विराटनगर ।विराटनगर उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७४/७५ का लागि एक अर्ब ८९ करोड ६३ लाखको अनुमानित आयव्यय विवरण सार्वजनिक गरेको छ ।
स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जबेगुले बिहिबार उपमहानगरपालिकाको बजेट सार्वजनिक गरेका हुन् ।उपमहानगरका कार्यकारी अधिकृत दीपक कोइरालाले उपमहानगरपालिकातर्फ ८४ करोड ६३ लाख ६१ हजारको बजेट रहेको जानकारी दिए ।त्यस्तै एसियाली विकास बैङ्कद्वारा सञ्चालित वातावरणीय सुधार परियोजना र क्षेत्रीय शहरी विकास परियोजनातर्फ एक अर्ब ५ करोड रुपैयाँको बजेट छ ।
आन्तरिक स्रोतबाट २७ करोड १४ लाख ४० हजार,सरकारको सशर्त अनुदानबाट ४३ करोड ७० लाख, निःशर्त अनुदानबाट छ करोड ५३ लाख ३० हजार र विभिन्न दातृ निकायबाट ८४ लाख प्राप्त गरिनेछ ।अधिकृत कोइरालाका अनुसार नगर विकास कोष ऋण सहयोगबाट पाँच करोड र जनसहभागिताबाट एक करोड ६१ लाख आय आर्जन गरिने लक्ष्य राखिएको छ ।
परियोजनातर्फ विनियोजित कुल बजेटको ९३ प्रतिशत नेपाल सरकारबाट अनुदानबापत प्राप्त हुनेछ भने सात प्रतिशत नगरपालिकाले समपूरक कोषबापत ब्यहोरिने गरी अनुमान गरिएको छ । आर्थिक वर्ष २०७४७/५ मा विनियोजित कुल खर्च एक अर्ब ८९ करोड ६३ लाखमध्ये नगरपालिकातर्फको चालु खर्चका लागि १७ करोड ४५ लाख विनियोजन गरिएको छ । उक्त विनियोजन कुल अनुमानको २० दशमलव ६२ प्रतिशत हो । साथै सामाजिक सुरक्षा भत्ताका लागि १५ करोड अर्थात् १७ दशमलव ७२ प्रतिशत छुट्याइएको छ ।
त्यसैगरी भौतिक पूर्वाधार निर्माणका ४४ करोड ९१ लाख ७८ हजार अर्थात् ५३ प्रतिशत र वातावरण तथा सरसफाइका लागि दुई करोड ५१ लाख अर्थात् तीन प्रतिशत बजेट राखिएको छ ।उपमहानगरपालिकाले सामाजिक विकास कार्यक्रमका लागि चार करोड ७५ लाख ५० हजार अर्थात् पाँच दशमलव ६२ प्रतिशत छुट्याएको अधिकृत कोइरालाले बताए ।