
काठमाडौं। डिजिटल कुशलतालाई सुदृढ पार्न हुवावे, आसियान फाउन्डेसन र दक्षिणपूर्व एशियाका शिक्षामन्त्रीहरूको संगठन (सीमइयो) ले सिड्स फर द फ्युचर समिट–२०२३ को आयोजना गरेको छ।
हुवावको पहलमा एशिया-प्रशान्त क्षेत्रमा समावेशी डिजिटल प्रतिभा वृद्धिको लागि ‘कनेक्ट, कल्टिभेट, कन्ट्रीब्युट फर इन्क्लुसिभ डिजिटल ट्यालेन्ट ग्रोथ इन एसिया प्यासिफिक’ भन्ने नारालाई सार्थक बनाउन १९ एशिया प्यासिफिक देशका ९१ सहभागीहरुले सम्मेलनमा भाग लिएका छन्।
नेपालका चार विजेताहरुले सम्मेलनमा भाग लिएको हुवावेले जनाएको छ।
समिटको विषयवस्तुमा प्रकाश पार्दै हुवावे एशिया प्यासिफिकका अध्यक्ष साइमनलिनले भने ‘हुवावेले सिड्स फर द फ्युचर समिट आयोजना गरेको यो तेस्रो वर्ष हो। हरेक वर्ष केही थप नयाँ साझेदारहरू सामेल भएसँगै यो कार्यक्रम फस्टाउँदै गएको छ। साझेदारी, प्रतिबद्धता र युवा सशक्तिकरण यी अझै सशक्त बन्दै गएको छ।’
यस्तै, हुवावे र अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आइटीयू) ले एशियाप्रशान्त क्षेत्रहरूमा डिजिटल सहकार्यका ६ वटा प्रमुख क्षेत्रहरू– आइसीटी नीति र नियमन, संयुक्त अनुसन्धान, समावेशी पूर्वाधार, डिजिटल क्षमता निर्माण, युवाहरुको सशक्तिकरण र डिजिटल अभ्यास साझेदारीमा केन्द्रित रहँदै संयुक्त घोषणा गरेका थिए।
कार्यक्रममा आसियान फाउन्डेसनका कार्यकारी निर्देशक डा. पिटी श्रीसंगनमको नेतृत्वमा प्यानल छलफलपछि कार्यक्रम समापन गरिएको हुवावेले जनाएको छ। कार्यक्रममा नेशनल युनिभर्सिटी अफ सिंगापुरका विज्ञहरू, हुवावे र ‘सिड्स फर द फ्युचर’ का प्रतिनिधिहरू सम्मिलित प्यानलले डिजिटल सीपहरू प्रयोग गरेर यस क्षेत्रको भविष्यका नेतृत्वकर्ताहरुको डिजिटल कौशलको उपयोग गर्दै क्षमता अभिवृद्धि गर्ने र कौशलको उपयोग गर्ने तरिकामा गहिरो प्रकाश परेको बताइएको छ।
सम्मेलन चीनको सेन्जेन र डोङगुआनमा हुवावेको क्याम्पसमा गरिएको थियो। त्यहाँ सहभागीहरुले सूचना सिद्धान्त, डिजिटल शक्ति, अटोमोबाइल प्रविधि र साइबर सुरक्षा जस्ता क्षेत्रहरूमा अनुभव बटुलेको हुवावेको भनाइ छ। दक्षिण कोरिया, जापान, बंगलादेश, नेपाल, श्रीलंका, माल्दिभ्स, फिजी, सोलोमन टापुलगायतका देशहरूबाट सहभागी विद्यार्थीहरुलाई हुवावे, आसियान फाउन्डेसन र आइटीयूद्वारा सामूहिक रूपमा चुनेको थियो।