बुधबार राष्ट्रिय सभा सांसदका प्रश्नको जवाफ दिंदै उद्योगमा रहेको लोडसेडिङ अब घरघरमा पनि हुने बताए।
‘अहिले भर्खरै म यहाँ बसेर कुराकानी गर्दै गर्दा ८३० मेगावाट भारतबाट आयात भइरहेको छ। पुग नपुग हामीसँग १००० मेगावाट छ। साँझमा घरमै पनि लोडसेडिङ हुने अवस्था छ,’ उनले भने।
चैत ३ गतेदेखि भारतले सोलार आवरबाहेकको समयमा बिजुली दिन नमानेका कारण रातिको समय उद्योगमा लोडसेडिङ हुन थालिसकेको छ।
ऊर्जामन्त्री खड्काले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई उज्यालो नेपालका नायक भनेर प्रचार गरिएको भन्दै त्यसमा दुखेसो पोखे। उनले यसअघि प्रतिनिधि सभाको बैठकमा जस्तै लोडसेडिङ अन्त्यमा भारतलाई धन्यवाद दिनुपर्ने दोहोर्याए।
‘निजी क्षेत्रको उत्पादन र भारतबाट आयात भएकाले यसअघि लोडसेडिङ हटेको हो। त्यसकारण उज्यालोको नायक कुलमानजी होइन। बरु हाम्रो आवश्यकता परिपूर्ति गरेकामा धन्यवाद भारतलाई दिउँ,’ उनले भने।










