काठमाडौं। अर्थमन्त्री डा. युवराज खतिवडाले आफू उदार भएर मात्र शेयर बजार नबढ्ने बताएका छन्। उनले सोमबार साँझ एक टेलिभिजन टकशोमा खरीदकर्ता पनि उदार हुँदा मात्रै शेयर बजार बढ्ने बताएका हुन्।
'अर्थमन्त्री मात्र उदार भएर भएन। क्रेता विक्रेताको ब्यवहार पनि उत्तिकै उदार हुनुपर्यो,' कान्तिपुर टेलिभिजनको कार्यक्रम फायरसाइडमा भुषण दाहालसँग कुराकानी गर्दै उनले भने, 'कसैले शेयर बेच्न खोज्यो भने किन्दिने पनि उदार भयो भने न मेरो उदारताले काम गर्ने हो। किन्दिने मान्छे नभएको स्थिति अथवा किन्ने मान्छेको क्षमता सीमित भएको स्थिति अहिले छ।'
अर्थमन्त्री खतिवडाले शेयर बजारका लागि पुस महिना सुख्खा हुने गरेकोसमेत बताए। उनले भने- सबै लाभांस अहिले बाँडिन्छ। माघ लागेपछि त केही हात लाग्दैन्। कुनै प्रतिफल आउँदैन। त्यसैले बजार घटेको हो।
उनले सरकारका तर्फबाट शेयर बजार बढाउनु पर्ने कुनै पनि उपाय बाँकी नरहेको पनि प्रष्ट पारे। खतिवडाले कार्यदलले दिएको सुझाब अनुसार सबै सुधारका कामको कार्यान्वयन भइसकेकोसमेत बताए।
'अहिलेको स्थितिमा शेयर बजारबाट लगानीकर्ताले पूँजी उठाउन खोज्नु भएको छ,' उनले भने, 'पूँजी उठाउन खोज्दा शेयरको आपुर्ति त बढ्छ। त्यो शेयरको आपूर्ति बढिरहँदा शेयर खरीद गर्नेहरुको खरीद क्षमता बढेन भने त्यहाँनेर मूल्यमा असर गर्ने कुरा हुन्छ।'
अर्थमन्त्री खतिवडाले खरीद गर्नेले आफ्नो बचतबाट नभइ बैंकको ऋणबाट खरीद गरेको रहेछ भने बैंक ब्याज बढ्दा निरुत्साहित भएको समेत प्रष्ट पारे।
'ब्याज दर अस्वभाविक रुपमा माथि गयो भनेर हामीले ब्याज दरलाई एकल अंकमा झार्ने ब्यवस्था मिलाएका छौं,' उनले भने, 'मार्जिन कल, शेयर धितोमा कर्जा, बैंकलाई ब्रोकर लाइसेन्सजस्ता बिषयहरुमा उदारता देखाएका छौं। अब मलाई लाग्दैन हामीले शेयर बजारमा गर्नु पर्ने सुधारहरु बाँकी छन्।'
उनले अनलाइन प्रणाली आएपनि त्यसलाई अझै ब्यवस्थित गर्न बाँकी रहेको बताए। शेयर बजारमा आपुर्ति बढिरहेकाले त्यसका लागि आवश्यक माग बढाउन शेयर बजार साक्षरता बढाउनतिर लाग्नुपर्ने बताए। 'शेयर बजारको साक्षरता बढाउनतिर लाग्यौं भने बजार उँभो लाग्छ,' उनले भने।