
काठमाडौं । उपप्रधान एवम् गृह मन्त्री रवि लामिछानेको राजीनामा माग्दै नेपाल विद्यार्थी संघले आज काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।
माइतीघरमा जम्मा भएर बानेश्वरसम्म नेविसंघले आज विरोध र्याली निकालेको हो। त्यसक्रममा उनीहरुले लामिछानेको राजीनामा माग्दै संसदीय समिति बनाउनुपर्ने माग गरेका थिए।



यस्तै, उनीहरुले गिरीबन्धु टि इस्टेट मुद्दामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको संलग्नता रहेको भन्दै प्लेकार्ड बोकेका थिए। नेविसंघले ओलीलाई ‘बा’ र लामिछानेलाई ‘छोरा’ भन्दै विरोध जनाएका थिए।
सहकारी ठगीमा नाम मुछिएपछि कांग्रेसले लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको छ। सत्तारुढ दल समिति गठनमा सहमत नहुँदा कांग्रेसले भातृ संगठनलाई सडकमा उतार्ने निर्णय गरेको थियो।

हाल कांग्रेसहितको विपक्षी दल र सत्तारुढ दलबीच समिति गठनमा सहमति भइसकेको छ। तर, समितिको कार्यदेशमा भने सहमति नहुँदा संसद अझै संचालन हुन सकिरहेको छैन।

कांग्रेसको मागअनुसार नै कार्यदेश बनाउन सत्ता गठबन्धन अझै तयार भएको छैन। कांग्रेस पनि आफ्नो अडानबाट पछि हट्ने मुडमा छैन।







