सुनको मूल्यमा दिनदिनै रेकर्ड, प्रति तोला २ हजार वृद्धि, चाँदीको भाउ पनि उकालो लाग्यो

बिजमाण्डू
२०८१ कात्तिक २ गते १०:५९ | Oct 18, 2024
सुनको मूल्यमा दिनदिनै रेकर्ड, प्रति तोला २ हजार वृद्धि, चाँदीको भाउ पनि उकालो लाग्यो


काठमाडौं। सुनमा उच्च मूल्यको कीर्तिमान दिनदिनै तोडिन थालेको छ। बिहिबार कायम भएको रेकर्ड भोलिपल्टै तोडिएको हो।

Tata
GBIME

दसैं बिदापछि लगातार उकालो लागेको सुनको भाउ शुक्रबार प्रति तोला २ हजार रुपैयाँ बढेर नयाँ उचाइमा पुगेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य प्रति तोला १ लाख ६४ हजार ४०० रुपैयाँ निर्धारण भएको जनाएको छ। दसैं बिदा सकिएपछि असोज २९ यता सुनको भाउ लगातार बढिरहेको छ।

दसैं बिदाअघि असोज २३ गते प्रति तोला १ लाख ५९ हजार १०० रुपैयाँ रहेको सुनको भाउ २९ गतेयता चार दिनमा ५ हजा ३०० रुपैयाँ बढिसकेको छ। बिहीबार तोलामा ६०० रुपैयाँ वृद्धि भएको थियो।

चाँदीको भाउ पनि लगातार उकालो लागिरहेको छ। चाँदीको मूल्य ३० रुपैयाँ बढेर प्रति तोला १ हजार ९८० रुपैयाँ पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा भाउ बढेका कारण नेपालमा पनि सुनचाँदी महँगिन पुगेको हो। बिहीबार प्रति औंस २६७९.५१ डलर रहेको सुनको शुक्रबार २७०९.९५ र चाँदीको भाउ ३१.६१ डलरबाट ३२.०२ डलर पुगेको छ।