काठमाडौं। एनआईसी एशिया बैंकले माघ १३ गतेदेखि ४ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्ने भएको छ। बैंकले सर्वसाधारणको लागि कुल निष्काशनको १६ लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ।
दश वर्षको लागि १० प्रतिशतका दरले प्रति ऋणपत्र एक हजार रुपैयाँको दरमा न्यूनतम २५ कित्ताको लागि आवदेन दिन सकिने धितोपत्र निष्काशन तथा बिक्री प्रवन्धक नेपाल एसबिआर्इ मर्चेन्ट बैंकिङले जनाएको छ। सर्वसाधारणले अधिकतम २० कित्तासम्मको लागि छिटोमा माघ १६ र पहिलो चरणमा बिक्री नभएमा ढिलोमा फागुन १३ गतेसम्म आवदेन दिन सक्नेछन्। बैंकले सर्वसाधारणको लागि निष्काशन गरिएको मध्ये ५ प्रतिशत अर्थात ८० हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्टाएको छ।
दश वर्षको अवधि रहेको यस ऋणपत्र आर्थिक वर्ष २०८५/८६ समाप्त हुनेछ। ऋणपत्रका लागि नेपाल धितोपत्र बोर्डबाट आस्वा सुविधा प्रदान गर्ने सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरुबाट पाइनेछ। बैंकले ऋणपत्रका लागि गराएको क्रेडिट रेटिङ अनुसार लो क्रेडिट रिस्क जनाउने 'केयर एनपि ए' प्राप्त गरेको छ।
बैंकले निष्काशन गर्ने लागेको यो चौथो ऋणपत्र हो। बैंकले यस भन्दा अगाडि ५ अर्ब ३३ करोड रुपैयाँ बराबरको तीन वटा ऋणपत्र निष्काशन गरेको थियो। अहिले ४ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गरेसँगै बैंकले ९ अर्ब ३३ करोड रुपैयाँको ऋणपत्र हुनेछ।
बैंकले सेवा विस्तार गर्ने क्रममा लगानी बढाउनको लागि ऋणपत्र निष्काशन गरिएको जनाएको छ। ऋणपत्र निष्काशनपछि बैंकको पूरक पूँजीकोष बृद्धि हुनेछ। बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा एक खर्ब ७५ अर्ब रुपैयाँ निक्षेप संकलन गरि एक खर्ब ४९ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ। ऋणपत्र निष्काशन सँगै बैंकको पूँजी कोष अनुपात थप फराकिलो हुनेछ।