नयाँ मापदण्डले घर निर्माणमा बढायो लागत, अढाइ तले बनाउँदा २० लाख महँगियो

बिजमाण्डू
२०८० असोज २ गते १५:३३ | Sep 19, 2023
नयाँ मापदण्डले घर निर्माणमा बढायो लागत, अढाइ तले बनाउँदा २० लाख महँगियो


काठमाडौं। नयाँ मापदण्ड र केही निर्माण सामाग्रीको मूल्य बढ्दा घर बनाउने लागत २५ प्रतिशतले बढेको छ। डन्डीलगायत केही निर्माण सामग्रीको भाउ घटेपनि फिनिसिङ सामग्रीको मूल्य उकालो लाग्दा घर निर्माणको लागत बढ्न पुगेको हो।

Tata
GBIME
NLIC

नयाँ मापदण्डअनुसार डन्डीको प्रयोगसहितका विषयमा हेरफेर भएको छ। २०७२ सालको भूकम्पपछि सरकारले संशोधन गरेको भवन निर्माण सम्बन्धी मापदण्डअनुसार पहिलाको तुलनामा अहिले घर निर्माण गर्दा निर्माण सामग्रीको उपयोग बढी गर्नुपर्ने अवस्था छ। यसले लागत बढाएको हो।

एक वर्षअघि काठमाडौंमा २२ सय वर्गफिटमा साढे २ तले आवासीय घर बनाउन ८० लाख रुपैयाँ भए पुग्थ्यो। अहिले त्यो मूल्यमा घर तयार हुँदैन। एक करोड रुपैयाँभन्दा बढी खर्च गर्नुपर्ने भएको छ।

सिमेन्ट, इँटा, रोडा, चिप्स, युपीभीसी (झ्याल), ढोका फ्रेम, टायल, बाइन्डिङ वायर (बी-वायर), फिनिसिङ सामग्री लगायतको मूल्य बढ्दा घर निर्माणको लागत वर्ष दिनमै २५ प्रतिशतले बढ्न पुगेको हो।

२०७९ भदौमा विभिन्न ब्राण्डका ओपीसी सिमेन्टको भाउ प्रतिबोरा ५०० रुपैयाँ थियो। अहिले उही सिमेन्टको भाउ ६१५ रुपैयाँ पुगेको छ। पीपीसी सिमेन्टको मूल्य बोरामा औसत ११५ रुपैयाँ महँगिएको छ। २०७९ भदौमा प्रतिबोरा ४०० रुपैयाँमा पाइने पीपीसी सिमेन्टको मूल्य अहिले ५१५ रुपैयाँ पुगेको छ।

ढुवानी लागत पनि महँगिएको छ। पेट्रोलियम पदार्थको मूल्यमा भइरहेको वृद्धिले ढुवानी लागत बढ्न पुगेको हो।

त्यसैगरी, बाइन्डिङ वायर (बी-वायर) को मूल्य पनि प्रतिकिलो १० रुपैयाँसम्म महँगिएको छ। गत वर्ष भ्याटबाहेक १३५ रुपैयाँमा पाइने बाइन्डिङ वायर अहिले भ्याटबाहेक १४५ रुपैयाँमा बिक्री भइरहेको छ।

घर निर्माणमा महत्त्वपूर्ण मानिने इँटा (१ नम्बर) को मूल्य प्रतिगोटा ५० पैसाका दरले बढेको छ। वर्ष दिनअघि १६ रुपैयाँमा पाइने इँटाका लागि अहिले १६ रुपैयाँ ५० पैसा तिर्नुपर्छ।

चिप्स (ढुंगा)को मूल्य प्रतिटिपर १ हजार रुपैयाँले महँगिएको छ। गतवर्ष प्रतिटिपर १७ हजार रुपैयाँमै पाइने चिप्सलाई अहिले १८ हजार रुपैयाँ तिर्नुपर्छ। रोडाको भाउ पनि प्रतिटिपर १ हजार रुपैयाँ नै बढेको छ। रोडा गत वर्ष भदौमा २६ हजार रुपैयाँमा पाइन्थ्यो। व्यापारीले अहिले रोडाको मूल्य प्रतिटिपर २७ हजार रुपैयाँ पुर्‍याएका छन्।

