
काठमाडौं। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकका रुपमा हितेन्द्रदेव शाक्य करिब ४४ महिनापछि फर्किएका छन्। मन्त्रिपरिषद्ले कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको भोलिपल्ट मंगलबार शाक्यले जिम्मेवारी सम्हालेका छन्।
उनले कार्यालय समय सकिएपछि साँझ करिब ७ बजेतिर पदभार ग्रहण गरेका हुन्। शाक्य यसअघि पनि प्राधिकरणको कार्यकारी निर्देशक थिए। तर, उनले ६ महिनामै बाहिरिनु परेको थियो।
केपी ओलीले २०७७ माघ अन्तिम साता शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गरेकामा २०७८ साउन अन्तिम साता बाहिरिनु परेको थियो।
२०७८ असार अन्तिम साता ओली प्रधानमन्त्रीबाट पदमुक्त भएर नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि सरकारले शाक्यलाई ऊर्जा आयोगमा सरुवा गरेर कुलमान घिसिङलाई कार्यकारी निर्देशक बनाएको थियो।
अहिले कार्यकाल सकिन ४ महिना बाँकी रहेका घिसिङलाई पदमुक्त गरेर सरकारले शाक्यलाई नियुक्ति दिएको हो।

पदभार ग्रहणका क्रममा संचारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिंदै शाक्यले घरायसी ग्राहकलाई लोडसेडिङ हुन नदिने बताए। उनले औद्योगिक क्षेत्रमा रहेको लोडसेडिङ हटाउने दाबी पनि गरे।