देहरादुनमा व्यापार मेला, नेपाली स्टलको आकर्षण मह, हस्तकला र विजयसालका भाँडा

बिजमाण्डू
२०८१ चैत्र ९ गते ०६:३४ | Mar 22, 2025
देहरादुनमा व्यापार मेला, नेपाली स्टलको आकर्षण मह, हस्तकला र विजयसालका भाँडा


देहरादुन (भारत)। ‘आउनुहोस्, भाँडा र जानकारीमध्ये कम्तीमा एउटा लैजानुहोस्,’ स्टलमा आउने सबैजसो ग्राहकलाई विजयसालका भाँडा देखाउँदै कञ्चनपुरका गणेशराज बोहोरा भन्छन्, ‘यी भाँडामा पानी राखेर खाँदा फाइदै फाइदा छन्।’

Tata
GBIME
NLIC

देहरादुनमा शुक्रबारदेखि सुरु इन्डो-नेपाल व्यापार मेलामा नेपाली स्टल अवकलोकनकर्ताको आकर्षणमा परेको छ। हेर्न आउनेलाई बोहोरा विजयसालका भाँडामा पानी राखेर खाँदाका फाइदा सुनाउँछन्। ‘रातभर यी भाँडामा पानी राखेर बिहान खाली पेटमा पिउँदा मधुमेह, उच्च रक्तचाप, कोलेस्टोरेल, शरीरको दुःखाइ निको पार्छ, शरीरको तौल नियन्त्रण गर्न पनि राम्रो हुन्छ,’ उनी भन्छन्।

उपभोक्ता उनका कुरा चाख मानेर सुन्छन्। ‘भाँडा बनाउनेले आयुर्वेदका कुरा गरेको नसुहाउला, म त धेरै जान्दिन, यसबारे इन्टरनेटमा सर्च गर्नु त,’ उनले भने। सामान बिक्री गर्नुभन्दा बढी यसबारे जानकारी दिनु हो भन्ने उनलाई लाग्छ। सबैले यसको महत्त्व थाहा पाए, यति सामान बिक्री हुन समय लाग्दैन भन्ने उनले बुझेका छन्।

त्यसैले उनी सबैलाई फोटो खिच्न र युट्युवमा भिडियो हेर्न आग्रह गर्दै गरेका देखिए। ‘आज नकिन्नेले घर गएर युट्युवमा हेरे भोलि किन्न आइहाल्छन्, त्यसैले सबैलाई यसबारे फोटो खिच्न भनिरहेको छु,’ उनले भने। अघिल्ला दुई वटा महोत्सवमा राम्रो व्यापार हुँदा हौसिएका उनले यसपाली १०२ वटा काठका भाँडा ल्याएका थिए। उद्घाटन नहुँदै नौ वटा बिक्री भइसकेको उनले बताए।

‘पहिलो वर्ष १५० र दोस्रो वर्ष २३० वटा २/३ दिनमै बिक्री भइसकेका थिए। यसपाली पनि सुरुआत राम्रो छ,’ उनले भने। उनले विजयसाल काठबाट आम्खोरा, गिलास र कप बनाएका छन्। धेरै पैसा खर्च नगर्नेका लागि स–साना आकर्षक टुक्रा पनि बनाएका छन्। कञ्चनपुरको भीमदत्त-१ भाँसी मेरिट महिला मार्केटिङका सञ्चालक बोहोराले २०५७ सालदेखि विजयसालका भाँडा बनाउन सुरु गरेका हुन्।

‘पहिले त धैरै भाँडा बनाउँथे, अहिले काठ पाइनै छाड्यो। कुनै समय वर्षमा १० हजारसम्म भाँडा बनाएँ। अहिले ३/४ सय पनि पुग्दैन,’ उनले भने। विजयसाललाई सरकारले संरक्षित वनस्पतिको सूचीमा राखेपछि काठ पाउन गाह्रो भएको उनको भनाइ छ। यो काठ कञ्चनपुर, कैलाली र कपिलवस्तुका वनमा बढी पाइन्छ। अहिले कञ्चनपुरका वनमा ढलेपडेका काठ बोलपत्रमार्फत खरिद गर्नुपर्छ, एक क्युफिटको ३३ सय पर्छ, तैपनि पाउन गाह्रो हुने उनले बताए।

काठ पाउन छाडेपछि उनले पछिल्लो समय भीमदत्त, वेदकोट र बेलोरीका ३०० विरुवा वितरण गरेका छन्। आफैंले पनि तीन वटा रोपेको उनले बताए। ‘मैले रोपेको २० वर्ष जति भयो, २०/२२ फिट अग्लो भएको छ। यो काठका लागि मात्रै होइन, खोट र पातको पनि ओषधीय प्रयोग गर्ने चलन छ,’ उनले भने।

