स्टील उद्योगीको अराजकताले सीमा नाघ्यो, डण्डीको मूल्य एकैपटक किलोमा ६ रुपैयाँ वृद्धि

अनन्तराज न्यौपाने
२०८१ चैत्र १३ गते १८:४४ | Mar 26, 2025
स्टील उद्योगीको अराजकताले सीमा नाघ्यो, डण्डीको मूल्य एकैपटक किलोमा ६ रुपैयाँ वृद्धि


विराटनगर। सरकारले मौनता साँधेर कार्टेलिङमा साथ दिएपछि स्टील उद्योगीले फलामे छडको मूल्य एकै पटक किलोमा ६ रुपैयाँ बढाएका छन्। मंगलबारदेखि बिक्री बन्द गरेका उद्योगीले किलोमा ६ रुपैयाँ भाउ बढाउँदै बुधबार डण्डी बेच्न थालेका हुन्।

Tata
GBIME
NLIC

मूल्य वृद्धिपछि पूर्वका उद्योगमा फलामे छडको भाउ भ्याटबाहेक किलोमा ९६ देखि ९८ रुपैयाँ पुगेको छ। कोशी प्रदेशका स्टील उद्योगमध्ये सबैभन्दा सस्तो मूल्यमा छड बिक्री गरिरहेको पशुपति आइरनले बुधबारदेखि किलोको ९६ रुपैयाँ लिन थालेको छ। यो मूल्यमा मूअकर समावेश छैन।

पशुपति आइरन कोशीको सबैभन्दा पुरानो मेल्टिङ प्लान्टसहितको उद्योग हो। पुरानो उद्योग भएकाले यस उद्योगलाई चालुपुँजीको सामान्य कर्जाबाहेक ठूलो परिमाणको बैंक ऋण र ब्याजको भार छैन। त्यसैले अन्य नयाँ उद्योगले भन्दा यसले किलोको ४ रुपैयाँसम्म सस्तोमा फलामे छडको बिक्री गर्ने गर्छ।

तर, कार्टेलिङ सुरु भएयता उद्योगले अधिकतम मूल्यभन्दा २ रुपैयाँ मात्र सस्तो गरिरहेको छ। पशुपति आइरनले बुधबारदेखि भ्याटबाहेक किलोको ९६ रुपैयाँमा बिक्री खोलेको जानकारी दिए।

स्रोतका अनुसार भुक्तानी गरेर आजै छड लगिहाल्नु पर्छ। भोलि, पर्सि वा सात दिनपछि लाने हो भने त्यस दिनको रेट आजको भन्दा बढी हुन पनि सक्छ।

यसो भएका खण्डमा बढी भएको रेटसँगको फरक रकम तिरेर मात्र छड उठाउनु पर्नेछ। आजको दरमा भोलि वा पर्सि लैजान मिल्दैन।

स्टील उद्योगीले कार्टेलिङ गरेर फागुन २५ यता फलामे डण्डीको भाउ बढाएको यो पाँचौं पटक हो। यो अवधिमा उनीहरुले प्रति किलो १८ रुपैयाँ मूल्य बढाएका छन्।

उद्योगीले कार्टेलिङको तयारीस्वरुप सबैभन्दा पहिले फागुन २० गते बिक्री बन्द गरेका थिए। त्यस दिनसम्म फलामे छडको कारखाना मूल्य भ्याटबाहेक किलोको ७८ देखि ८० रुपैयाँसम्म थियो।

उद्योगीले किलोको ४ रुपैयाँ बढाएर फागुन २५ मा बिक्री खोले। तर, २६ गते फेरि बिक्री बन्द गरे। यसपछि चैत ३ गते फेरि किलोको ४ रुपैयाँ मूल्य बढाइयो। चैत ३ गतेदेखि नै रात्रिकालीन १२ घण्टे लोडसेडिङ सुरु भयो। यसको कारण देखाउँदै चैत ४ गते र ८ गते किलोको २/२ रुपैयाँ वृद्धि भयो।

यो वृद्धिको क्रम अझै रोकिएको छैन। बुधबार फेरि किलोको ६ रुपैयाँ मूल्य बढाइएको छ। यो वृद्धि अहिलेसम्मकै सबैभन्दा ठूलो हो। उद्योगीले १८ दिनमा किलोमै १८ रुपैयाँ भाउ बढाउनुलाई सरकारले कार्टेलिङलाई साथ दिएको रुपमा अर्थ्याइएको छ।

