
काठमाडौं। सार्वजनिक खरिद अनुगमन कार्यालयले चार निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ। सडक विभाग र विभिन्न स्थानीय तहको सिफारिसमा कम्पनीहरुलाई एकदेखि तीन वर्षसम्म सार्वजनिक खरिदमा सहभागी हुन नपाउनेगरि कार्वाही गरेको हो।
कार्वाहीमा पर्नेमा जनकपुरको एसडओ कन्स्ट्रक्सन, काठमाडौं मिनभवनको अरनिको निर्माण सेवा, काठमाडौं तारकेश्वरको आरएसए कन्स्ट्रक्सन र भोजपुरको मनकामना सप्लायर्स छन्।
अरनिको निर्माण सेवालाई कार्वाही गर्न सडक विभागअन्तर्गत संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयको सालझण्डी-सन्धिखर्क-ढोरपाटन सडक योजनाले सिफारिस गरेको हो। उक्त कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखिएको सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा सोमबार प्रकाशित सूचनामा छ।
एक वर्षका लागि कालोसूचीमा राखिएको धनुषाको एसडी कन्स्ट्रक्सनलाई कार्वाही सिफारिस बारा जिल्ला समन्वय समितिको कार्यालय कलैयाले गरेको हो। भोजपुरको पौवादुङमा गाउँपालिकाको कार्यालयको सिफारिसमा मनकामना सप्लायर्स एक वर्षका लागि कार्वाहीमा परेको छ।
नुवाकोटको पञ्चकन्या गाउँपालिकाको सिफारिसमा कार्वाहीमा परेको तारकेश्वरको आरएसए कन्सट्रक्सन एक वर्ष ६ महिनाका लागि कालोसूचीमा परेको छ।