महोत्सवमा विजयसालका काठबाट निर्मित भाँडामा जस्तै नेपाली रुद्राक्ष तथा बोधिचित्तको माला, सल्यानको खुकुरी, पाल्पामा उत्पादित ढाकाका विभिन्न पहिरन, सिन्की, नेपाली पोते, मस्यौराका साथै रुकुम रोल्पामा उत्पादित भीर मौरीको मह, थाङ्का चित्रकलामा पनि देहरादुनबासीले उत्तिकै चासो दिएका छन्।

महोत्सवमा नेपाली हस्तकला धेरैले मन पराएका छन्। चितवनको भरतपुरको मान्द्रो नेपालकी सञ्चालक अम्बी धितालले मस्यौरा, तितौरालगायत ल्याएको बताइन। ‘हाम्रो कुल उत्पादनमध्ये ६० प्रतिशत विदेश निर्यात हुन्छ। यो महोत्सवले देहरादूनमा बजार विस्तारमा सहयोग गर्ने अपेक्षा छ,’ उनले भनिन्।

काठमाडौं कीर्तिपुरबाट आएकी राजधानी हस्तकलाकी सञ्चालक रजनी चित्रकार आफू यसअघि तीन पटक यस महोत्सवमा सहभागी भइसकेको उल्लेख गर्दै विगतका महोत्सवमा राम्रो व्यापार भएकाले यसपाली पनि आएको बताइन। ‘सामान यहाँसम्म ल्याउन कञ्चनपुर उद्योग वाणिज्य संघले सहयोग गरेको छ, स्टल निःशुल्क उपलब्ध गराएको छ। महोत्सवले नेपाली हस्तकलाको बजारीकरणका लागि सहयोग पुगेको छ,’ उनले भनिन्।

कैलाली घोडाघोडी-२ मा अशिषेक मौरीपालन फर्म सञ्चालक उमा खत्रीले महोत्सव नेपाली उत्पादनको प्रचारप्रसारका लागि उपयुक्त थलो भए पनि उत्पादन ल्याउनका लागि सहज नभएको बताइन। ‘महोत्सवमा सहभागी हुँदा नेपाली उत्पादनको प्रचारप्रसार तथा नयाँ बजार खोज्नमा सहयोग पुग्छ तर सीमाबाट सामान ओसारपसारमा भने सहज हुनु जरुरी छ,’ नेपाल मौरीपालन संघकी केन्द्रीय उपाध्यक्ष खत्रीले भनिन्, ‘अहिले पनि सामान ल्याउन सहज भएन। दुवै देशका सरकारले यस विषयमा ध्यान दिन जरुरी छ।’

काठमाडौं नागार्जुनमा ग्लोबल नेचर एग्रोटेक सञ्चालन गरिरहेकी संगीता गुरुङले रोल्पा र रुकुममा उत्पादित भीर मौरीको मह ल्याएको बताइन। ‘भीर मौरीको मह धेरैले रुचाउनुभएको छ। त्यसबाहेक टिमुर र कोदोको पीठोको बिक्री पनि राम्रो छ,’ उनले भनिन्, ‘महोत्सवका कारण नेपाली उत्पादनलाई यहाँसम्म ल्याउन सजिलो भयो।’

काठमाडौँ कोटेश्वरमा कोसेली ढाकाका सञ्चालक करुण राईले भने हातले बुनेका विभिन्न पोसाक ल्याएको बताए। ‘यो पोसाक मात्रै होइन, नेपाली पोसाक र नेपाली हस्तकलाको प्रवर्द्धन पनि हो। देहरादुनमा उल्लेख्य सङ्ख्यामा नेपाली रहेकाले महोत्सवमा सहभागी भएका हौं,’ उनले भने।

महोत्सवमा भक्तपुरको कुवेर थाङ्का एण्ड आर्टस् एण्ड ट्रेडर्सका सञ्चालक लायन तामाङ पनि भेटिए। उनले स्टलमा रुद्राक्ष, बोधिचित्तका मालाका साथै, रु ५० हजारसम्म मूल्य पर्ने थाङ्का बिक्रीका लागि राखेका छन्। ‘महोत्सव नेपाली चित्रकलालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने अवसर पनि हो, चित्रकलामा धेरैले चाखपूर्वक अवलोकन गरेका छन्,’ उनले भने।

अल्लोबाट निर्मित वस्तु, सल्यानी खुकुरी, ढाकाका कपडा, नेपाली पोतेलगायतका गहना, नेपालमा उत्पादित जुत्ता तथा विभिन्न हस्तकलाका सामग्री प्रदर्शनीमा राखिएका छन्। महोत्सवमा नेपालका ५० र भारतका १५० वटा स्टल छन्। रासस