दसैंमा गाडी बेच्न कम्पनीबीच कडा प्रतिस्पर्धा, युरोप भ्रमणदेखि १४ लाखसम्म छुट दिने प्याकेज

शुक्र गिरी
२०८० असोज १० गते १२:४१ | Sep 27, 2023
दसैंमा गाडी बेच्न कम्पनीबीच कडा प्रतिस्पर्धा, युरोप भ्रमणदेखि १४ लाखसम्म छुट दिने प्याकेज


काठमाडौं। दसैंमा गाडी बेच्न अटो कम्पनीबीच कडा प्रतिस्पर्धा देखिएको छ। ग्राहक तान्न कम्पनीले युरोप भ्रमणदेखि आकर्षक छुट योजना ल्याएका छन्।

Tata
GBIME
NLIC

गाडी खरिद गर्दा नगद छुटसहित विभिन्न एक्सचेन्ज, नि:शुल्क बीमा, सडक कर फ्री, चार्जर र स्पेयर टायर लगायतमा विशेष छुटका योजना ल्याएका छन्।

भर्खरै सम्पन्न सवारी मेला नाडा अटो शोमा ग्राहकहरुको साथ पाएका अटो व्यवसायीले चाडबाड लक्षित योजनामा पनि साथ खोजिरहेका छन्। त्यसैले कम्पनीअनुसार फरक-फरक छुट र उपहारका योजना ल्याइएका छन्।

अघिल्लो वर्षको दसैंमा आर्थिक अवस्था कमजोर हुँदै गएको र आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति घट्दै गएको भन्दै सरकारले सवारी आयातमा प्रतिबन्ध लगाएको थियो। त्यसैले नयाँ मोडलको गाडीहरु ल्याउन नपाउँदा चाडबाडका अफर योजना निकै कम कम्पनीले ल्याएका थिए। त्यो दसैंताका स्टकमा भएका गाडीहरु बिक्री गर्न मात्र अफर ल्याइएको थियो।

यसपटक भने परिस्थिति परिवर्तन भएको छ। आयात खुला छ। धेरै थरी गाडी आइपुगेका छन्। यसपालिको दसैं अफरमा नयाँ मोडलका गाडीहरुका लागि अफर योजनाहरु ल्याइएका छन्। त्यसमा पनि बजारमा यतिखेर पारखीहरुका लागि नयाँ गाडी खरिद गर्न दर्जनौं विकल्पहरु उपलब्ध छन्। जसमा धेरै विद्युतीय सवारीको क्रेज राम्रो र नयाँ मोडल पनि धेरै यसैमा केन्द्रित छन्।  

तर अफरहरुका योजना भने इन्धन गाडी बिक्री गर्नेहरुले ल्याइरहेका छन्। विद्युतीय गाडी बिक्रेताहरुले भने अफरमा खासै ध्यान दिएका छैनन्। नेपालमा विद्युतीय सवारीको प्रयोग बढ्दै गएकाले स्टकमा बस्ने डर व्यवसायीलाई छैन। त्यसैले पनि उनीहरु अर्डर भएका गाडी समयमा कसरी डेलिभर गर्ने भन्नेमा ध्यान केन्द्रित गरिरहेका छन्।

डिजल/पेट्रोल इन्जिन गाडीहरु भने बिक्री कम छ। त्यसैले पनि चाडबाडमा ग्राहक आकर्षित गर्न बिक्रेता कम्पनीहरु लागिपरेका छन्। कम्पनीपिच्छे ग्राहक लोभ्याउन विभिन्न अफर योजनाहरु धामाधम सार्वजनिक भइरहेको छ।

विद्युतीय माेडल बजारमा उतारेर प्रतिष्पर्धामा रहेका केही ब्रान्डका बिक्रेता कम्पनीले अफर योजना ल्याएका छन्‚ केही ल्याउने प्रक्रियामा छन्। टाटा, फोर्ड, महिन्द्रा, टोयोटा, सिट्रोन, बीवाइडी, जीपजस्ता ब्रान्डहरुले चाडबाड लक्षित अफर ल्याइसकेका छैनन्। केही कम्पनीहरु अफर ल्याउने तयारीमा रहेको व्यवसायी बताउँछन्।

यस्ता छन् गाडी बिक्रेताले ल्याएका अफर योजनाहरु

निसानको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्पले दसैं अफरमा एउटै गाडी खरिद गर्दा १३ लाख ७५ हजार रुपैयाँसम्म फाइदा लिन सकिने योजना सार्वजिनक गरेको छ। कम्पनीले निसान फेष्टिभ ड्राइभ २०८० भन्दै १३ लाख ७५ रुपैयाँसम्मको अफर योजना ल्याएको हो।