स्टील उद्योगले कार्टेलिङ गरेर मनोमानी रूपमा मूल्यवृद्धि गरेको भन्दै सर्बत्र विरोध भएपछि प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र उपभोक्ता हित समितिले चैत ५ गते उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई बोलाएको थियो।

बैठकमा निर्माण व्यवसायी र उद्योगीलाई पनि बोलाइएको थियो। निर्माण व्यवसायीले कार्टेलिङको चर्को विरोध गर्दै मूल्य घटाउन र उद्योगीमाथि कारबाही गर्न माग गरेका थिए। सत्तारुढ दलकै सांसदले मूल्यवृद्धिमा मन्त्री भण्डारीको साथ रहेकोआरोप लगाएका थिए।

तर, मन्त्री भण्डारी आरोपबाट डराएनन्। उनले उल्टै मूल्यवृद्धिको समर्थन गरे। उनले आफ्नो जिम्मेवारी उद्योगको समर्थन गर्नु भएको मात्र बताएनन्, समितिका सभापति अब्दुल खानलाई मूल्य घटाउने निर्देशन दिनबाट समेत रोके। त्यसबाट स्टील उद्योगी थप हौसिन पुगेका हुन्।

स्क्र्याप ५८ बाट ५२

यसपछि उद्योगीले दोहोरो कार्टेलिङ गरेका छन्। तयारी वस्तुमा मूल्यवृद्धि भएपछि त्यसको कच्चा पदार्थमा पनि हुनुपर्ने सार्वभौम सिद्धान्तका विपरीत स्टील उद्योगीले फलामे स्क्र्याप खरिदमा पनि कार्टेलिङ थालेका हुन्।

उद्योगमन्त्री भण्डारीले संसदीय समितिमै आडभरोसा दिएपछि उद्योगीले स्क्र्याप खरिदमा कार्टेलिङ गरेर मूल्य घटाएका छन्। स्टील उद्योगका लागि स्क्र्याप मुख्य कच्चा पदार्थ हो। स्क्र्याप व्यवासायीले आफ्ना वस्तु बिक्री गर्ने स्थान स्टीलका मेल्टिङ उद्योग मात्र हुन्। अन्यत्र बिक्री हुँदैन।

उनीहरुको बाध्यताको फाइदा उठाउँदै उद्योगीले फागुन ६ यता स्क्र्यापको मूल्य किलोको ६ रुपैयाँले घटाएका छन्।

नेपाल स्क्र्याप व्यवसायी संघ मोरङका पूर्वअध्यक्ष भीमबहादुर थापाले विराटनगरका उद्योगले किलोको ५८ रुपैयाँमा खरिद गरिरहेको स्क्र्यापलाई चैत ६ देखि ५५ बनाएको र १० गतेदेखि ५२ मा खरिद गर्न थालेको जानकारी दिए।

थापाका अनुसार विराटनगरका उद्योगले भन्दा वीरगञ्जका उद्योगले किलोको २ रुपैयाँ बढी मूल्य दिएका छन्। वीरगञ्जमा किलोको ५४ रुपैयाँमा स्क्र्याप गइरहेको छ।

सामान्यतया पूर्वका उद्योगले फलामे छडको एक किलोको न्यूनतम मूल्य जति छ त्योभन्दा २० रुपैयाँ कम गरेर स्क्र्याप खरिद गर्दै आएका थिए। जसअनुसार छडको न्यूनतम मूल्य हाल किलोको ९६ रुपैयाँ हुँदा स्क्र्यापको मूल्य ७६ हुनुपर्ने थियो। तर, स्टील उद्योगीको कार्टेलिङका कारण स्क्र्याप व्यवसायी ५२ रुपैयाँका दरले बिक्री गर्न बाध्य छन्। (समाचारमा पशुपति आइरनका बिक्री प्रबन्धक राजेश शर्माको नाम असावधानीवश पर्न गएकोमा सच्चाईएको छ। यसबाट सम्वन्धित व्यक्तिलाई पर्न गएको असुविधाप्रति गम्भीर हुँदै क्षमायाचना गर्छौं।)