भन्सार छली रोक्न पर्सामा सशस्त्र प्रहरी सक्रिय, ६ महिनामा २१ करोडको सामान बरामद

बिजमाण्डू
२०८१ माघ ८ गते ०९:०२ | Jan 21, 2025
भन्सार छली रोक्न पर्सामा सशस्त्र प्रहरी सक्रिय, ६ महिनामा २१ करोडको सामान बरामद


काठमाडौं । पर्सामा सशस्त्र प्रहरीले चालु आर्थिक वर्षको ६ महिनामा २१ करोड २८ लाख २६ हजार मूल्य पर्ने सामान बरामद गरेको छ। यो पोहोरको यही अवधिभन्दा ६ करोड ६८ लाख ५३ हजार रुपैयाँ भन्दा बढी रकमको सामान बरामद गरिएको हो।

Tata
GBIME
NLIC

सशस्त्र प्रहरी बल, नेपाल नम्बर १३ गण हेडक्वाटरका गणपति राधेश्याम धिमालले चालु आर्थिक वर्षको ६ महिनामा भन्सार छली गरेर भित्र्याइएका २१ करोड रुपैयाँ बढीका सामान बरामद भएको जानकारी दिए।

‘सशस्त्र प्रहरीले सक्रियता बढाएसँगै अवैध चोरी पैठारी गरेर भित्रिने लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपार्टस्, खाद्यपदार्थ र किरानाका सामान बरामद हुने क्रम बढेको छ,’ उनले भने, ‘सशस्त्र प्रहरीले वीरगंज भन्सार नाकामा दुईवटा तालिमप्राप्त कुकुर पनि खटाएर जाँच गर्दै आइरहेको छ।’

सशस्त्र प्रहरी बलले चालु आर्थिक वर्षको ६ महिनामा १६ करोड ४७ लाख ४१ हजारको भन्सार छली गरेर भित्र्याइएका लत्ताकपडा, इलेक्ट्रोनिक्स सामान, हार्डवेयर, मोटरपार्टस्, खाद्यान्न पदार्थ र किराना सामान वीरगंज भन्सार कार्यालयमा बुझाएको जनाएको छ।

त्यस्तै सोही अवधिमा चार करोड ६० लाख ८५ हजार मूल्य पर्ने बिलबिजक नभएका सामान भने पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको जनाएको छ।

सशस्त्र प्रहरीले २०८०/८१ को ६ महिनामा भन्सार छली गरेर भित्र्याइएको चार करोड ७७ लाख मूल्यका सामान वीरगंज भन्सार कार्यालयमा बुझाएको थियो। २०८०/८१ को ६ महिनाकै अवधिमा बिलबिजक नभएका ९ करोड ८२ लाख ६९ हजारको सामान राजस्व अनुसन्धान कार्यालयमा बुझाएको थियो।

पर्सा जिल्लामा १०७ किलोमिटर सीमा क्षेत्र भारतसँग खुला रूपमा जोडिएको छ। रासस