कम्पनीले नगद छुट मात्र ८ लाखसम्म हुने जनाएको छ। यस्तै एक वर्षको बीमा र एक वर्षको सडक कर पनि नि:शुल्क प्रदान गर्नेछ।

यस्तै मोरिस ग्यारेज (एमजी) ले दसैंको अफरमा एमजी ड्राइभ्स फेष्टिभ भाइब्स योजना ल्याएको छ। एमजी गाडीको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले दसैं लक्षित गर्दै उक्त अफर योजना ल्याएको हो। बजारमा धेरै इभी बिक्री गरेको यो कम्पनी विद्युतीय माेडलमा अफर ल्याउन अगाडि भएको छ।

कम्पनीले चाडबाड लक्षित अफरको अवधिमा गाडी खरिद गर्दा स्पेयर टायर, ७ किलोवाट चार्जर र एक वर्षको बीमा नि:शुल्क प्रदान गर्ने जनाएको छ। ग्राहकले २ लाखसम्मको फाइदा पाउने व्यवस्था गरिएको कम्पनीले जनाएको छ। यो अफर १२ सेप्टेम्बरदेखि २१ नोभेम्बरसम्म लागु हुने जनाइएको छ।

ग्रेटवाल मोटर्सको गाडी खरिद गर्दा पनि दसैं अफर योजनामा ७ लाखसम्मको फाइदा लिन सकिनेछ। ग्रेटवाल मोटर्सको गाडीको आधिकारिक बिक्रेता विशाल ग्रुप अन्तर्गतको भीजी इम्पेक्सले उक्त दसैं अफर योजना ल्याएको हो।

यो अफर योजनामा एक वर्षको बीमा, आर्थिक वर्ष २०८०/८१ को रोड कर, फ्री एसेसरीज, फ्री सर्भिस, विशेष बोनसहरुको सुविधा प्रदान गरिने कम्पनीले जनाएको छ। साथै यसको विद्युतीय गाडी ओरा जेरो थ्रीको खरिद गर्दा पनि ७ किलोवाटको चार्जर पाउन सकिने छ।

फक्सवागन गाडी आधिकारिक बिक्रेता पूजा इन्टरनेशनलले दसैंतिहार लक्षित अफर ‘फेबुलस फेस्ट अफर’ ल्याएको छ। उक्त योजनामा फक्सवागन गाडी खरिद गर्दा ग्राहकले विदेश भ्रमणको अवसरदेखि नगद छुट र अन्य थुप्रै सुविधा पाउनेछन्।

अफर योजनाअन्तर्गत ग्राहकहरुले २ लाख २५ हजार रुपैयाँसम्मको नगद छुट, ४ वर्षसम्मको नि:शुल्क सर्भिस, एक वर्षको नि:शुल्क सडक कर र नि:शुल्क एसेसरिजको सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।

यसैगरी बम्पर उपहारमा ४ दिनको युरोपको बर्लिन भ्रमण अवसर समेत प्राप्त हुने कम्पनीले जनाएको छ। यसका साथै भाग्यशाली विजेताले एनआईयुको इलेक्ट्रिक स्कुटर र एउटा एप्पल म्याकबुक एयर उपहार पाउनेछन्।

फाइनान्स सुविधा लिन चाहने ग्राहकका लागि कम्पनीले ७ वर्षसम्म स्थिर रहने ब्याजदरमा कर्जा उपलब्ध गराउने जनाएको छ। कर्जाको ब्याजदर १०.९९ प्रतिशत छ।

यसैगरी रेनोको आधिकारिक बिक्रेता एड्भान्स अटोमोबाइलले ‘चाडपर्वको शुभ शुरुवात, गरौं रेनोको साथ’ नाराका साथ चाडपर्वलक्षित ‘रेनो शुभ कार-रम्भ’ अफर योजना सार्वजनिक गरेको छ। कम्पनीको अफर योजनामा गाडी किन्ने ग्राहकले कुल ७ लाखसम्मको फाइदा लिन सक्नेछन्।

कम्पनीका अनुसार यो योजना अवधिभर रेनोको कुनै पनि मोडलको नयाँ गाडीको खरिदमा एक वर्षको सडक कर र २ वर्षका लागि निःशुल्क सर्भिसिङको सुविधा पाइने छ।

