
काठमाडौं। नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइजी टोली सुदूरपश्चिम रोयल्सलाई प्रायोजन गर्ने भएको छ। नेपाल टेलिकम प्रतियोगितामा सुदूरपश्चिम रोयल्सको टेलिकम पार्टनरको रुपमा रहने भएको हो।
सुदूरपश्चिम रोयल्स र नेपाल टेलिकमबीच मंगलबार प्रायोजनसम्बन्धी समझदारी भएको छ। टेलिकमको केन्द्रीय कार्यालयमा भएको कार्यक्रममा टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल तथा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश खड्काले समझदारीपत्रमा हस्ताक्षर गरे।
कार्यक्रममा टेलिकमकी प्रबन्ध निर्देशक अर्यालले नेपालको खेलकुद क्षेत्रको वृहत्तर विकासका लागि नेपाल टेलिकमले सदैव योगदान दिँदै आएको बताइन्। नेपाली क्रिकेटसँग लामो समयदेखि जोडिइरहेको सन्दर्भ उल्लेख गर्दै उनले सुदूरपश्चिम रोयल्समार्फत एनपीएल २०८१ मा जोडिन पाउँदा खुशी लागेको बताइन्।
उनले एनपीएलमार्फत नेपाली क्रिकेटले नयाँ उचाई प्राप्त गर्ने र यो प्रतियोगिता नेपाली खेलकुद विकासक्रमकै महत्त्वपूर्ण कोशेढुङ्गाको रुपमा स्थापित हुने बताइन्।