काठमाडौं।सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान सार्न अध्ययन सुरु गरेको छ।
एयर ट्राफिक बढी हुँदा आकाशमै जहाजले फन्को मारेर बस्नुपर्ने बाध्यता आएपछि सरकारले अन्तर्राष्ट्रिय विमानस्थलबाट हटाएर छुट्टै आन्तरिक विमानस्थल बनाउन अध्ययन थालेको हो।पर्यटन मन्त्रालयले काभ्रेपलाञ्चोक जिल्लामा नयाँ आन्तरिक विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न नेपाल नागरिक उड्ययन प्राधिकरण (क्यान)लाई निर्देशन दिइसकेको छ।
पर्यटनमन्त्री दिलनाथ गिरीले यसअघि सामान्य अनुसन्धान भएको काभ्रेको ठूलेचौरमा आन्तरिक विमानस्थल निर्माणको लागि अध्ययन गर्न निर्देशन दिएका हुन्।दुई बर्ष अघि पर्यटन मन्त्राययको एक टोलीले उक्त स्थानको अध्ययन गरेको थियो। मन्त्रालयले ६ सदस्यीय सर्वेक्षण कार्यदल गठन गरेको थियो।
कार्यदलले दिएको प्रतिवेदनका आधारमा विमानस्थलको स्थान तय गरी निर्माण प्रक्रिया अगाडि बढाउने भनिएपनि भूकम्प गएका कारण सवै काम रोकिएको प्राधिकरणका प्रवक्ता वीरेन्द्र श्रेष्ठले बताए।उनका अनुसार त्यही स्थानको विस्तृत अध्ययन गर्न टोली पठाइनेछ।' विमानस्थल निर्माणका लागि केही स्थान सार्नुपर्ने देखिएको छ।' श्रेष्ठले भने 'स्थानीयको धारणा बुझेपछि काम अगाडि बढ्छ।'
प्राधिकरणले सो स्थानमा एरोनटिकल अध्ययन गर्दा उपयुक्त देखिएको उनले बताए। 'यो भन्दा अगाडि ३/४ ठाउँमा अध्ययन गर्दा कुनैपनि बाधा नपुग्ने देखियो' श्रेष्ठले भने 'सिङ्गै डाँडोलाई सम्याएर एयरपोर्ट बनाउनुपर्ने भएकोले विमानस्थल बनाउन भने ठूलो लगानी आवश्यक पर्छ।त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बाह्य उडानका लागि मात्र प्रयोग गर्ने र आन्तरिकका सबै उडान काठमाडौंवाट सार्नु उपयुक्त हुनेछ।
यसअघि पाँचखालमा पनि सामान्य अध्ययन भएको थियो। तर होचो हुन सक्ने भन्दै बनेपाको नागीडाँडा स्थित ठूलेचौरमा १२ सय मिटरको एउटा डाँडो भत्काएर विमानस्थल बनाउन सकिने बताइएको थियो। पर्यटन सचिव शंकरप्रसाद अधिकारीले अब चाँडै विस्तृतको अध्ययन गरेर निर्माण गर्ने वा नगर्ने टुंगोमा पुगिने बताए।
उनले भने 'पर्वतीय उडान गर्ने आन्तरिक वायुसेवालाई काठमाडौं नजिकै स्थानान्तरण गर्न सक्यौं भने अहिलेको हवार्इ ट्राफिक ४५ प्रतिशत जति कम हुन्छ।' छुट्टै विमानस्थलमा साना जहाजहरु ट्वीनअटर, ड्रोनियर, लेट एयरक्राफ्ट, हेलिकप्टर स्थानान्तरण गरे त्रिभुवन विमानस्थलमा जहाजको भीड घट्छ।'