सर्वाधिक कमाउने १० खेलाडीमध्ये आधा फुटबलर, कति छ रोनाल्डोको कमाइ ?

बिजमाण्डू
२०८१ जेठ ८ गते ०६:१६ | May 21, 2024
सर्वाधिक कमाउने १० खेलाडीमध्ये आधा फुटबलर, कति छ रोनाल्डोको कमाइ ?


विश्वमा सर्वाधिक कमाइ गर्ने खेलाडीको सूचीमा फुटबलर सबैभन्दा अगाडि देखिएका छन्को। फोर्ब्स को पछिल्लो रिपोर्टअनुसार सर्वाधिक कमाइ गर्ने शीर्ष १० खेलाडीको सूचीमा पाँच जना फुटबलर छन्।

Tata
GBIME
NLIC

त्यस्तै यो सूचीमा बास्केटबलका तीन तथा अमेरिकन फुटबल र गल्फका एक-एक खेलाडी छन्। सूची बमोजिम शीर्ष १० मा रहेका लियोनल मेस्सी लगायत तीन खेलाडीले मैदानमा खेलेरभन्दा अन्य स्रोतबाट बढी कमाउँछन्।

रिपोर्टअनुसार पछिल्लो वर्ष सबैभन्दा धेरै कमाइ गर्ने खेलाडी हुन् पोर्चुगिच फुटबल स्ट्राइकर क्रिस्टियानो रोनाल्डो। उनको कमाइ २६० मिलियन अमेरिकी डलर (करिब ३५ अर्ब रुपैयाँ) छ। उनले खेलबाट २ सय मिलियन डलर (करिब २६ अर्ब ५० करोड रुपैयाँ) र अन्य स्रोतबाट ६० मिलियन डलर (८ अर्ब रुपैयाँ) कमाएका हुन्।

अघिल्लो सिजन साउदी अरब पुगेका उनी आफ्नो करिअरमा चौथो पटक सर्वाधिक कमाउने खेलाडीको शीर्षस्थानमा पुगेका हुन्। अल नासरबाट वार्षिक २ सय मिलियन डलर कमाउने उनी ठूला प्रायोजकहरुका पनि एम्बेस्डर छन्। इन्स्टाग्रममा ६२९ मिलियन फलोअर्स भएका उनी नाइक, हर्बालाइफ, क्लियर हेयरकेयर, वुफलगायत ब्राण्डहरुसँग जोडिएका छन्।

सूचीको दोस्रो स्थानमा स्पेनका गल्फर जोन रहम छन्। खेलबाट १९८ मिलियन डलर (२६ अर्ब २५ करोड रुपैयाँ) कमाएका उनले त्यसबाहेक २० मिलियन डलर (२ अर्ब ६५ करोड रुपैयाँ) आर्जन गरेका छन्।

लियोनल मेस्सी सूचीको तेस्रो नम्बरमा छन्। अर्जेन्टिनी फुटबल कप्तान मेस्सीले हाल अमेरिकामा फुटबल खेलिरहेका छन्। क्लबबाट ६५ मिलियन डलर (८ अर्ब ६५ करोड रुपैयाँ) बुझ्ने उनले अन्य स्रोतबाट ७० मिलियन डलर (९ अर्ब ३० करोड रुपैयाँ) कमाएका छन्।

मेस्सीको ट्रान्सफरले इन्टर मियामीको मार्केट भ्यालु ह्वात्तै बढेको रिपोर्टले देखाएको छ। उनी एडिडास, एप्पल, कोनामीलगायत ठूला ब्राण्डहरुसँग जोडिएका छन्। हालै स्पोर्ट्स ड्रिंकका लागि उनले ह्वाइट क्ल हार्ड सेल्टजरसँग साझेदारी गर्ने रिपोर्ट सार्वजनिक गरिएको थियो।

यो सूचीको चौथो स्थानमा बास्केटबल खेलाडी अमेरिकाका लेब्रोन जेम्स र पाँचौं स्थानमा ग्रीसका जियानिस एनटेटोकोउनएम्पो छन्। जेम्सले ४८.२ मिलियन डलर (६ अर्ब ४० लाख रुपैयाँ) खेलबाट र अन्य स्रोतबाट ८० मिलियन डलर गरी कुल १२८.२ मिलियन डलर (१७ अर्ब रुपैयाँ) बढी कमाएका छन्।

