प्राधिकरणको प्रतिशोधपूर्ण कदमले अप्ठेरोमा पर्दै यात्रु, आउजाउ झन्झटिलो, भाडा झनै महँगो

वसन्तराज उप्रेती
२०८० असोज १६ गते १५:२७ | Oct 3, 2023
प्राधिकरणको प्रतिशोधपूर्ण कदमले अप्ठेरोमा पर्दै यात्रु, आउजाउ झन्झटिलो, भाडा झनै महँगो


काठमाडौं। नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) को प्रतिशोधपूर्ण कदमको मार काठमाडौं-कोरिया आउजाउ गर्ने यात्रुले भोग्नुपर्ने भएको छ।

Tata
GBIME
NLIC

सरकारी ध्वजाबाहक नेपाल वायुसेवा निगमलाई कोरियाको नियमनकारी निकाय कोरिया अफिस अफ सिभिल एभिएसन (कोका)ले उडान अनुमति नदिएको प्रतिशोधमा क्यानले कोरियन एयरलाई उडान गर्न नदिने भएपछि यसको प्रत्यक्ष असर यात्रुलाई पर्ने भएको हो।

निगमले कोकाबाट उडानको अनुमति नपाएको प्रतिशोधमा क्यानले एक साताअघि कोरियन एयरको नेपालका लागि जीएसए युनिभर्सल ट्राभललाई टिकट बिक्री बन्द गर्न पत्र पठाएको थियो।

काठमाडौं-सिओल सिधा उडान गर्ने वायुसेवा कम्पनी कोरियन एयर मात्र हो। कोरियन एयरको उडानमा रोक लगाइएपछि रोजगारीका लागि कोरिया जान चाहने नेपाली श्रमिक र नेपाल घुम्न आउने कोरियन पर्यटक प्रत्यक्ष प्रभावित हुने छन्। सिधा उडान नरहेकाले एकातिर काठमाडौं-कोरिया आउजाउको समय लम्बिने छ भने अर्कातिर यात्रुले हवाइ भाडामा ठूलो रकम खर्च गर्नुपर्नेछ।

काठमाडौं-सिओल सिधा उडान दूरी ६ घण्टाको हो। तर अब विभिन्न देशलाई ट्रान्जिट बनाउनुपर्दा उडानमा २८ घण्टासम्म लाग्ने छ। यसअघि एकाधिकारका कारण कोरियन एयरको भाडा नै निकै महँगो रहेकामा सिधा उडान नभएपछि यात्रुले थप ६५ प्रतिशतसम्म बढी भाडा तिर्नुपर्ने छ।

‘कोरियन एयरको मनोपोलीले काठमाडौं-सिओलको भाडा महँगो थियो। तर सिधा उडान नभएपछि यात्रुले अब भाडा झनै महँगो तिर्नुपर्ने भएको छ। यस्तै ट्रान्जिटका कारण यात्रा झन्झटिलो हुने छ’, एक ट्राभल एजेन्सी सञ्चालकले भने, ‘सिधा उडान नहुँदा कोरियन पर्यटकको संख्या पनि घट्न सक्छ।’

नेपालमा सबैभन्दा धेरै पर्यटक आउने देशको सूचीमा कोरिया १० नम्बरभित्र पर्छ। सेम्टेम्बर महिनामा २ हजार १८ जना कोरियन नेपाल घुम्न आएको सरकारी तथ्यांक छ। नेपालबाट कोरियामा वार्षिक १५ देखि २० हजार श्रमिक रोजगारीका लागि जाने गरेका छन्। उनीहरुलाई लक्षित गरी कोरियन एयरले सातामा ५ वटा उडान गर्दै आएको छ।

मलेसिया एयरलाइन्सले क्वालालाम्पुरलाई ट्रान्जिट बनाएर कोरियामा उडान गर्छ। तर ट्रान्जिटका कारण काठमाडौंबाट कोरिया पुग्न २८ घण्टा लाग्छ। यस्तै कतार एयरवेजले दोहालाई ट्रान्जिट बनाएर काठमाडौं-कोरिया उडान गर्छ। यो उडानको भाडा २ लाख ४२ हजार रुपैयाँ छ।

कतार एयरवेजले आगामी नोभेम्बर २ देखिका लागि एकतर्फी भाडा २ लाख ४२ हजार रुपैयाँ तोकेर काठमाडौं-कोरिया उडानका लागि बुकिङ खुला गरेको छ। एयर इण्डियाले दिल्लीलाई ट्रान्जिट बनाएर गर्ने काठमाडौं-कोरियाको भाडा १ लाख ९५ हजार रुपैयाँ छ।

