
काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौं-तराई/मधेस द्रुतमार्ग सडक आयोजना अन्तर्गत विभिन्न स्थानहरूको हवाई तथा स्थलगत अवलोकन गरेका छन्।
राष्ट्रपतिले शुक्रबार लेनडाँडा तथा धेद्रेमा निर्माणाधीन सुरुङ मार्ग, पुल तथा स्लोप प्रोटेक्सनका साथै आयोजनाका विभिन्न
स्थानहरुको हवाई अवलोकन गरेका हुन्। प्रधानसेनापति अशोकराज सिग्देल पनि अवलोकनमा सहभागी थिए।
आयोजनालाई विभिन्न १३ वटा प्याकेजमा छ्ट्याइएकामा हाल निर्माणाधीन १२ वटा प्याकेजअन्तर्गत ७ वटा सुरुङमध्ये धेद्रे तथा लेनडाँडामा २ वटा सुरुङ छिचोलिई सकिएको छ।
महादेवटारस्थित सुरुङ मार्गको निर्माण कार्य ६५ प्रतिशत सम्पन्न भएको तथा चन्द्रामभिरस्थित सुरुङ निर्माण कार्य सुरु भएको आयोजनाले जनाएको छ। अन्य ३ वटा सुरुङको डिजाइन तथा पूर्वतयारीको कार्य भइरहेको छ।

आयोजनामा ८९ वटा पुल बनाउनुपर्नेमा हालसम्म जम्मा ५ वटा सम्पन्न भएका छन्। आयोजनाका अनुसार ८० वटा पुलको निर्माण कार्य भइरहेको छ।
आयोजनाको हालसम्म ३७.६० प्रतिशत भौतिक प्रगति भएको छ। यो आयोजना ४ वर्षमा सक्नेगरी नेपाली सेनाले २०७५ साउनमा जिम्मा लिएको थियो।