
विराटनगर। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी कार्टेलिङ गरेर मूल्य बढाएका उद्योगीको पक्षमा उभिएपछि फलामे डण्डीको भाउलाई लिएर अनेक अडकलबाजी गर्न लागिएको छ।
मन्त्री भण्डारीले प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा ‘मन्त्रीले उद्योगीको पक्षमा नबोलेर कसको पक्षमा बोल्छ त?’ भन्ने प्रतिप्रश्नसहित समितिका सभापति अब्दुल खानलाई मूल्य घटाउने निर्देशन दिनबाट रोकेपछि उद्योगीहरु उत्साही हुन पुगेका छन्।

उद्योगीले तिहारपछि सिमेन्टको भाउ मिलेमतोमा प्रति बोरा २७५ रुपैयाँले मूल्य बढाएकामा सिमेन्ट उत्पादक संघका अध्यक्ष ध्रुव थापाले लोडसेडिङलाई कारण देखाएर अझै ६०–७० रुपैयाँ बढाउने बताएका छन्।
डण्डीमा के होला ?
फलामे डण्डीका उद्योगीले कार्टेलिङको प्रयास दशैं अगाडिदेखि नै गरेका थिए। तर, केही पुराना उद्योगीको असहमतिका कारण यो प्रयासले मूर्तरूप पाउन सकिरहेको थिएन।
सिमेन्ट उद्योगीको कार्टेलिङ सफल भएपछि स्टील उद्योगी पनि उत्प्रेरित भए। उनीहरूले फागुन २५ देखि चैत ४ सम्मका ९ दिनमा ३ पटकमा गरेर प्रति किलो १० रुपैयाँ मूल्य बढाए। उद्योगीले लोडसेडिङको अवस्था रहिरहने हो भने अझै मूल्यवृद्धि हुने चेतावनी दिइरहेका छन्।
विराटनगरका एक हार्डवेयर व्यवसायीका अनुसार स्टील उद्योगमा आजको दरमा आजै भुक्तानी गर्ने तर तीन दिनपछि मात्र छड उठाउने व्यवस्था हटेको छ।
स्टील व्यवसायीले आज भुक्तानी गरेर ३ दिनभित्र फलामे छड लगि सक्ने सर्तमा मात्र सौदा गरिरहेका छन्। उनीहरूले निर्माण व्यवसायी तथा निर्माणाधीन होटल, अस्पताल तथा अन्य संरचनाका सञ्चालकसँग पनि ७ दिनभन्दा बढीको सौदा गर्न छाडेका छन्। किनकि ७ दिनपछि मिलेमतोमा मूल्यवृद्धि गर्ने उनीहरुको तयारी छ।
स्टील उद्योगले आज भुक्तानी गर्नूस्, पर्सिसम्ममा छड लैजानूस् भन्न थालेका छन्। एक हप्तापछि छड लैजाने सर्तमा आज भुक्तानी गर्न नपाइने भएको छ। उद्योगीले डण्डीको मूल्य अझै वृद्धि हुने स्पष्ट संकेत दिएका छन्।
कतिसम्म पुग्ला त डण्डीको मूल्य?
‘मन्त्री भण्डारीकोे आडभरोसाका कारण स्टील उद्योगी कतिसम्म उत्साही भएका छन् भने भारतकै हाराहारी मूल्य पुर्याउने तयारीमा छन्,’ उद्योगी निकट एक व्यवसायीले भने।
तर, के त्यो सम्भव छ त ?
नेपालमा पश्चिम बंगालको दुर्गापुर, छत्तीसगढका जमसेदपुर, रायगढ र रायपुर लगायत स्थानबाट स्टीलको कच्चा पदार्थ आयात हुने गर्छ। किनकि ती स्थानमा ठुलाठुला फलामे खानी र उद्योग छन्।
ती स्थानका उद्योगमा अहिले फलामे छडको कारखाना मूल्य जीएसटीबाहेक किलोको भारु ४३ छ। यसको नेपाली मूल्य ६८.८० रुपैयाँ हुन्छ।
ढुवानी र बीमा खर्चसहित भन्सार विन्दुमा आइपुग्दा एक किलो डन्डीको लागत ७१ रुपैयाँ पर्छ।

डन्डीको आयातमा भन्सार महसुल ३० प्रतिशत, किलोको २.५० रुपैयाँका दरले अन्तःशुल्क र भ्याटसमेत तिर्नुपर्ने प्रावधान छ। जसअनुसार ७१ रुपैयाँमा महसुल रकम ३६.१२ रुपैयाँ थपिन्छ। भन्सार विन्दुमै एक किलो भारतीय डन्डीको मूल्य १०७.१२ रुपैयाँ पर्छ।
नेपाली उद्योगले कारखाना मूल्य किलोको ९० रुपैयाँ बनाएकामा भ्याट थपिँदा १०१.७० रुपैयाँ पुगेको छ। विराटनगरको खुला बजारमा हार्डवेयर पसलले प्रति किलो १०३ देखि १०६ रुपैयाँमा डण्डी बिक्री गरिरहेका छन्।
त्यसैले स्टील उद्योगीले किलोमा अझै ५ देखि ६ रुपैयाँसम्म बढाउन सक्ने देखेका छन्।
उता भारत सरकारले आयात हुने स्टीलका उत्पादनमा २०० दिनका लागि १२ प्रतिशतले सेफगार्ड शुल्क लगाउने तयारी गरिरहेको छ।
भारतबाट प्रकाशित हुने बिजनेस स्टान्डर्ड डटकमका अनुसार अत्यधिक आयातले स्वदेशी उद्योगले नोक्सानी ब्यहोर्दै आएका कारण यस्तो शुल्क सिफारिस गरिएको हो।
भारतमा चीनबाट हुने एचआर सिट र क्वाइल, सीआर सिट क्वाइल, मेटालिक कोटेड स्टील जस्ता वस्तुको आयात ५ गुणाले बढेको छ। त्यस्तै कोरिया र जापानबाट पनि अत्यधिक आयात भइरहेको छ।
भारतले सेफगार्ड शुल्क लगाउने बित्तिकै त्यहाँ स्टीलको कच्चा पदार्थ आइरन ओर र स्पन्ज आइरनको मूल्यवृद्धि हुनेछ। यसको असर नेपालका उत्पादनमा पनि पर्ने निश्चित छ। त्यसैले नेपालका स्टील उद्योगीले भारतको १२ प्रतिशत सेफगार्ड शुल्कको निर्णय पर्खिने हुन् कि हप्ता दिनमा फेरि मूल्य बढाउने हुन्? केही दिनमा देखिनेछ।