लगातार दोस्रो जितमा चितवनको नजर, तेस्रो खेलमा पनि पहिलो जित नै खोज्दैछ बुटवल

बिजमाण्डू
२०८१ चैत्र २२ गते १४:४२ | Apr 4, 2025
लगातार दोस्रो जितमा चितवनको नजर, तेस्रो खेलमा पनि पहिलो जित नै खोज्दैछ बुटवल
गोलअघि बढाउँदै बुटवलक कान्ता हारा। तस्बिर: एनएसएल


काठमाडौं। नेपाल सुपर लिग (एनएसएल)मा आज एफसी चितवन र बुटवल लुम्बिनी एफसी भिड्दैछन्। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा यो खेल आज साँझ ६ बजे सुरु हुनेछ।

Tata
GBIME

हालसम्म यी दुई टोली एकअर्काविरुद्ध २ पटक आमनेसामने भएका छन्, जसमा दुबै खेल बराबरीमा रोकिएको थियो।

जारी संस्करणमा चितवनले एउटा खेल खेलेको छ। विदेशी खेलाडीको श्रम स्वीकृतिलाई लिएर विवादस्पद समेत बनेको उक्त खेलमा चितवनले पोखरालाई २-० गोलले हराएको थियो।

अर्कोतर्फ २ खेल खेलिसकेको बुटवल लुम्बिनीले जितको स्वाद चाख्न पाएको छैन। आफ्नो पहिलो खेलमा झापा एफसीसँग गोलरहित बराबरी खेलेको बुटवलले दोस्रो खेलमा धनगढी एफसीसँग ४-१ गोलको फराकिलो हार ब्यहोर्‍यो।

३ अंक बनाएको चितवन अंकतालिकामा तेस्रो स्थानमा छ। दोस्रो स्थानमा समान अंक बनाएको धनगढी एफसी छ। शीर्षमा ४ अंक जोडेको ललितपुर सिटी एफसी छ। १ अंक बनाएको बुटवल तालिकाको छैटौं स्थानमा छ।

चितवनसँग कप्तान अञ्जन बिस्टसँगै छिरिङ गुरुङ र निरज चौधरीजस्ता प्रभावशाली नेपाली खेलाडी साथै टोरिक जेब्रिइन, जोनाथन क्याम्पबेल, भिक्टर मानसारेजस्ता विदेशी खेलाडीको उपस्थितिले टोलीलाई अझ शसक्त बनाउने छ।

पहिलो खेलमा रेडकार्ड ब्यहोर्दै दोस्रो खेल गुमाएका बुटवलका कप्तान एरिक बिस्ट आजको खेलमा मैदान फर्कनेछन्। बिस्टसँगै मनिष डाँगी, निराजन धामीजस्ता प्रभावशाली नेपाली खेलाडी र केन्टा हारा, फ्र्याङ्क रस, इजाकिल तामारा जस्ता विदेशी खेलाडी बुटवलको दर्बिला खेलाडीका रुपमा रहनेछन्।

खेलको प्रत्यक्ष प्रसारण हिमालयन टेलिभिजनले गर्नेछ। रंगशालामा गएर खेल हेर्न आइएमई पे र खल्ती एपबाट टिकट लिन सकिन्छ। टिकट शुल्क साधारणतर्फ ३ सय रुपैयाँ र भीआईपीतर्फ ६ सय रुपैयाँ तोकिएको छ।