रेनो उत्सवमा गाडी किन्ने ग्राहकले एक्सचेन्ज बोनस, ब्राण्ड लोयल्टी बोनस लगायत अन्य आकर्षक अफरहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। यो सुविधा रेनोको सबै मोडलहरुको खरिदमा उपलब्ध हुने छ। साथै सजिलो फाइनान्सको सुविधा पनि उपलब्ध रहेको कम्पनीले जनाएको छ।

यस्तै अर्को ब्रान्ड चेरीका गाडीको आधिकारिक बिक्रेता एसपीजी अटोमोबाइल्स प्रालिले ‘चेरी चाडपर्व अफर’ सार्वजनिक गरेको छ। कम्पनीले ल्याएको सो योजनामा चेरीका गाडी किन्ने ग्राहकले ५ लाख ८९ हजार रुपैयाँ बराबरको स्कीम पाउने जनाएको छ।

सो अफर योजना चेरीका सबै प्रो-सिरिज चेरी टिग्गो ४ प्रो, टिग्गो ७ प्रो र टिग्गो ८ प्रो को खरिदमा लागू हुनेछ।

यी वाहेक ग्राहकले आकर्षक नगद छुट, एक वर्षको निःशुल्क बीमा र सडक दस्तुर छुट पाउने कम्पनीले जनाएको छ। त्यसैगरी कम्पनीले यी कारमा ३ वर्षको वारेन्टी र ३ वर्षको सर्भिसिङ सुविधा उपलब्ध गराउने जनाएको छ।

हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले पनि चाडपर्व लक्षित अफर ‘फेष्टिभ डिलाइट-२०८०’ योजना ल्याएको छ। कम्पनीले ल्याएको उक्त अफर योजनामा ग्राहकले ६ लाख रुपैयाँसम्म नगद छुट पाउने छन्।

यस योजनामा गाडी किन्ने ग्राहक मध्यबाट एक जना भाग्यमानी ग्राहकले हुन्डाईको एसयुभी एक्स्टर जित्न सक्ने कम्पनीले जनाएको छ। हुन्डाइ फेष्टिभ डिलाइट २०८० अन्तर्गत हुन्डाईका कुनै पनि गाडीको खरिदमा स्क्रयाच कार्डमार्फत थप एक लाख रुपैयाँसम्म ग्राहकले जित्न सक्ने छन्।

त्यसैगरी एक वर्षको लागि निःशुल्क सवारी बीमा र सडक कर ग्राहकले पाउने छन्। कम्पनीले यो अफर योजना गत भदौ २१ देखि सुरु गरेको हो।

यस्तै टाटा मोटर्सको कमर्सियल गाडीमा पनि दसैं अफर योजना आएको छ। बिक्रेता कम्पनी सिप्रदीले ‘दसैंको मुड टन्नै उपहार आकर्षक छुट’ अफर योजना ल्याएको हो।

यसमा टाटाका टिपर र ट्रक गाडीको खरिद गर्दा टीभी, फ्रिज, ल्यापटप, मोबाइल फोन, वासिङ मेसिन, नि:शुल्क किस्ता, वा नि:शुल्क सर्भिसिङको उपलब्ध छ। यसबाहेक युरोप वा दुबईको टुर र स्मार्ट घडी पनि प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ।

सुजुकी गाडीले पनि दसैं अफर ल्याएको छ। कम्पनीले सुजुकी पर्वोत्सव ‘मनाऔं यो दसैं तिहार सुजकी एसयुभीको साथ’ अफर योजना ल्याएको हो। कम्पनीले ल्याएको उक्त अफरमा १ लाखसम्म नगद छुट, एक्सचेन्ज वोनस १ लाखसम्म र एक वर्षको बीमा प्रदान गर्ने योजना छ।

सीजी मोटर्सले ल्याएको नेटा भीमा पनि दशै अफर योजना सार्वजनिक भएको छ। कम्पनीले नेटा डिक्की फुल अफर योजना ल्याएको हो। यस्तै कम्पनीले उक्त अफर योजनाको लोड अप द प्युर इभी वीथ ह्यापिनेस नारा राखेको छ। जसमा सीजीको ४३ इन्च फोर के स्मार्ट टीभी, बीडी कार भ्याकुम क्लिनिर, १४०० वाटको प्रसेर वासर, सीजी रेड भ्याकुम कप र सीजी ५०० एमएल भ्याकुम फ्लास्क बोतलहरु रहेका छन्।

यसैगरी ६.६ किलोवाट आवर चार्जर, फ्रिमा स्पेर टायर सेट, एक वर्षको बीमा र सडक कर निशुल्क, नगद छुट र एक्सचेन्ज अफरहरु रहेका छन्।