सुन महँगिएपछि घट्यो गहनाको माग, तिहार आउन लाग्दा व्यवसायीमा छैन उत्साह

सरला सुवेदी
२०८१ कात्तिक ८ गते १३:२७ | Oct 24, 2024
सुन महँगिएपछि घट्यो गहनाको माग, तिहार आउन लाग्दा व्यवसायीमा छैन उत्साह


काठमाडौं। सुनको भाउ लगातार बढेपछि बजारमा गहनाको माग घटेको छ। दिनदिनै मूल्य बढेर तोलाकै १ लाख ६६ हजार नाघेपछि गहनाको माग घट्न पुगेको हो। महँगो मूल्यका कारण तिहार आउन लाग्दा पनि सुनचाँदी व्यवसायीमा उत्साह देखिएको छैन।

Tata
GBIME

सामान्य अवस्थामा तिहार सुनचाँदी धेरै बिक्री हुने समय हो। खासगरी धनतेरसको दिन सुनचाँदी ठूलो परिमाणमा बिक्री हुन्छ। तिहारकै लागि भनेर नयाँ-नयाँ डिजाइनका गरगहना बनाएर राख्ने गरेका व्यवसायीहरू यसपालि माग नै नरहेको बताउँछन्। सुनचाँदीको मूल्य निरन्तर उकालो लाग्दा कारोबार घट्दै गएको छ।

महँगो मूल्यका कारण गहनाको माग नरहेकै कारण तिहारका लागि भनेर खासै तयारी नगरेको सुनचाँदी व्यवसायी बताउँछन्। नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाइलीले तिहारका लागि विशेष तयारी गर्ने अवस्था नरहेको बताए।

‘सुनको भाउ अत्यधिक महँगो भएका कारण गहना धेरै बनाएका छैनौं,’ रसाइलीले भने, ‘मूल्य छोइनसक्नु भएकाले अहिले गहनाको माग नै छैन। धनतेरसको दिनचाहिँ कारोबार बढ्ला कि भन्ने आस छ। तर बिगतका तिहारमा जस्तो कारोबार हुन्छ भन्ने विश्वास छैन।’

बजारमा माग नरहेका कारण बैंकहरूले एक महिनासम्म सुनको आयात नै गरेनन्। यो अवधिमा बैंकमा रहेको १८० किलो सुन व्यवसायीले किनेका छन्। जबकि तिनै व्यवसायीले दैनिक १० किलोले माग नधान्ने भन्दै कोटा बढाएर २० किलो पुर्‍याउन लगाएका थिए। बैंकसँग किनेको सुन व्यवसायीसँग स्टक छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका महासचिव धर्मरत्न बज्राचार्यले सुन महँगो भएकोले तिहारमा राम्रो कारोबार हुने विश्वासमा तयारी गर्ने अवस्था नरहेको बताए।

‘अत्यावश्यक परेबाहेक अहिले ग्राहकले सुन खरिद गरिरहेका छैनन्। त्यसैले अहिले तिहारका लागि भनेर धेरै गहना बनाएर राख्ने अवस्था छैन,’ उनले भने।

पोहोर तिहारमा सुनको मूल्य प्रति तोला १ लाख १५ हजार हाराहारी रहेकामा अहिले त्यसमा ५० हजारभन्दा बढी थप्नुपर्छ।

जेजे ज्वलर्सका संचालक पवन सोमानियाले पनि तिहारका लागि उत्साहित हुने स्थिति नरहेको बताए।

‘सुनको भाउ बढ्दै गएकाले ग्राहकले अहिले निकै कम परिमाणमा मात्र गहना खरिद गरिरहेका छन्। त्यसैले धेरै उत्साहित छैन। स्टकको सुन बिके त्यो नै उपलब्धि हुनेछ,’ उनले भने।