त्यस्तै २९ वर्ष जियानिसको कूल कमाइ १११ मिलियन डलर (१४ अर्ब ७२ करोड रुपैयाँ) छ। उनी नाइक, पेप्सी लगायत ब्राण्डसँग जोडिएका छन्। मेस्सी, जेम्स र जियानिसले मैदानमा भन्दा बाहिर धेरै आम्दानी गरेको देखिन्छ।

सूचीको छैटौं, सातौं र आठौं स्थानमा तीन जना फुटबल स्टार छन्। छैटौं स्थानमा किलियन एम्बाप्पे, सातौं स्थानमा नेइमार जुनियर र आठौं स्थानमा करिम बेन्जेमा छन्।

फ्रेन्च स्ट्राइकर एम्बाप्पेले ११० मिलियन डलर (१४ अर्ब ६१ करोड रुपैयाँ) कमाएका छन्। उनले खेलबाट ९० मिलियन डलर (११ अर्ब ९५ करोड) र अन्य स्रोतबाट २० मिलियन डलर (२ अर्ब ६४ करोड रुपैयाँ) कमाएका छन्। २५ वर्षीय एम्बाप्पेले एनबीएसँग काम गर्न प्रोडक्सन कम्पनीमा लगानी गरेका थिए। उनी नाइक, हल्ब्लोट, ओएक्लीजस्ता कम्पनीसँग पनि जोडिएका छन्।

ब्राजिलियन फुटबलर नेइमार १०८ मिलियन डलर (१४ अर्ब ३५ करोड रुपैयाँ) कमाइसहित सातौं स्थानमा छन्। उनले साउदी क्लब अल हिलालबाट ८० मिलियन डलर (१० अर्ब ६३ करोड रुपैयाँ) बुझ्दा अन्य स्रोतबाट २८ मिलियन डलर (३ अर्ब ७२ करोड रुपैयाँ) बुझेका छन्।

चोटका कारण उनी प्राय: मैदानबाहिरै छन्। पछिल्लो पटक अक्टोबर महिनामा विश्वकप छनोट खेल्दा भएको एसीएल इन्ज्युरीले साउदी प्रो-लिग र एएफसी च्याम्पियन्स लिगमा उनले पाँच खेलमात्र खेले। इन्ज्युरीपछि उनले पुमासँग मिलेर फुटबल बुट लन्च गरे। साथै अन्य फन ब्रान्डहरुसँग काम गरे।

सूचीको आठौं स्थानमा रहेका ३६ वर्षीय फ्रेन्च खेलाडी करिम बेन्जेमाले मैदानबाट १०० मिलियन डलर र अन्य स्रोतबाट ६ मिलियन डलर कमाएका छन्। यो भनेको करिब १४ अर्ब रुपैयाँ हो। सन् २०२२ मा उत्कृष्ट खेलाडीले पाउने अवार्ड बालन डीओर जितेका उनी रियल मड्रिडबाट फ्रि एजेन्टका रुपमा साउदी प्रो-लिग क्लब अल इत्तिहाद पुगेका थिए।

बास्केटबलका स्टेफेन कुरे १०२ मिलियन डलर (१३ अर्ब ५५ करोड रुपैयाँ) कमाइसहित सूचीको नवौं स्थानमा छ। अमेरिकी बास्केटबल खेलाडी कुरेले मैदानमा ५२ मिलियन डलर र अन्य स्रोतबाट ५० मिलियन डलर हात पारेका छन्।

१० औं नम्बरमा अमेरिकन फुटबल खेलाडी लामर ज्यक्सन छन्। २७ वर्षिय उनले मैदानबाट ९८.५ मिलियन र बाहिरबाट २ मिलियन गरी कुल १००.५ मिलियन डलर (१३ अर्ब ३५ करोड रुपैयाँ) कमाएका हुन्।

सबैभन्दा धेरै कमाउने खेलाडीको पूरा सूची हेर्न यहाँ क्लिक गर्नुहोस्।