घर निर्माणका लागि आवश्यक पर्ने निर्माण सामग्रीमध्ये डन्डीको भाउ भने घटेको देखिन्छ। गत वर्ष भदौमा भ्याटबाहेक औसत ९७ रुपैयाँ पुगेको डन्डीको प्रतिकिलो मूल्य अहिले ८५ रुपैयाँमा ओर्लिएको छ।

डन्डी जस्तै बालुवा (डबल वास) को मूल्य पनि प्रतिटिपर १ हजार रुपैयाँले सस्तिएको छ। गत वर्ष भदौमा २६ हजार पर्ने यो बालुवालाई अहिले २५ हजार रुपैयाँ पर्छ। प्लास्टर गर्ने बालुवाको मूल्य भने स्थिर छ। यो प्रतिटिपर २४ हजार रुपैयाँमा किनबेच भइरहेको छ।

त्यस्तै, ढोकाको फ्रेम (इन्डियन) को भाउ भने प्रतिफिट ३ सय रुपैयाँले सस्तिएको छ। गतवर्ष प्रतिफिट ५८ सय पर्ने ढोकाको फ्रेम अहिले ५५ सय रुपैयाँमै पाइन्छ।  

निर्माण सामग्रीको मूल्यमा फेरबदल त छँदैछ, नयाँ मापदण्डले पनि घर निर्माणको लागत बढ्न पुगेको हो। यसले डण्डीका साथै सिमेन्ट, गिटी र बालुवाको खपत बढाउँछ। श्रमिक पनि बढी चाहिन्छ।

सहरी विकास मन्त्रालयका सूचना अधिकारी सुरेशकुमार वाग्लेले राष्ट्रिय बिल्डिङ कोड सबै स्थानीय तहहरुमा लागू भइसकेको जानकारी गराएका छन्।

वरिष्ठ सिभिल इन्जिनियर विपिन गैरेले निर्माण सामग्रीको भाउ वृद्धिका साथै भवन निर्माण मापदण्डले घरको लागत बढ्न पुगेको बताए। उनका अनुसार घरको लागत २५ प्रतिशतसम्म महँगिएको छ। ‘पिलरको नयाँ मापदण्ड अनुसार डण्डी, सिमेन्ट, बालुवा र गिटी पहिलेभन्दा धेरै चाहिन्छ। अरु मापदण्ड पनि फेरिएको छ’, गैरेले भने, ‘श्रमिक पनि पहिलेभन्दा बढी चाहिने भयो। त्यही कारण घर निर्माणको लागत बढ्न पुगेको हो।’

अहिले घर निर्माण गर्दा १४ इन्चको पिलर अनिवार्य भएपछि डन्डी बढी आवश्यक पर्छ। जसका कारण पनि घर निर्माण लागत केही महँगिएको छ। नयाँ मापदण्डअनुसार २२ सय वर्गफिटको घर बनाउन २० टन (२० हजार किलो) भन्दा बढी डन्डी आवश्यक पर्छ। एक हजारदेखि १२ सय बोरा सिमेन्ट तथा १०/१० टिपर गिट्टी र बालुवा चाहिन्छ। यस्तै ६० देखि ७० हजार इँट्टा आवश्यक पर्छ।

यस्तै, श्रमिकमा हुने खर्च पनि बढेको छ। काम धेरै नपाएपछि श्रमिकले आफ्नो मूल्य बढाएका छन्। घर निर्माणले तिब्रता पाउँदा श्रमिकले खाली बस्नु पर्दैनथ्यो। उनीहरुले एकैपटक धेरै घर निर्माणको जिम्मा लिएर कम मूल्यमा काम गर्थे। अहिले काम खुम्चिएर गुजारा चलाउन धौधौ भएपछि उनीहरुले आफ्नो ज्याला बढाउँदा त्यसले घर निर्माणको लागत बढ्न पुगेको छ।