
आज इस्लाम धर्मावलम्बीहरुले इद उल फित्र मनाइरहेका छन्। सरकारले यस अवसरमा आज देशभर सार्वजनिक बिदा पनि दिएको छ।
इस्लाम धर्मावलम्बीहरुको महान् पर्व रमजान मुबारक महिना आजदेखि पूरा भएको छ। एक महिनासम्म सञ्चालन भएको रोजामा मुसलमानहरु दिनमा निराहार बस्छन्। रोजा बस्न मुसलमानहरुले उर्दू क्यालेण्डरअनुसार सूर्योदय हुनुभन्दा पहिलेअर्थात् बिहानको नमाज पढ्नुअगावै केही खानेकुरा खाई प्रारम्भ हुन्छ भने बेलुकाको नमाज (मगरिब) को आजान सुनेपछि रोजा खोल्ने चलन छ।

इस्लाम धर्मावलम्बीहरुले रमजान महिनाको ३० दिनको ‘रोजा’ व्रत पूरा गर्दै आज ‘इद उल फित्र’ मनाइरहेका छन्। ‘इद उल फित्र’को नमाज मुस्लिमहरुले कोही मस्जिदमा त कोही ‘इदगाह’मा सामूहिक भेला भएर दुई रिकात नमाज पढेर यो पर्व सम्पन्न गर्छन।
नमाज पूरा गरेपछि एकले अर्कालाई अंकमाल गरेर बधाई साटासाट गर्छन् भने घरमा गएर विभिन्न परिकार बनाएर खाने गर्दछन्। रमजान महिना उर्दू क्यालेण्डरअनुसार नवौँ महिना हो।

नेपालमा पनि आज बिहानैदेखि मुस्लिम समुदायका मानिसहरु मस्जिद पुगेर नमाज पढिरहेका छन्। काठमाडौंको घण्टाघरमा रहेको कास्मिरी तकिया जामे मस्जिदमा पर्वको विशेष रौनक देखियो। बिहानै देखि नमाज पढ्ने र एकअर्का अंकमाल गर्दै शुभकामना आदानप्रदान गर्नेको घुँइचो थियो।


यो पर्वको ७० औँ दिनमा बकरिदअर्थात् ‘इदउलअजहा’ पर्व मनाउने गर्दछन्।