आउँदो नोभेम्बर २ का लागि विभिन्न वायुसेवा कम्पनीले निर्धारण गरेको भाडादर

वायुसेवा कम्पनीको नामट्रान्जिट उडान दूरीट्रान्जिट गन्तव्यइकोनोमी क्लासअन्तर्गत भाडादर (नेपाली रुपैयाँ)
चाइना इस्टर्न१८ घण्टासांघाइ६९,०२७
मलिन्दो एयर१३ घण्टाक्वालालाम्पुर७७,०००
क्याथे प्यासिफिक२० घण्टादिल्ली-हङकङ१,१३,०८३
एयर इण्डिया१५ घण्टादिल्ली१,९५,०००
मलेसिया एयरलाइन्स२८ घण्टाक्वालालाम्पुर१,२९,०००
कतार एयरवेज२० घण्टादोहा२,४२,२१२
कोरियन एयर६ घण्टा१,४७,०००

समयका हिसाबले लामो, महँगो र झन्झटिलो हुने भएकाले यात्रुले सकेसम्म ट्रान्जिट उडान चाहँदैनन्। विभिन्न एयरलाइन्सले अहिले विभिन्न देशलाई ट्रान्जिट बनाएर काठमाडौं-कोरियामा गरिरहेको उडानमा पनि यात्रुको खासै चाप छैन।

थाइ एयरवेजको आधिकारिक टिकट बिक्रेता कम्पनी सोसाइटी इन्टरनेसनलका एक कर्मचारीले थाइल्यान्डलाई ट्रान्जिट बनाएर नेपालबाट कोरिया जानेको संख्या निकै कम रहेको बताए। ‘ट्रान्जिट समय विमानस्थलको चाप अनुसार निर्धारण हुन्छ। नेपालबाट थाइल्यान्डलाई ट्रान्जिट बनाएर कोरिया जानेको संख्या निकै न्यून छ।’

नागरिक उड्डयनका जानकारहरुले क्यानको कदमलाई ‘केटाकेटीपन’को संज्ञा दिएका छन्। ‘सिधा उडानमा प्रतिस्पर्धा गराएर यात्रुलाई सहजरुपमा सस्तो भाडामा आउजाउ गर्ने वातावरण बनाउन छोडेर क्यान प्रतिशोधमा उत्रिंदा झन गलत सन्देश गएको छ। नियमनकारी निकायले यस्तो कदम चाल्न सुहाउँदैन। क्यानले उडान सुरक्षा हेर्ने हो’, क्यानका एक पूर्वमहानिर्देशकले बिजमाण्डूसँग भने।

नेपाल र कोरियाबीच २००४ सेप्टेम्बर ४ मा भएको द्विपक्षीय हवाइ सम्झौता अनुसार कोरियन एयरले केही वर्षयता काठमाडौंमा उडान गर्दै आएको छ। तर निगमले ५ वर्ष पहिलेदेखि सिओलमा उडानका लागि प्रयास गरेपनि कोकाले अडिट गर्नुपर्ने भन्दै अनुमति दिएको छैन।

‘हवाइ सुरक्षाको अडिट गर्न पाउनु नियामकको अधिकार हो। सिओल जाने वातावरणका लागि निगम आफैं लाग्नुपर्छ।सरकारले पनि पहल गर्नुपर्छ। नियामकको नाताले क्यान त्यसमा प्रवेश गर्ने नै होइन’, क्यानका ती पूर्वमहानिर्देशकले भने, ‘कोकासँग समन्वय गर्नुपर्नेमा क्यानले त सम्बन्ध झन बिगार्ने र अरु मुलुकका वायुसेवा कम्पनीलाई पनि झस्काउने काम गरेको छ।’

क्यानले १० दिन अगाडि नै युनिभर्सल ट्राभललाई टिकट बिक्री नगर्न भने पनि उडान रोक्ने विषयमा कोरियन एयरलाई भने पत्र पठाएको छैन। जसका कारण युनिभर्सल ट्राभलले पनि क्यानको निर्णय कार्यान्वयन गरेको छैन। उसले टिकट बिक्रीलाई निरन्तरता दिइरहेको छ।

‘हामीलाई कोरियन एयरको मुख्यालयबाट टिकट बिक्री नगर्नु भनिएको छैन’, कम्पनीका एक कर्मचारीले भने, ‘हामीले त आउँदो वर्षका लागि पनि राउण्ड ट्रिप टिकट बुकिङ गरेका छौं। उडान रोकिए त्यतिबेलै विचार गरौंला।’

क्यानका सूचना अधिकारी ज्ञानेन्द्र भुलले उडानमा प्रतिबन्धबारे अन्तिम निर्णयमा पुग्न बाँकी रहेको बताए। ‘उडान रोक्नका लागि टिकट बिक्री नगर्न भनिए पनि कोरियन एयरलाइन्सलाई उडानमा प्रतिबन्ध लगाउने निर्णय भइसकेको छैन’, भुलले भने, ‘निर्णय गर्नुअघि महानिर्देशकले नेपालका लागि कोरियन राजदूतसँग छलफल गर्न चाहनुभएको छ। तर छलफलको समय तय भइसकेको छैन।’