
काठमाडौं। नेपाल टेलिकमको सेवा आइतबार पौने घण्टा ठप्प भयो। बिहान पौने ११ बजेदेखि साढे ११ बजेसम्म इन्टरनेट चलेन। फोनले पनि काम गरेन। यो अवधिमा टेलिकमको सबै सेवा ठप्प हुँदा ग्राहकले भोग्नुपरेको नोक्सानीको हिसाबकिताब छैन।
टेलिकमको सेवामा समस्या देखिएको यो पहिलो पटक होइन। यसअघि पनि सेवा प्रभावित भएका उदाहरण धेरै छन्। तर, टेलिकम व्यवस्थापन प्राविधिक समस्या भनेर पन्छिंदै आएको छ। आइतबार पनि टेलिकमले प्राविधिक समस्या भन्दै पन्छियो। तर, यथार्थमा भने टेलिकमको सेवामा शनिबार राति साढे १० बजेदेखि नै ग्राहकहरुले समस्या भोग्दै आएका थिए। टेलिकमका प्राविधिकहरुले समस्या समाधान नगर्दै पटकपटक बल्झिएको थियो। त्यसपछि आइतबार बिहान भने करिब ४५ मिनेट टेलिकमको सेवा ठप्प भएको थियो।
टेलिकमको सेवामा पटक पटक समस्या दोहोरिएको पुरानो बिलिङ प्रणालीका कारण हो। ‘मुख्य समस्या हाम्रो बिलिङ प्रणालीमै हो। त्योबाहेक अरु कुनै कारण छैन। बिलिङ प्रणालीलाई अपग्रेड गर्नुपर्नेमा त्यसो नगर्दा सेवा नै प्रभावित बन्न पुग्यो। बिलिङ प्रणालीमा समस्या आउँदा फोनकल, मेसेज, डेटादेखि ल्यान्डलाइन, फाइबर तथा एडीएसएल सेवा बन्द भयो,’ टेलिकम स्रोतले बिजमाण्डूसँग भन्यो।
टेलिकमले गत साउन १७ गते मात्रै बिलिङ प्रणाली मर्मत गरेको थियो। साउन १७ गते राति ११ बजेदेखि ४ घण्टा टेलिकमको ब्यालेन्स रिचार्ज, प्याकेज खरिद तथा सोधखोजसम्बन्धी सेवा प्रभावित बनेको थियो। टेलिकमको सेवामा पटकपटक समस्या आउँदा नियामक भने मौन बस्छ।
नियामक नेपाल दूरसञ्चार प्राधिकरणका एक निर्देशकका अनुसार सेवा प्रदायकहरुको सेवामा अवरोध आउँदा चिठ्ठी काटेर स्पष्टीकरण सोध्ने गरिएपनि आइतबारको घटनामा भने कुनै कारवाही प्रक्रिया अघि बढेको छैन। सञ्चार मन्त्रालयका सचिव टेलिकमको अध्यक्ष हुने भएकाले पनि प्राधिकरण नेतृत्व टेलिकमलाई कुनै कारवाही गर्न सधैं हच्किने गरेको छ।
बिलिङ प्रणाली मर्मत गरेको भनिए पनि आइतबार फेरि लामो समयसम्म सेवा अवरुद्ध भयो। टालटुल गरेर थोत्रो बिलिङ प्रणाली चलाएका कारण सेवा अवरुद्ध भएको स्रोतको भनाइ छ। स्रोतका अनुसार टेलिकमको ९० प्रतिशत प्रणाली चिनियाँ कम्पनी हुवावेको छ।
कुनै पनि टेलिकम कम्पनीको सबैभन्दा महत्वपूर्ण अंगको रुपमा रहने बिलिङ पनि चिनियाँ कम्पनी एसिया इन्फोकै छ। स्रोतका अनुसार बिलिङमा समस्या आएपछि टेलिकमका कर्मचारीले मर्मतका लागि भेन्डरलाई गुहार्नुपर्ने अवस्था छ। ‘कुनै समस्या आउनेवित्तिकै टेलिकमले भेन्डरका कर्मचारी गुहार्ने अवस्था छ,’ स्रोतले भन्यो।
एसिया इन्फोको बिलिङ प्रणाली विश्वभरबाट हटिसकेको छ। त्यही कारण नेपालबाहेक अरु ठाउँमा एसिया इन्फोको अफिस बन्द भइसकेका छन्। संसारभरी हटिसकेको प्रणाली र नेपालमा कमजोर कार्यसम्पादन हुँदा पनि टेलिकमको नेतृत्वलाई रिझाएर बिलिङलाई निरन्तरता दिने पक्षमा कम्पनी छ।
पुरानो बिलिङका कारण पटकपटक सेवा अवरुद्ध हुने समस्या भोगिरहेको टेलिकमले छिटो नयाँ बिलिङमा जान ठेक्कालाई फास्ट ट्र्याकमा लैजानुपर्नेमा उल्टै घुमाउने काम गरिरहेको छ।
टेलिकमले गत चैत १८ गते नयाँ बिलिङ प्रणाली किन्न भन्दै टेन्डर आह्वान गरेको थियो। तर, टेलिकम नेतृत्वकै चाहनाअनुरुप टेन्डरलाई जानीबुझी विवादित बनाउने काम भयो। डलरको चार वर्ष अघिको पुरानो भाउ राखेर टेलिकमले ठेक्का निकालेपछि भेन्डरहरु प्रस्ताव हाल्नै हच्किए। जसका कारण चारपटकसम्म ठेक्काको म्याद थपियो। विवादित भए पनि चिनियाँको पकडमा रहेको टेलिकमको बिलिङ प्रणाली खरिदको ठेक्कामा अमेरिकी कम्पनी सिएसजीले मात्रै प्रस्ताव हाल्यो। बिलिङ प्रणालीबाट चिनियाँलाई हटाउन खोजिएपछि टेलिकम भूराजनीतिक लडाईंको तारो बन्यो।
बिलिङ प्रणालीमा नयाँ प्लेयर छिर्न नदिन जानाजान विवादित बनाइएको ठेक्का टेलिकमले असोज २२ गते अन्तत: रद्द गर्यो। त्यसपछि प्रबन्ध निर्देशक संगीता पहाडी अर्यालले बिलिङ प्रणाली खरिदको टेन्डर रिभ्यू गर्ने भन्दै १६ जनाको जम्बो टोली गठन गरेकी छन्। जसले आफ्नो अध्ययन सकेर प्रतिवेदन बुझाउनै ६ महिनाभन्दा बढी लगाउने निश्चित छ। यी सबै हर्कत एसिया इन्फोकै बिलिङ प्रणालीलाई निरन्तरता दिने दाउ भएको स्रोत बताउँछ।
‘जसरी हुन्छ एसिया इन्फोकै बिलिङ प्रणालीलाई टेलिकममा टाँसिरहने हो। नयाँ बिलिङ खरिद गर्न खोजेको भन्ने देखाउने, त्यसलाई विवादित बनाउने अनि फेरि आफैं रद्द गरेर जम्बो मूल्यांकन समिति बनाउने। यो सबै नयाँ टेन्डरलाई टुंगोमा नपुर्याइ धकेलिरहने चाल हो। यसैको कारण आइतबार सेवा अवरुद्ध हुँदा टेलिकमसँगै त्यसका उपभोक्तालाई घाटा पुग्यो,’ स्रोतले भन्यो।