एमसीसीकी सीईओ अल्ब्राइट राजनीतिक भेटघाटमा व्यस्त, परियोजना कार्यान्वयनप्रति चासो

बिजमाण्डू
२०८० असोज १६ गते १४:४३ | Oct 3, 2023
एमसीसीकी सीईओ अल्ब्राइट राजनीतिक भेटघाटमा व्यस्त, परियोजना कार्यान्वयनप्रति चासो
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्‍ठ र एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइट। तस्वीर: गृहमन्त्रीको सचिवालय


काठमाडौं। एमसीसीकी प्रमुख कार्यकारी अधिकृत एलिस अलब्राइट राजनीतिक भेटघाटमा व्यस्त बनेकी छन्। उनले मंगलबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्‍ठसँग शिष्टाचार भेट गरेकी छन्।

Tata
GBIME
NLIC

अल्ब्राइइटले मंगलबार गृह मन्त्रालय पुगेर उपप्रधानमन्त्री श्रेष्ठसँग एमसीसी परियोजना कार्यान्वयनबारे चासो राखेकी छन्। उनलाई गृहमन्त्री श्रेष्ठले परियोजना कार्यान्वयनमा सरकार प्रतिबद्ध रहेको जवाफ दिएका छन्।

‘परियोजनाका लागि जग्गा अधिग्रहण गर्ने र समग्र सुरक्षाको प्रत्याभूति गराउने काममा गृह मन्त्रालय लागेको छ’, श्रेष्ठलाई उद्यृत गर्दै उनको सचिवालयले भनेको छ, ‘ सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले जग्गा अधिग्रहणमा सहजीकरण गरिरहेका छन्। परियोजनाको सुरक्षामा कुनै कमी हुन दिने छैनौं।’

एमसीसीकी सीईओ अल्ब्राइटले मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेकी थिइन्। उनले सोमबार काठमाडौं आएलगत्तै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला र ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत तथा प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेकी थिइन्।