
काठमाडौं। नेपाल टेलिकमको कुल आयमा गिरावट आएको छ। आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा टेलिकमको कुल आय ५.४९ प्रतिशतले घटेको हो।
पहिलो त्रैमासमा टेलिकमले १० अर्ब ६ करोड ३७ लाख ३५ हजार रुपैयाँ कुल आय आर्जन गरेको छ। गत आवको सोही अवधिमा कम्पनीको कुल आय १० अर्ब ६४ करोड ८७ लाख ९२ हजार रुपैयाँ थियो। कुल आय ५८ करोड ५० लाख ५७ हजार रुपैयाँले घटेको छ।
यस आवको पहिलो त्रैमासमा कम्पनीको खुद मुनाफा १ अर्ब ७३ करोड ९५ लाख ८९ हजार छ। गत आवको सोही अवधिमा कम्पनीको खुद मुनाफा २ अर्ब २ करोड ७४ लाख ३१ हजार रुपैयाँ थियो। खुद मुनाफामा २८ करोड ७८ लाख ४१ हजार अर्थात् १४.२० प्रतिशतले कमी आएको छ।
कम्पनीको प्रति सेयर आम्दानी ३८.६६ रुपैयाँ छ।
ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तर्राष्ट्रिय सेवाको तथा अन्तरआवद्धता आयमा गत आवको तुलनामा करिब १९ करोड ४२ लाख ४४ हजार रुपैयाँले कमी आएको टेलिकमले जनाएको छ। साथै, ओटीटी सेवाले कम्पनीको समग्र भ्वाइस/एसएमएस सेवाको आयमा नकारात्मक प्रभाव परिरहेको बताइएको छ।
राष्ट्रको संचार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेको कम्पनीले जानकारी दिएको छ।
सेवाको दररेट निर्धारणसम्बन्धी नीति तथा नियमहरू परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकूल असर परेको टेलिकमको भनाइ छ। सेवा संचालनका लागि आवश्यक ब्याण्डविथ विगत वर्षभन्दा कम दरमा खरिद गरिएको कारण सेवा संचालन खर्चमा कमी आएको कम्पनीले बताएको छ।