दोलखामा दुई दिनमै अवैधरुपमा भित्र्याइएको ७ किलो सुन बरामद, सीआईबी पनि अनुसन्धानमा

बिजमाण्डू
२०८० असोज १२ गते १७:५१ | Sep 29, 2023
दोलखामा दुई दिनमै अवैधरुपमा भित्र्याइएको ७ किलो सुन बरामद, सीआईबी पनि अनुसन्धानमा


काठमाडौं। दोलखाको सिंगटीमा अवैधरुपमा भित्र्याइएको थप तीन किलो सुन बरामद भएको छ। जिल्ला प्रहरी कार्यालय दोलखाको टोलीले घरभित्र लुकाइ राखेको अवस्थामा सुन बरामद गरेको हो। दोलखामा २ दिनकै अन्तरमा दोस्रो पटक ठूलो परिमाणमा सुन बरामद भएको हो।

Tata
GBIME
NLIC

अवैधरुपमा भित्र्याइएको ४ किलो सुन प्रहरीले बुधबार बरामद गरेको थियो। बिहिबार बिगु गाउँपालिका-१ का २८ वर्षीय केशर तामाङ, २० वर्षीय माधव मगर, १९ वर्षीय पेम्बा तामाङ, ५५ वर्षीय नुर्वुछिरिङ शेर्पा र ३० वर्षीया सुनमाला तामाङलाई प्रहरीले सार्वजनिक गरेको थियो।

केशर, पेम्बा र माधव सुन बरामद गरिएको स्थान वरपरबाट बुधबार पक्राउ परेकामा नुर्वु र सुनमालालालाई बिहिबार भीमेश्‍वर नगरपालिका-६ स्थित शुभकामना होटेलबाट गिरफ्तार गरिएको हो।

विशेष सूचनाका आधारमा प्रहरीले केशरको कोठा तलासी गर्ने क्रममा सुन बरामद गरेको थियो। उनीहरूले चीनबाट दोलखा हुँदै काठमाडौंमा सुन ल्याउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

सुन तस्करीको आरोपमा प्रहरीले शुक्रबार १९ वर्षीय राज तामाङलाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा राजलाई काठमाडौंको बालाजु क्षेत्रबाट पक्राउ गरिएको हो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) पनि अनुसन्धानमा संलग्न भएको छ।

गत साउन २ गते त्रिभुवन विमानस्थलबाट बाहिरिएको ६१ किलो सुन प्रकरणसँग कनेक्सन भेटिने सम्भावना रहेकाले सीआईबीको टोली पनि अनुसन्धानमा संलग्न भएको हो।

उनीहरूलाई भन्सार ऐन, २०६४ तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत मुद्दामा जिल्ला अदालत दोलखाबाट ८ दिन म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ।