अन्तर्राष्ट्रिय कम्पनीले पनि भने-‘मानवीय त्रुटिले यती एयरलाइन्सको जहाज दुर्घटना’

वसन्तराज उप्रेती
२०८० मंसिर २२ गते १६:५६ | Dec 8, 2023
अन्तर्राष्ट्रिय कम्पनीले पनि भने-‘मानवीय त्रुटिले यती एयरलाइन्सको जहाज दुर्घटना’


काठमाडौं। यती एयरलाइन्सको जहाज मानवीय त्रुटिका कारण दुर्घटनामा परेको जहाजसँग सम्वद्ध अन्तर्राष्ट्रिय कम्पनीहरुले पनि ठहर गरेका छन्।

Tata
GBIME
NLIC

१० महिनाअघि पोखरामा यतीको जहाज दुर्घटनामा परेको थियो। दुर्घटनामा ७२ जनाको निधन भएको थियो। प्रारम्भिक जाँचबाट आएको प्रतिवेदनको मस्यौदा हेरेर ती कम्पनीले मानवीय कारणले दुर्घटना भएको प्रतिक्रिया दिएका हुन्।

पर्यटन मन्त्रालय स्रोतका अनुसार केही दिनअघि मात्रै ती कम्पनीहरुले आफ्नो आधिकारिक धारणा पठाएका हुन्। त्यो प्रतिक्रियापछि एक साताभित्रै मन्त्रालयले दुर्घटना सम्वन्धि अध्ययन प्रतिवेदन सार्वजनिक गर्दैछ।

मन्त्रालयका अनुसार फ्रान्सको जहाज उत्पादक कम्पनी एटिआर, फ्रान्सकै ब्यूरो अफ इन्क्वाइरी एण्ड एनालाइसिस फर सिभिल एभिएसन सेफ्टी, क्यानडाको इन्जिन उत्पादक कम्पनी प्राट एण्ड व्हिट्नी र सिंगापुरको अनुसन्धान संस्था ट्रान्सपोर्ट सेफ्टी इन्भेष्टिगेसन ब्यूरोले मानवीय त्रुटिकै कारण जहाज दुर्घटना भएको ठहर गरेका हुन्। यी सबै दुर्घटना भएका जहाज उत्पादक कम्पनीसँग सम्वन्धित कम्पनी र केही स्वतन्त्र अध्ययन संस्थाहरु हुन्।

‘प्रारम्भिक जाँच निरिक्षण अनुसार मानवीय त्रुटिका कारण दुर्घटना भएको निष्कर्ष थियो। मन्त्रालयले तयार गरेको प्रतिवेदनमा यी निकायहरुले सहमति जनाएका छन्। यो सहमतिसँगै प्राविधिक कारणले भन्दा पनि मानवीय त्रुटिका कारण जहाज दुर्घटनाग्रस्त भएको स्पस्ट भएको छ ,’ मन्त्रालयका एक उच्च अधिकारीले बिजमाण्डूसँग भने,’हामी एक साताभित्रै अन्तर्राष्ट्रिय कम्पनीको प्रतिक्रिया समेटेर प्रतिवेदन सार्वजनिक गर्नेछौं।’

दुर्घटना अनुसन्धानका लागि मन्त्रालयले गठन गरेको जाँचबुझ आयोगले फ्लाइट रेकर्डर र ककपिट भ्वाइस रेकर्डर ‘ब्ल्याक बक्स’ अध्ययनका लागि सिंगापुर पठाएको थियो।

ब्ल्याकबक्स अनुसन्धान अनुसार प्रारम्भिक विवरणबाट निष्कर्ष नआएपछि पर्यटन मन्त्रालयले गत जेठमा फ्रान्सको नागरिक उड्डयन सुरक्षा विश्लेषण विभागमा यो उपकरण परीक्षणका लागि पठाएको थियो। फ्रान्सबाट आएको अनुसन्धान प्रतिवेदनका आधारमा आयोगले मानवीय त्रुटिका कारण जहाज दुर्घटना भएको निष्कर्ष निकालेको थियो।

गत वर्ष माघ १ गते काठमाडौंबाट पोखरा उडान गरेको यती एयरलाईन्सको ९ एन-एएनसी कलसाइनको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै दुर्घटना भएको थियो। दुवै प्रोपेलर फेदरमा गएपछि दुवै इन्जिन फेल भएको थियो। यतीको जहाज दुर्घटना हुनु अघि पाँच सय फीटबाट ढुंगाजस्तै खसेको थियो। 

दुर्घटनापछि पूर्वसचिव नागेन्द्रप्रसाद घिमिरेको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गरेको थियो। आयोग सदस्यमा हवाइ विज्ञद्वय दीपकप्रकाश बास्तोला (अवकाशप्राप्त उपरथी) र सुनिल थापा (अवकाशप्राप्त क्याप्टेन) तथा हवाइ मर्मत इञ्जिनियर एकराजजंग थापा थिए भने सदस्यसचिवमा पर्यटन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने थिए।त्यो आयोगले दुर्घटनाको एक महिनापछि नै प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको थियो।