कारोबार भएका सबै समूहका परिसूचक घटेकाले आइतबार सेयर बजार परिसूचक नेप्से ओरालो छ। कारोबार रकम पनि अघिल्ला दिनहरुको तुलनामा कम छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार नेप्से ६.२४ अंकले घटेर ३६३.५३ कायम भएको छ।
गत बिहीबार नेप्से ४.२४ अंकले बढेको थियो। जलविद्युत समूहको परिसूचक सबभन्दा उच्च (९.८५) अंकले घटेको छ। यसलाई क्रमशः होटल, वाणिज्य बैंक, विकास बैंक, बजारकै ठूलो कम्पनी नेपाल टेलिकम सूचीकृत अन्य, बिमा र वित्त समूहले पछ्याएका छन्। उत्पादनमूलक र व्यापार समूहबाट यस दिन कुनैपनि कम्पनीको कारोबार भएन। स्टक एक्सचेन्जले सूचीकृत कम्पनीलाई ९ समूहमा विभाजन गर्दै आएको छ।
यस दिन एक हजार २ सय ८० कारोबारमा ३ करोड ४४ लाख तीन हजार रुपैयाँ बराबरका एक लाख २७ हजार ६ सय ३३ कित्ता सेयर किनबेच भएका छन्। गत बिहीबार एक हजार ४ सय ५५ कारोबारमा ५ करोड ७ लाख २८ हजार रुपैयाँ बराबरका एक लाख ९५ हजार एक सय ९९ कित्ता सेयर किनबेच भएका थिए। पछिल्लो १० महिनामा दैनिक ४ करोड लाख रुपैयाँ बराबरको कारोबार हुँदै आएको छ। गत वर्ष औसत दैनिक कारोबार रकम २ करोड ७५ लाख रुपैयाँ थियो।
आइतबार ७७ कम्पनीको कारोबार भएकोमा १३ कम्पनीको सेयर मूल्य बढेको ८ को यथावत रहेको र ५५ को घटेको स्टक एक्सचेन्जले जनाएको छ। स्टक एक्सचेन्जमा सूचीकृत हुने कम्पनीको संख्या बढे पनि कारोबार हुने कम्पनीको संख्या बढेको छैन्।
यस दिन धेरै (१११) पटक सेयर किनबेच हुने कम्पनी रारा विकास बैंक हो। धेरै रकम (४८ लाख ५४ हजार रुपैयाँ) को सेयर किनबेच हुने आधारमा एभरेस्ट बैंकले अग्रता लिएको छ। धेरै कित्ता (१७ हजार ७ सय ७०) सेयर किनबेच हुने आधारमा नेसनल हाइड्रोपावर कम्पनी अगाडि छ।
लुम्बिनी जनरल इन्स्योरेन्स, एचएन्डबी डेभलपमेन्ट बैंक, र प्रभु फाइनान्सको सेयर मूल्य यस दिन उच्च दरमा घटेको छ। फस्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक, जेनिथ फाइनान्स र कृषि विकास बैंक सेयर मूल्य उच्च दरमा बढ्ने कम्पनीको सूचीमा अगाडि छन्।
बजार पुँजीकरण ३ खर्ब ४३ अर्ब रुपैयाँ कायम भएको छ। यो अघिल्लो कारोबार दिनको भन्दा ६ अर्ब कम हो। बजार उचाइमा पुगेका बेला बजार पुँजीकरण ६ खर्ब १२ अर्ब रुपैयाँ थियो।