
काठमाडौं। सुनचाँदीको कारोबार मूल्य बढेको छ। सुनको भाउ बढेर तोलाको १ लाख ६० हजार रुपैयाँ पुगेको छ। अघिल्लो दिनको तुलनामा बुधबार सुन तोलामा १ हजार ९ सय रुपैयाँ बढेर कारोबार मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
यसअघि सोमबारका तुलनामा १ हजार १ सय रुपैयाँ बढ्दा मंगलबार प्रति तोला १ लाख ५८ हजार १ सय रुपैयाँ भएको थियो।
बुधबार चाँदीको मूल्यमा पनि बढोत्तरी छ। २० रुपैयाँले बढ्दा प्रति तोला १ हजार ८ सय ९५ रुपैयाँ पुगेको छ। अघिल्लो दिनको भन्दा १५ रुपैयाँ बढ्दा मंगलबार प्रति तोला १ हजार ८ सय ७५ रुपैयाँ भएको थियो।
अन्तर्राष्ट्रिय बजारमै सुनको कारोबार मूल्यमा एकै दिन उल्लेख्य बढोत्तरी छ, जसको असर स्थानीय बजारमा परेको हो। तर, यति बेला सुनको मूल्य बढ्नुपर्ने बलियो कारण नदेखिएको नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइली बताउँछन्।
अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्पले पदभार ग्रहणसँगै आर्थिक नीतिहरुमा परिवर्तन गर्ने संकेत देखिँदा सुनचाँदीको मूल्यमा असर परेको हुनसक्ने उनको अनुमान छ।
अन्तर्राष्ट्रिय बजारमा मंगलबार प्रति औंस २७२७.६७ डलरले कारोबार भएको सुनको मूल्य बुधबार बढेर प्रतिऔंस २७५१.४६ डलर पुगेको छ। चाँदी पनि प्रतिऔंस ३०.६१ डलरबाट बढेर ३०.९२ डलर पुगेको छ।