दिगो विकासका लक्ष्य पूरा गर्न ७ वर्ष बाँकी, उपलब्धि नभएकोमा सरोकारवाला निकाय चिन्तित

बिजमाण्डू
२०८० असोज १२ गते १७:०६ | Sep 29, 2023
दिगो विकासका लक्ष्य पूरा गर्न ७ वर्ष बाँकी, उपलब्धि नभएकोमा सरोकारवाला निकाय चिन्तित


काठमाडौं। नेपालले सन् २०३० सम्ममा दिगो विकाससम्बन्धी १७ वटा लक्ष्य पूरा गर्ने समयवधी अब ७ वर्ष बाँकी छ। दिगो विकाससम्बन्धी लक्ष्य हासिल गर्न सन् २०१५ देखि काम सुरु भएको थियो।

Tata
GBIME
NLIC

तर नेपालमा त्यसको उपलब्धि हुन नसकेको भन्दै सरोकारवाला निकायहरुले चिन्ता व्यक्त गरेका छन्। गैर सरकारी महासंघ नेपालले दिगो विकास लक्ष्यको अवधारणा सरकार र अन्तर्राष्ट्रिय समुदायको भएपनि सिंहदरबार र काठमाडौंका पाँचतारे होटलभन्दा बाहिर जान नसकेको आरोप लगाएको छ।

दिगो विकास लक्ष्यसम्बन्धी छैटौं सम्मेलनपछि युथ एड्भोकेसी नेपाल, गैरसरकारी संस्थाले संयुक्त रुपमा गरेको पत्रकार सम्मेलनमा नेपालले सन्तोषजनक काम नगरेको जनाएको छ।

दिगो विकासका लक्ष्यहरु ५ वटा आधार स्तम्बहरु मानव, पृथ्वी, समृद्धि, शान्ति र साझेदारीमा आधारित भएपनि नारामा मात्रै सीमित भएको गैरसकारी महासंघ नेपालका अध्यक्ष रामप्रसाद सुवेदीले बताए। उनले ३ तहका सरकारमध्ये प्रदेश र स्थानीय तहमा उक्त मुद्दाहरु समेट्न नसकिएको बताए।

‘दिगो विकास लक्ष्यका उपलब्धिहरु पूरा गर्न ७ वर्ष बाँकी छ। अन्तर्राष्ट्रिय जगतमा नेपालले उपलब्धि गरेको विषयले चर्चा पाइरहेको छ। तर दिगो विकासको कुरा सिंहदरबार र पाँचतारे होटलभन्दा बाहिर जान सकिरहेको छैन,’ सुवेदीले भने।

युथ एड्भोकेसी नेपालका अध्यक्ष गणेश धामीले सरकारले प्रत्येक वर्ष अन्तर्राष्ट्रिय जगतमा आफ्नो प्रतिनिधित्व गरिरहेको तर त्यसको उपलब्धिबारे मुलुकमा समीक्षा नभएको टिप्पणी गरे। दिगो विकास लक्ष्यलाई उपलब्धि हासिल गर्न सञ्‍चार जगत, राजनीतिक दल र नागरिक समाजको सहकार्य अनिवार्य हुने उनको भनाइ थियो।

नेपाली कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले दिगो विकासले युवाहरुको विषय समेत समेट्नु पर्नेमा जोड दिए। उनले विकसित देशका कारण जलवायु परिवर्तन निम्तिँदा अविकसित मुलुकहरुले मार खेपिरहेकाले उनीहरुले प्रकृतिको दोहन गरेबापत नेपाल लगायतका मुलुकले न्याय पाउनु पर्ने बताए।

त्यस्तै, नेकपा (एमाले)का सांसद सुनिता बरालले दिगो विकासका लक्ष्यबारे संसद् र सरकारसम्म सन्देश पुर्‍याउने प्रतिबद्धता गरिन्।

‘तपाईँहरुले दिगो विकासका क्षेत्रमा गरेका काम र उपलब्धिबारे हामीलाई विवरण दिनुहोला। त्यसबारे हामी सदन र सरकारलाई जानकारी दिनेछौं,’ उनले भनिन्।