काठमाडौं। साझा यातायातले काठमाडौंदेखि काभ्रेको साँगासम्म सेवा विस्तार गरेको छ। गत बिहीबारदेखि नै साझाका ६ वटा ठूला बसहरु साँगासम्म गुड्न थालेको हो।
दुर्इ साता अघि नै साझाका बस साँगासम्म चलाउनुपर्ने स्थानीय जनप्रतिनिधीहरुले माग गरेका थिए।
बिहीबार यातायात व्यवस्था विभागबाट रुट इजाजत पाएकै दिन साझा बस साँगासम्म पुगेको थियो।
साझा यातायातका २० वटा बस हाल भक्तपुर रुटमा सञ्चालनमा छन्।
लामो समयको पर्खाइपछि भक्तपुरमा गत जेठ १० बाट साझा यातायातले रुट इजाजत पाएको थियो ।
उक्त २० बसमध्ये ६ वटा बसका लागि साँगासम्मको रुट माग गरिएको थियो ।
रुट इजाजत प्राप्त भएलगत्तै साझाका ६ वटा बसले साँगासम्म सेवा दिन थालेको साझा यातायातका कार्यकारी प्रमुख महेन्द्रराज पाण्डेले बताए। उनले साझाका बस चढेर साँगाको फनपार्क पुगेकाहरुलार्इ केहि प्रतिशत छुट दिने विषयमा फनपार्क र साझा यातायातको बीचमा छलफल समेत चलिरहेको जानकारी दिए। सहमती भएमा साझा बस चढेर गएको टिकट देखाए फन पार्कमा केहि प्रतिशत छुट हुने कार्यकारी प्रमुख पाण्डेको भनाइ छ।
अब साझा यातायातका ६ ठूला बस स्वयम्भूदेखि कलङ्की हुँदै रविभवन-सोल्टीमोड-कालीमाटी-टेकु-त्रिपुरेश्वर-रत्नपार्क-शहिदगेट-थापाथली-माइतीघर-बबरमहल-नयाँ बानेश्वर-कोटेश्वरबाट भक्तपुरको नयाँबाटो हुँदै सुर्यविनायक पुग्नेछ। सुर्यविनायक पुगेकै बसमध्ये ६ वटा बस भने काभ्रेको सागाँसम्म पुग्नेछन्।
साझाका सोही रुट मार्फत फर्किदै माइतीघर-सिंहदरबार-पुतलीसडक-कमलादी हुँदै घण्टाघरबाट पुरानो बसपार्क हुँदै पुन: सोही रुट कलङ्की निस्किएर स्वयम्भु पुग्नेछन्।अहिले साझा यातायातका ४६ वटा बस उपत्यकाभित्र तथा ४२ वटा बस उपत्यका बाहिर सञ्चालनमा रहेका छन्।